काठमाडौँ /६ माघ – व्यावसायिक शिक्षा जहिले मानव सभ्यताको इतिहास कोरियो त्यही पालाबाट सुरुवात भयो । प्राविधिक शिक्षा भन्नाले कुनै किसिमको विज्ञान, शिल्पकला, प्रविधि सम्बन्धी सीप वा ज्ञान दिइने शिक्षा हो भने व्यावसायिक शिक्षा भन्नाले कुनै पनि व्यवसाय वा पेशाको आधारमा दिइने शिक्षा हो । व्यक्तित्व विकास र क्षमतामा सवलता आई व्यावसायिक क्षमता बढनु नै प्राविधिक तथा व्यावसायिक शिक्षाको मर्म हो । यो Learning by doing मा आधारित हुन्छ । एउटा पेशा, पेसागत समूह वा व्यवसायको लागि आवश्यक प्रविधिको ज्ञान, सीप तथा प्रवृत्तिको विकास गर्ने उद्देश्यले प्रविधिसँग सम्बन्धित व्यवहारिक ज्ञान प्रदान गर्ने शिक्षा हो । यो शिक्षा विद्यालयको पाठ्यक्रममा व्यावसायिक विषय समाहित गरी कुनै निश्चित पेशा वा व्यवसायको लागि ज्ञान, सीप तथा प्रवृत्ति प्रदान गरिन्छ । क्षमता अनुसारको सिकाइको अवसर व्यक्तिमा हुनुपर्ने तथा कम्तीमा एउटा पेशा गर्न सक्ने सीपको विकास गर्न हरेक नागरिकले पाउनु पर्छ भन्ने सिद्धान्तमा रहेको छ । यस किसिमको शिक्षा बजार तथा मागमा आधारित हुने हुनाले अध्ययन पछि कामको संसारमा जोडिएको हुन्छ ।
यसलाई हेर्दा :
- सामान्य रूपमा हेर्दा व्यवसाय भन्नाले पेसागत रूपमा कार्य गर्न आवश्यक क्षमता, तालिम लिई जीविकोपार्जन गर्नु ।
- विशेष रूपमा हेर्दा यसले व्यवसायसँग सम्बन्ध राख्दछ जुन तालिम क्षमता व्यक्तिको करीयर विशेष वैज्ञानिक प्रविधिसँग जोडिएको हुन्छ ।
- नेपाली बृहत् शब्दकोष (नेपाल प्रज्ञा प्रतिष्ठान) का अनुसार जीविकाका लागि गरिने कुनै पनि कार्य, जीवन निर्वाहको साधन, वृत्ति, पेसा, रोजगार, इलमलाई जनाउँछ । यसमा उद्यम, तथा उद्योग वा कामसँग सम्बन्धित हुन्छ ।
- व्यावसायिक शिक्षाले उद्योगसँग सम्बन्धित तथा प्रयोगात्मक कार्यका साथै विशेष गरी अर्थोपार्जनसँग जोडिएको हुन्छ ।
training for a specific occupation in agriculture,, trade, or industry through a combination of theoretical teaching and practical experience provided by many high schools in their commercial and technical divisions, and by special institutions of clloegiate standing (as a clloege of agriculture, a school of engineering, or a technical institute)-www.merriam-webster.com/dictionary जुन विषयले हामीलाई सत्मार्गमा हिँड्न सिकाउँछ, प्रगति गर्न सिकाउँछ, स्वास्थ्य रहन सिकाउँछ, जीवन जिउन सिकाउँछ त्यही शिक्षा हो व्यावसायिक शिक्षा । यो शिक्षा नयाँ नयाँ प्रविधि, खोज, रोजगार, व्यवसाय, पेसासँग सम्बन्धित हुन्छ । व्यावसायिक शिक्षालाई व्यवहारमा तथा प्रयोगमा ल्याई शिक्षण गर्नु पर्दछ । यसको अभाव नै व्यावसायिक शिक्षा माथिको कमजोरी पना हो । व्यवसाय पेसा सँग, रोजगारसँग, जीविकोपार्जनसँग जोडिएको हुन्छ र हामीले अध्ययन गर्दा सैद्धान्तिक रूपमा अध्ययन गरी व्यवहारमा प्रयोग गर्न सिकेनौँ भने यहिँ नै हामी व्यावसायिक शिक्षाबाट पछाडि पर्दछौँ ।
नेपालमा विद्यालय तहमा कक्षा ९(१२ को संरचना दिई प्राविधिक तथा व्यावसायिक धार सञ्चालन गर्ने गरी विद्यालय क्षेत्र सुधार कार्यक्रमले उठान गरी कक्षा ९(१२ को विद्यालय तहको पाठ्यक्रम विकास भई वि.सं. २०७० सालबाट सुरु भएको हो । हालसम्म नेपाल सरकारले अनुदान दिने गरी ५३१ वटा प्राविधिक शिक्षा अध्ययन गराउने विद्यालय सञ्चालनमा रहेका छन् । बाली विज्ञान, पशु विज्ञान, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, र संगित शिक्षा सञ्चालनमा रहेका छन् । वि.सं. २०७१ सालमा यसै धारबाट अक्षरांकन मूल्याङ्कन पद्धतिबाट सुरु गरिएको हो ।
वर्तमान अवस्थामा भएको कानुनी व्यवस्था :
१. नेपालको संविधान, २०७२ :
धारा ३१. शिक्षा सम्बन्धी हक : (२) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ ।
धारा ५१. राज्यका नीतिहरू : (ज) नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति : (१) शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने,
२. शिक्षा ऐन, २०२८ आठौँ संशोधन (२०७३ असार १५ गते) तथा शिक्षा नियमावली :
दफा ६. माध्यमिक शिक्षाको प्रकार, माध्यमिक शिक्षा देहायका प्रकारका हुनेछन् :
(क) साधारण माध्यमिक शिक्षा
(ख) …………
(ग) संस्कृत माध्यमिक शिक्षा ।
(घ) प्राविधिक तथा व्यावसायिक माध्यमिक शिक्षा ।
तर त्यस्तो शिक्षामा थप एक वर्ष तोकिए बमोजिम व्यवहारिक अभ्यास गराइनेछ ।
३. पन्ध्रौँ पञ्चवर्षीय योजना :
शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक तथा रोजगारमूलक बनाउँदै शिक्षामा राज्यको लगानी अभिवृद्धि गर्दै निजी क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने नीति अवलम्बन गरेको छ ।
समस्या : प्राविधिक शिक्षालाई शिक्षाको मूलधारका रूपमा विकास गर्न नसकिनु, प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप विकास एवम् शिक्षा सम्बन्धी अधिकार कार्यान्वयनका गर्नका लागि पर्याप्त स्रोतको व्यवस्थापन गर्न नसकिनु,
उद्देश्य : प्राविधिक शिक्षा तथा व्यावसायिक सीप विकासमा समावेशी र समतामूलक पहुँच विस्तार र गुणस्तर सुनिश्चित गर्नु ।
रणनीति : युवाका लागि स्थानीय तहमै प्राविधिक शिक्षा तथा विकासको अवसर र पहुँच सुनिश्चित गर्न व्यापक रूपमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम कार्यक्रम को बिस्तार गर्ने । मानव संसाधन, पूर्वाधार तथा प्रविधिको विकास र जीवनोपयोगी ज्ञान र सीपमा आधारित पाठ्यक्रम मार्फत सबै तहको शिक्षामा गुणस्तर सुनिश्चित गर्ने ।
कार्यनीति :
क. सीप नक्साङकन र मापदण्डका आधारमा स्थानमान ग्रिड को ढाँचा तयार गरी प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप विकासमा पहुँच र अवसरमा व्यापकता ल्याउन तथा सार्वजनिक, सहकारी र औद्योगिक तथा निजी क्षेत्रसँग सहकार्य गरी कार्यस्थलको सिकाइ सहित रोजगार सुनिश्चित गर्न औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालन गरिनेछ ।
ख. प्राविधिक शिक्षा तथा व्यावसायिक सीप विकासका लागि गुरुयोजना स्वीकृत गरी एकीकृत प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप विकास ऐन तर्जुमा र एकीकृत कोष निर्माण गरिनेछ ।
ग. प्रत्येक स्थानीय तहमा दक्ष शिक्षक तथा आवश्यक पूर्वाधार सहितको कम्तीमा एउटा प्राविधिक शिक्षालय तथा व्यावसायिक सीप विकास तालिम केन्द्र क्रमशः स्थापना गरिनेछ ।
घ.संरचनागत विकास तथा नियमनकारी व्यवस्था मिलाई साधारण एवं प्राविधिक दुवै धारका कक्षा सञ्चालन गर्ने माध्यमिक विद्यालयहरूलाई आवश्यक स्रोत व्यवस्था गरिनेछ ।
ङ. बहुआयामिक गरिबीको क्षेत्रभित्र परेका, आर्थिक–सामाजिक रूपमा पछाडि परेका, अपाङ्गता भएका र औपचारिक शिक्षा हासिल गर्न अवसरबाट वञ्चित नागरिकहरूका लागि आवश्यकताका आधारमा प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप विकासको समन्यायिक अवसर प्रदान गर्न विद्यार्थी वित्तीय सहायता प्रणाली लागु गरिनेछ ।
च. प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप विकासमा तोकिएको गुणस्तर सुनिश्चित हुने गरी घुम्ती सीप विकास तथा तालिमको व्यवस्था गरिनेछ ।
छ. प्रत्येक स्थानीय तहबाट सीपको बदलिँदो आवश्यकतालाई परिपूर्ति गर्न र वृत्ति (पेसा वा व्यवसाय) सँग सम्बन्धित सल्लाह सेवा प्रवाह गर्ने प्रणालीको विकास गरिनेछ ।
ज. प्रत्येक सामुदायिक विद्यालयमा एउटा प्राविधिक धारको शिक्षा सञ्चालन गरिनेछ ।
झ. शिक्षण सिकाइमा टेवा पुग्ने खालका विशेषतः अङ्ग्रेजी, गणित, विज्ञान र प्राविधिक विषयमा डिजिटल पाठ्यसामग्रीहरू विकास गरी प्रयोगमा ल्याइनेछ ।
४. अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ :
परिच्छेद ३ अनिवार्य तथा निःशुल्क शिक्षा : १७. प्राविधिक शिक्षा सम्बन्धी व्यवस्था (१) आधारभूत तह पूरा गरेको प्रत्येक नागरिकलाई प्रचलित कानून बमोजिम माध्यमिक शिक्षा वा सो सरहको प्राविधिक शिक्षा प्राप्त गर्ने अधिकार हुनेछ । (२) यस दफामा लेखिएदेखि बाहेक आधारभूत तहपछि प्रदान गरिने प्राविधिक शिक्षा सम्बन्धी व्यवस्था प्रचलित कानून बमोजिम हुनेछ ।
५. नीति तथा कार्यक्रम २०७६/०७७
“प्राविधिक तथा व्यावसायिक शिक्षाको बिस्तार समृद्ध नेपाल निर्माणको आधार” कार्यक्रम अन्तर्गत आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिनेछ । प्राविधिक, व्यावसायिक तथा जीवनोपयोगी शिक्षा प्रदान गरी देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति विकास गरिनेछ । प्राविधिक शिक्षामा नेपालको मौलिक, कला, संस्कृति र ज्ञानको संरक्षण र प्रवर्धन गर्ने विषयहरू समावेश गरी यस सम्बन्धी सिपयुक्त जनशक्ति विकास गरिनेछ ।
६. विद्यालय क्षेत्र विकास कार्यक्रम वि.सं. २००७४—२०७९/०८०
क. उद्देश्य माध्यमिक तहमा प्राविधिक तथा व्यावसायिक शिक्षाबाट विद्यार्थीहरूले आधारभूत सिप प्राप्त गरेका छन् भन्ने तथ्य सुनिश्चित गर्नु र अन्ततोगत्वा मुलुकका लागि सिपयुक्त जनशक्तिको विकास गरी युवा समुदायलाई कामको संसारमा प्रवेशका लागि तयारी गराउनु,
ख. विद्यालय क्षेत्र विकास कार्यक्रममा माध्यमिक तहमा विद्यार्थीहरूलाई प्राविधिक तथा व्यावसायिक शिक्षा र सिप विकासका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको व्यवस्था गरिएको छ । विद्यालय क्षेत्र विकास योजनाले माध्यमिक तहको कक्षा ९देखि प्राविधिक तथा व्यावसायिक विषयहरूको शिक्षण–सिकाइलाई सुदृढ गरेर लैजाने लक्ष्य लिएको छ ।
७. शिक्षाको राष्ट्रिय नीति, २०७६
प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका अवसरहरूलाई व्यापक विस्तार गरी सबै इच्छुक नागरिकहरूका लागि समावेशी एवं समतामूलक पहुँच स्थापित गर्दै देश विकासका लागि योग्य, सक्षम, सीपयुक्त र उद्यमशील जनशक्ति तयार पार्नु ।
८. विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६
साधारण धार र प्राविधिक तथा व्यावसायिक धार रहेको । प्राविधिक तथा व्यावसायिक धारको संरचना कक्षा ९(१२ को स्वीकृत भएको ।
९.विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन (पहिलो संशोधन) निर्देशिका, २०७१
विद्यालय शिक्षामा प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रबन्धबाट कार्यमूलक, व्यवहारिक, प्राविधिक तथा व्यावसायिक सिपयुक्त जनशक्ति उत्पादन गरी श्रम बजारमा सहज प्रवेशको सम्भावना बढाउन र शैक्षिक उत्पादनको गुणात्मकता वृद्धिका लागि विद्यालयहरूमा प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्नका निमित्त विभिन्न निकायहरूको भूमिका र जिम्मेवारी तय गरी विद्यालय क्षेत्र सुधार कार्यक्रमको परिलक्षित उद्देश्य र लक्ष्य परिपूर्तिका लागि “विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा” भन्नाले विद्यालयहरूमा कक्षा ९ देखि सञ्चालन हुने प्राविधिक तथा व्यावसायिक शिक्षा धार सम्झनुपर्छ ।
१०. माध्यमिक शिक्षा पाठ्यक्रम (कक्षा ९–१०), २०७१
स्थानीय र राष्ट्रिय स्तरका पेसा, व्यवसाय एवम् रोजगारीका साथै आवश्यकता अनुसार अन्तर्राष्ट्रिय रोजगारीतर्फ उन्मुख उत्पादनमुखी र सिपयुक्त नागरिक तयार गर्न सहयोग गर्ने माध्यमिक शिक्षाको उद्देश्य रहेको छ ।
प्रशिक्षकको व्यवस्था :
१. सहायक प्रशिक्षकको लागि कम्तीमा सम्बन्धित विषयमा प्रमाणपत्र तह उत्तीर्ण वा सो सरह भएको हुनु पर्ने ।
२. कक्षा ९ र १० को प्राविधिक विषयहरूको शिक्षणका लागि शिक्षक व्यवस्थापन गर्न सम्बन्धित विषयमा कम्तीमा स्नातक उत्तीर्ण वा सो सरह भएको हुनु पर्ने ।
३. कक्षा ११ र १२ को प्राविधिक विषयहरूको शिक्षणका लागि शिक्षक व्यवस्थापन गर्न सम्बन्धित विषयमा स्नातकोत्तर भएकाको जनशक्ति उपलब्ध हुन नसकेकोमा अनुभवी स्नातक गरेको व्यक्ति हुन सक्नेछ ।
व्यावहारिक अभ्यास सम्बन्धी व्यवस्था :
विद्यालयको शिक्षा आधारभूत र माध्यमिक गरी दुई तहमा बाँडिएको छ । त्यस मध्ये माध्यमिक शिक्षा आत्म विश्वासी, लोकतान्त्रिक आचार भएका, जिम्मेवार एवम् जवाफदेही, नैतिकवान तथा इमानदार, काम तथा पेसाप्रति प्रतिबद्ध, आत्मनिर्भर, सिर्जनशील, आधुनिक ज्ञान, विज्ञान, तथा प्रविधिले युक्त र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम गुणस्तरीय जनशक्ति विकासमा सहयोगी हुनु पर्छ । यो शिक्षा राष्ट्रिय एकता, बहु सांस्कृतिक मूल्य मान्यता, विविधता, राष्ट्रिय आदर्शप्रति गौरव गर्न सक्ने सिपमूलक र तालिम प्राप्त जनशक्ति तयार गर्नु रहेको छ । यस्तो जनशक्ति शान्ति, मानव अधिकार, दिगो विकास, पर्यावरणीय सन्तुलन र द्वन्द्व तथा विपत् व्यवस्थापनप्रति सचेत र जिम्मेवार नागरिकका रूपमा परिचित हुनु पर्छ । व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय जन जीवनमा आइपर्ने समस्या समाधान गर्न, अरूको विचार तथा भावनाको कदर गर्न, विविध प्रकारका श्रम तथा पेसाप्रति सकारात्मक सोच राख्न, समालोचनात्मक सोचको विकास तथा अभ्यास गर्न र विश्लेषणात्मक सिपको विकास र उपयोग गर्न सक्षम नागरिक तयार गर्न सहयोग गर्नु माध्यमिक शिक्षाको उद्देश्य रहेको छ ।
व्यावहारिक अभ्यास प्राविधिक तथा व्यावसायिक धार अन्तर्गत माध्यमिक विद्यालय शिक्षा पाठ्यक्रमको एक अनिवार्य अंश हो । शिक्षा ऐनको आठौँ संशोधनको दफा ६ को (घ) मा रहेको विद्यालय शिक्षा अन्तर्गत प्राविधिक तथा व्यावसायिक शिक्षामा थप एक वर्ष तोकिए बमोजिम व्यवहारिक अभ्यास गराइने छ भन्ने व्यवस्था रहेको छ ।
व्यावहारिक अभ्यास विद्यालयमा सिकेका प्राविधिक तथा व्यावसायिक शिक्षासँग सम्बन्धित ज्ञान, सिद्धान्त तथा सिपलाई वास्तविक कार्यथलोसँग जोडी अनुभवका आधारमा प्राज्ञिक तथा पेसागत कार्यकुशलतामा निखार ल्याउन अवसर प्रदान गर्ने कार्यथलोमा आधारित कार्यक्रम हो । यसले विद्यार्थीहरूलाई कक्षा कोठामा सिकेका सिपहरूलाई व्यवहारमा उतार्न, कार्यथलोको अनुभव लिन, कार्यस्थलमा कार्यरत कामदार कर्मचारीहरूसँग साथसाथै काम गर्ने तथा आफ्नो वृत्ति विकासका लागि विभिन्न बाटो रोज्ने अवसर प्रदान गर्दछ । अर्काे अर्थमा यस कार्यक्रमले विद्यार्थीहरूलाई कामको संसारमा प्रवेश गर्ने बाटो खुलाउँछ ।
प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालित विद्यालयहरूमा अध्ययनरत विद्यार्थीलाई विद्यालयहरूले विद्यालय वा विद्यालयले छनोट गरेको संस्थामा आबद्ध भई पाठ्यक्रमले निर्धारण गरेको अवधिसम्मको लागि काम गर्न विद्यार्थीहरूलाई व्यावहारिक अभ्यासमा पठाउनुपर्छ । शैक्षिक उत्पादनको गुणात्मकता वृद्धिका लागि नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम अनुसार कार्यक्षेत्रमा गई प्रयोगात्मक रूपमा गरिने व्यावहारिक अभ्यास कार्यान्वयनलाई प्रभावकारी, सरल र सहज बनाउन निश्चित मापदण्ड तथा विभिन्न निकायहरूको भूमिका र जिम्मेवारी तय गरी विद्यार्थीहरूलाई कामको संसारसँग आबद्धता प्रदान गर्ने यसको व्यवस्था गरिएको छ ।
क. ‘एक वर्षे व्यावहारिक अभ्यास’ भन्नाले कार्यथलोमा आधारित सिकाइ, अभ्यास तथा तालिम सम्झनु पर्छ । यो कक्षा बाह्र पछि एकै पटक एक वर्ष वा कक्षा दश पछि तीन महिना, कक्षा एघार पछि तीन महिना (प्रोजेक्ट बेस लर्निङ) र कक्षा बाह्र पछि छ महिनामा विभाजन गरेर पनि गर्न सकिनेछ ।
ख.व्यावहारिक अभ्यासका आधारहरू :
- विद्यालय तहको प्राविधिक तथा व्यावसायिक धार कक्षा ९–१२ लाई विद्यालयमा आधारित सिकाइ र थप एक वर्षको कार्यथलोमा आधारित सिकाइ हुनेछ । कार्यथलोमा आधारित सिकाइलाई व्यावहारिक अभ्यास भनिन्छ । विद्यालयमा आधारित सिकाइको मोड सैद्धान्तिक र प्रयोगात्मक हुनेछ । कार्यथलोमा आधारित सिकाइ विद्यालयमा सिकेका ज्ञान तथा सिपलाई कार्यस्थलसँग जोडी पूर्णरूपमा व्यावहारिक र कार्यमूलक हुनेछ । व्यावहारिक अभ्यास पुरा हुन कम्तीमा १२०० घण्टा (दश क्रेडिट आवर) को समयावधि पुरा गर्नु पर्नेछ ।
- विद्यार्थीहरूले विभिन्न कारणबाट व्यावहारिक अभ्यासको क्रेडिट आवर पुरा नगरी वीचमा छोडेमा बाँकी क्रेडिट आवर अर्को वर्ष तोकिएकै प्रक्रिया बमोजिम पुरा गर्नुपर्नेछ । यस्ता कार्यहरू प्राविधिक तथा व्यावसायिक शिक्षासँग सम्बन्धित सरकारी तथा गैर सरकारी संस्था, व्यावसायिक निजि तथा सामूहिक फर्म, व्यावसायिक प्रतिष्ठान, सहकारी संस्था, कम्पनी, अनुसन्धान केन्द्रहरू, विभिन्न प्राविधिक सरकारी कार्यालयहरू, स्वास्थ्य केन्द्रहरू, खेलकुदसँग सम्बन्धित संस्थाहरू, सामुदायिक वनहरू र सम्बन्धित विद्यालय आदि जस्ता संस्थाहरू कार्यथलोमा गर्नु पर्नेछ ।
- विद्यार्थीहरूले व्यावहारिक अभ्यास कार्यमा बिताएको समय घण्टा (क्रेडिट आवर) र प्राप्त गरेको कार्यक्षमता विद्यार्थीहरूको ग्रेड सिटमा जनाइनेछ । व्यवहारिक अभ्यास सम्बन्धी कार्यहरू व्यावहारिक अभ्यास कार्यान्वयन निर्देशिका, २०७३ अनुसार गरिनेछ ।
ग.व्यावहारिक अभ्यास सम्बन्धी निकाय र भूमिकाहरू :
१. शिक्षा तथा मानवस्रोत विकास केन्द्र : अनुगमन, मातहतका निकायलाई निर्देशन र अनुदान तथा अभिलेख सम्बन्धी कार्य,
२. राष्ट्रिय परीक्षा बोर्ड : मातहतका निकायलाई निर्देशन, समन्वय, अनुगमन र प्रमाणपत्र सम्बन्धी कार्य,
३. पाठ्यक्रम विकास केन्द्र : कार्यविधि निर्माण, अनुगमन परीक्षण र प्रवोधिकरण,
४. क्षेत्रीय शिक्षा निर्देशनालय : अनुगमन,
५. शिक्षा विकास तथा समन्वय इकाइ : सम्बन्धित विषयगत कार्यालयसँग कार्यक्रममा समन्वय, अनुगमन, निरीक्षण, सुपरिवेक्षण मूल्याङ्कन,
६.स्थानीय तह : अनुदान, निरीक्षण, अनुगमन, व्यवस्थापनमा सहजीकरण,
७. कार्यथलो संस्था : अभिमुखीकरण, अभिलेख, सुपरिवेक्षक तोक्ने,
८. विद्यालय : अभ्यास संयोजकको व्यवस्था (प्राविधिक तथा व्यावसायिक धार), यसलाई समुदाय र उद्योगसँगको समन्वय, विद्यालयलाई व्यवहारिक अभ्यास गर्न उद्यम तथा उद्योगको विकास,
९.व्यावहारिक अभ्यास संयोजक : सम्बन्धित विषयगत कार्यालयसँग समन्वय, कार्यथलोको खोजी र समन्वय, सम्बन्धित संस्थाहरूसँग अन्तरक्रिया र अभिमुखीकरण,
१०. विद्यार्थी : तोकिएको संस्थामा कार्य गर्ने, आफूले गरेको कार्य विवरणको प्रतिवेदन तयार गरी पेस, सामाजिक मर्यादामा रहने ।
घ. अनुगमन : राष्ट्रिय परीक्षा बोर्ड र जिशिकाको समन्वयमा हुनेछ । (सम्बन्धित विषयका विज्ञबाट अनुगमन हुने)
ङ. सुपरिवेक्षण : विद्यालयको व्यवस्थापनमा सुपरिवेक्षक तोकिनेछ ।
च. मूल्याङ्कन : विद्यार्थीहरूको व्यावहारिक अभ्यासको मूल्याङ्कन ५० अंक आन्तरिक र ५० अंक बाह्य हुनेछ । आन्तरिक मूल्याङ्कनमा २५ अंक सम्बन्धित विद्यालय र २५ अंक सुपरिवेक्षकबाट हुनेछ ।
छ. समग्रमा व्यावहारिक अभ्यासको मूल्याङ्कनका आधारहरू निम्नअनुसार हुनेछन् :
(अ) विद्यार्थीको नियमित उपस्थिति वा हाजिरी । (आ) मूल्याङ्कन तथा अनुगमनकर्ता र सुपरिवेक्षकको सिफारिस तथा प्रतिवेदन । (इ) विद्यार्थीले पेस गरेको प्रतिवेदन । (ई) विद्यार्थीले सम्पादन गरेको कार्य, सेमिनार, कार्यशाला र निर्माण गरेका वस्तु ।
ज. व्यावहारिक अभ्यास कार्यान्वयन निर्देशिका, २०७३ को अनुुसूचीहरूमा भएका व्यवस्थाहरू
- विद्यार्थी लग बुक (तोकिएको संस्थामा नियमित रूपमा हाजिर भई संस्थाले लगाएको काम गर्नु पर्दछ । हाजिर भएको र कार्यस्थलमा गरिएको कामको विवरण सुपरिवेक्षकलाई प्रमाणित गराई व्यवस्थित गर्नु पर्नेछ ।)
- विद्यार्थीले बुझाउने प्रतिवेदनको ढाँचा (यस अनुसूचीमा विद्यार्थीहरूले व्यावहारिक अभ्यास समाप्त भएको एक हप्ताभित्र आफूले गरेको कार्य विवरणसहितको प्रतिवेदन विद्यालयमा बुझाउनुपर्ने छ ।)
- सुपरिवेक्षकद्वारा गरिने विद्यार्थी आन्तरिक मूल्याङ्कन फाराम (व्यावहारिक अभ्यासमा संलग्न विद्यार्थीहरूको नियमित सुपरिवेक्षण गरी आवश्यक पृष्ठपोषण दिन हरेक कार्यस्थलमा विषयसँग सम्बन्धित सुपरिवेक्षकले मासिक सुपरिवेक्षण प्रतिवेदन तयार गरी अनुगमनकर्तालाई बुझाउनु पर्नेछ ।)
- बाह्य मूल्याङ्कन अनुगमन फारम (राष्ट्रिय परीक्षा बोर्डले शाखा कार्यालय र जिल्ला शिक्षा कार्यालयको समन्वयमा कार्यथलो संस्थामा सञ्चालित व्यावहारिक अभ्यासको बाह्य मूल्याङ्कन तथा अनुगमनका लागि खटाइका अनुगमनकर्ताले थप एक वर्षेको हकमा कम्तीमा चार पटक अनुगमन गरी अनुगमनको प्रतिवेदन तयार गरी जिल्ला शिक्षा कार्यालय र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ ।)
- विद्यालयले गर्ने विद्यार्थी आन्तरिक मूल्याङ्कन फारम (आन्तरिक मूल्याङ्कन प्रतिवेदन विद्यालयले व्यावहारिक अभ्यास समाप्त भएको सात दिन भित्र तयार गरी जिशिकामा पठाउनु पर्नेछ ।)
- विद्यार्थीहरूको समष्टिगत मूल्याङ्कन प्रतिवेदन फारम (जिशिकाले आन्तरिक तथा बाह्य मूल्याङ्कनको समष्टिगत प्रतिवेदन तयार गरी १० दिनभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनु पर्नेछ ।)
- व्यावहारिक अभ्यासको लागि निवेदन फाराम (कार्यथलो विद्यालय बाहिर भएको अवस्थामा विद्यालय भन्दा बाहिर व्यावहारिक अभ्यास गराउँदा विद्यार्थीहरूले निवेदन दिनुपर्नेछ । यसरी निवेदन दिँदा अभिभावकको मन्जुरीनामा समेत संलग्न गर्नुपर्नेछ ।
- संयोजकले तयार गर्ने व्यावहारिक अभ्यास योजनाको ढाँचा (व्यावहारिक अभ्यासमा विद्यार्थीहरूलाई पठाउनु भन्दा पहिले विषयगत विशिष्टीकृत उद्देश्य र सक्षमताहरू उल्लेख भएको व्यावहारिक अभ्यास योजना तयार गरी विद्यार्थी र सुपरिवेक्षकलाई उपलब्ध गराउनु पर्नेछ । अनुगमन तथा सुपरिवेक्षण गर्दा योजनामा उल्लिखित उद्देश्य तथा सक्षमताहरूलाई हेरिने छ ।)
कक्षा १० पछि प्राविधिक तथा व्यावसायिक शिक्षा :
प्राविधिक तथा व्यावसायिक शिक्षामा कक्षा १० पछि विद्यार्थीहरूले आफूले अध्ययन गरेको सम्बन्धित क्षेत्रकै विषयमा कक्षा ११ मा भर्ना हुन पाउने व्यवस्था छ । प्राविधिक तथा व्यावसायिक धारको पाठ्यक्रम अनुसार कक्षा १० पुरा गरेका जनशक्ति इन्जिनियरिङ विषय तर्फ सब असिस्टेन्ट इन्जिनियर र कृषि विज्ञान विषय तर्फ जुनियर टेक्निकल असिस्टेन्टस्तर सरह मानिन्छ । कक्षा १० मा प्राविधिक शिक्षा उत्तीर्ण भएपछि कक्षा ११ मा सम्बन्धित क्षेत्रमा वा साधारण शिक्षाका विषयमा अध्ययन गर्न पनि सक्नेछन् ।
कक्षा १२ पछि प्राविधिक तथा व्यावसायिक शिक्षा :
कक्षा ११ देखि नै प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययन गरेका विद्यार्थीहरूले रसायनशास्त्र, जीव विज्ञान, भौतिक विज्ञान, गणित र प्राविधिक तथा व्यावसायिक धार तर्फका विधागत विषय पढ्ने हुनाले कक्षा १२ पछि सम्बन्धित क्षेत्रमै स्नातक तहमा पढ्ने वा रोजगारलाई जोड दिई रोजगारतर्फ उन्मुख हुन पाउने अवसर रहेको छ । कक्षा १२ पूरा गरेका जनशक्तिले इन्जिनियरिङ विषयतर्फ सबइन्जिनियर र कृषि विज्ञान विषयतर्फ टेक्निकल असिस्टेन्टस्तर सरहको शैक्षिक योग्यता प्राप्त गर्दछन् ।
शिक्षामा व्यवसायीकरणको चुनौती :
हाम्रो देशमा प्रदान गरिएको शिक्षा प्रयोगात्मक नभई सैद्धान्तिक भएकोले उत्पादनशील हुन नसकी जागिरे प्रवृत्तिको हुने हुँदा यसलाई रोकी युवा वर्गलाई उत्पादनशील बनाई निम्नस्तरको जनशक्ति उत्पादन गर्न र प्राविधिक तथा व्यावसायिक शिक्षा तर्फ उच्च शिक्षा प्राप्त गर्न सक्षम युवाहरूलाई सामान्य ज्ञान र सिप प्रदान गर्ने उद्देश्यले २०२८ सालमा सुरु गरिएको व्यावसायिक शिक्षालाई माध्यमिकस्तर देखि प्रदान गर्ने प्रयत्न गरिए पनि अन्ततोगत्वा २०३९ सालबाट पुनः साधारण शिक्षामा फर्के पनि प्राविधिक तथा व्यावसायिक शिक्षाको महसुस गरी करिब ३१ वर्ष पछि वि.सं. २०७० सालमा व्यावसायिक शिक्षालाई निरन्तरता दिँदै नेपालका सामुदायिक विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षालाई निरन्तरता दिई सिपयुक्त जनशक्ति तयार गर्नु आजको चुनौती रहेको छ ।
समस्या समाधानका लागि भावी कार्यदिशा :
१. शिक्षा :
- देश,समाज र व्यक्तिको दृष्टिबाट उपयोगी बनाउनु पर्दछ ।
- व्यावसायिक तथा प्राविधिक शिक्षा तर्फ विशेष ध्यान दिनु पर्दछ ।
- समाजका हरेक अंगलाई सीपयुक्त बनाउनु राज्यको दायित्व हुनु पर्दछ ।
२. शिक्षाको नीति :
- नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति अन्तर्गत बनाउने,
- शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सिपमूलक, रोजगारमूलक एवम् जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने,
- शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षामा भएको निजी क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने,
- सामाजिक रूपान्तरण र आर्थिक समृद्धिका लागि राज्यका मूल्य मान्यतालाई एकीकृत गरी नेपालको भू–राजनैतिक अवस्थाको आँकलन सहित राष्ट्रिय विकासलाई चाहिने जनशक्तिको आवश्यकतालाई पुरा गर्ने ।
समस्या र समाधान :
१. नीति : नीतिगत व्यवस्था समय सापेक्ष र आवश्यकतामा आधारित हुनु पर्दछ ।
२. अनुत्पादक शिक्षाबाट : उत्पादनमूलक र कार्यमूलक हुनु पर्दछ ।
३. पाठ्यक्रम तथा पाठ्यपुस्तक : पाठ्यक्रममा निरन्तर सुधार गरिनु पर्ने । प्रविधिको विकाससँगै पाठ्यक्रम परिवर्तन गरिनु पर्ने । सम्बन्धित विषयका सिकाइ स्रोत सामग्रीहरू तयार गर्नु पर्ने ।
४. भौतिक पूर्वाधार : विद्यालयको जग्गा तथा कक्षा सञ्चालन गर्न आवश्यक पूर्वाधार भएको विद्यालयमा मात्र सञ्चालन गर्ने ।
५. प्रशिक्षक व्यवस्थापन : दरबन्दी सिर्जना गरी प्राविधिक प्रशिक्षकहरूको कामको सुनिश्चित गरिनु पर्ने ।
६.स्रोत व्यवस्थापन : केन्द्रले तथा स्थानीय तहबाट पनि स्रोतको व्यवस्थापन गरी स्मार्ट विद्यालय बनाउनु पर्ने ।
७. विद्यार्थीका समस्या : छात्रावासको व्यवस्था, तथा इ–पुस्तकालयको व्यवस्था गरिनु पर्ने ।
८. व्यावहारिक अभ्यास : गाविस/नगरपालिकाका सबै वडा तथा विद्यालयहरूकै उद्यमहरूमा व्यवहारिक अभ्यास गर्न लगाउने ।
९.ब्रिजकोर्ष : ब्रिजकोर्ष निर्माण गरी कक्षा १० अध्ययन गरेका विद्यार्थीहरूलाई कक्षा ११ मा प्राविधिक शिक्षामा भर्नाको व्यवस्था गर्नु पर्ने ।
१०. जनशक्ति अनुमान : विभिन्न क्षेत्रको पहिचान गरी जनशक्ति उत्पादन गरिनु पर्ने ।
११. प्रयोगशाला व्यवस्थापन : प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन भएका विद्यालयहरूमा प्रयोगशालाको व्यवस्था गरी उपकरणको प्रयोग गरिनु पर्ने र सम्बन्धित निकायले निरन्तर अनुगमन गरिनु पर्ने ।
१२. विद्यालयको व्यवस्थापनको : प्राविधिक तथा व्यावसायिक शिक्षा तर्फको व्यवस्थापनमा यसै क्षेत्रका व्यक्ति कम्तीमा पचास प्रतिशत हुनु पर्ने ।
१३. विद्यालय थप गर्ने : स्थानीय निकायका ७५३ स्थानमा नै यस्ता विद्यालय सञ्चालन गरिनु पर्ने र आवश्यकता अनुसार बहु प्राविधिक विद्यालय पनि सञ्चालन गर्न दिनु पर्ने ।
१४. आर्थिक अनुदान : आवश्यकताका आधारमा अनुदान र विद्यार्थीहरूले नै व्यवसाय सञ्चालन गर्न चाहेको अवस्थामा निर्ब्याजी ऋण उपलब्ध गराउने व्यवस्था गरिनु पर्ने ।
१५. सेवा दल : व्यवहारिक अभ्यासमा समूह बनाई सेवाको भावले पठाउनु पर्ने ।
१६. प्र.अ. व्यवस्थापन : प्राविधिक व्यक्ति नै प्र.अ. बनाईनु पर्ने ।
१७. निरीक्षण व्यवस्था : सम्बन्धित क्षेत्रका व्यक्तिबाट निरीक्षण गराइनु पर्ने ।
१८. बजार : विद्यार्थीहरूले उत्पादन गरेका सामग्रीको बजारमा बिक्री गर्ने व्यवस्था सरकारबाट गरिनु पर्ने ।
१९. तालिम : प्रशिक्षकलाई तालिम दिइनु पर्ने ।
२०. विद्यालय : प्राविधिक शिक्षा शिक्षण हुने विद्यालयमा प्राविधिक तथा व्यावसायिक धारको मात्र विद्यालय सञ्चालन गर्ने ।
२१. उत्प्रेरणा : राम्रो शिक्षण गर्ने शिक्षकलाई प्रोत्साहन दिने ।
२२. जनशक्ति : बजार र शिक्षालाई जोड्ने ।
२३. विषय थप : विद्यालय तहबाट नै दक्ष जनशक्ति उत्पादन गर्न प्रत्येक गाउँपालिका वा नगरपालिकामा कम्तीमा १÷१ वटा प्राविधिक तथा व्यावसायिक विद्यालय सञ्चालन गर्ने जसले राज्यको आवश्यकताको आधारमा नेपालकै प्राकृतिक स्रोत र साधनको अधिकतम उपयोग हुने गरी ७५३ स्थानमा प्राविधिक तथा व्यावसायिक शिक्षा बिस्तार गरी प्रत्येक स्थानीय निकायमा स्थान विशेषको आवश्यकता हेरी एउटा वा बहु प्राविधिक विद्यालय सञ्चालन गर्ने ।
२४. जनशक्तिको प्रक्षेपण : राष्ट्रिय योजना आयोगले जनशक्तिको प्रक्षेपण गरी प्रत्येक घरबाट तालिम प्राप्त जनशक्ति उत्पादन गर्ने जसले बजारको माग र आवश्यकता पुरा गर्नु पर्दछ ।
२५. जनशक्ति खपत : जनशक्ति खपत हुने क्षेत्रको पहिचान सोही अनुरूप शिक्षा दिई जनशक्ति उत्पादन गर्नु पर्ने ।
२६. आत्मनिर्भर : विद्यार्थीमा आत्मनिर्भर हुने सिप विकास हुन‘का साथै अभिभावकमा समेत आत्म निर्भर बन्ने अवस्थाको सिर्जना हुन्छ । जस्तो : पशुपालन शिक्षण हुने स्थानमा अभिभावकले पशुपालन तथा घाँस सम्बन्धी चासो राखी त्यो प्रविधि पछ्याउन खोज्ने त्यसै गरी बाली विज्ञानमा पढाइएका खेतीहरूका बारेमा जान्न खोज्ने । स्वदेश मै हर क्षेत्रमा उत्पादन बढाइ आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवर्धन गर्न सकिन्छ जसको कारणले नेपालको आर्थिक वृद्धिमा टेवा पुग्ने गरी उत्पादित कच्चा पदार्थहरू स्वदेशमै प्रशोधन गरी निर्यात बढाउन सकिन्छ । दिगो विकासका लक्ष्य हासिल गर्न र स्वदेशमै रोजगारी बढ्न गई वैदेशिक रोजगारी प्रतिको आकर्षण घटाउन सकिन्छ ।
२७. पढाइसँगै सिप : पढाइसँगै सिप दिने र साधारण शिक्षा अध्ययन गरेकाहरूलाई पनि सिप दिने व्यवस्था गर्ने । सिकाउने र बिकाउने गरी शिक्षण सम्बन्धी व्यवस्था गरिनु पर्ने ।
प्राविधिक तथा व्यावसायिक विद्यालयमा प्रभावकारी शिक्षण क्रियाकलाप सञ्चालन गर्न सुधार गर्नु पर्ने :
- पाठ्यक्रममा आधारित रही सीपमूलक शिक्षण गरिनु पर्ने,
- Digital Materials हरुको विकास गरी सबै शिक्षक तथा विद्यार्थीको पहुँचमा पु¥याउनु पर्ने,
- नेपालमै भएका परम्परागत प्रविधिहरूको संरक्षण तथा आधुनिक प्रविधिहरूमा विकास गरी शिक्षण गर्नु पर्ने,
- प्रशिक्षकको क्षमता विकास गर्न आवश्यकताका आधारमा तालिम दिनुपर्ने,
- विषय विज्ञको क्षमता विकास गर्नु पर्ने,
- सम्बन्धित विषयको अध्ययन अनुसन्धान गरी समय सापेक्ष पाठ्यक्रममा सुधार गरी शिक्षण गर्नु पर्ने,
- राम्रो अभ्यास गरेका विद्यालयहरूको अनुभव आदान प्रदान गर्न अनुसन्धानमूलक कार्यव्रmम सञ्चालन गर्ने,
- ल्याब सामग्री तथा व्यवस्थापन गरी विद्यार्थीले प्रयोग गरेर सिक्ने वातावरण तयार गर्ने
निष्कर्ष
हाम्रो मुलुकमा भएका जल, जङ्गल, जमिन, खनिज लगायतका स्रोत र साधनहरू रहेका छन् । तिनीहरूको अधिकतम उपयोग गरी विश्वमा सम्पन्न नेपाल बनाउनु आजको दायित्व रहेको छ । लिच्छविकालमा नेपाल स्वर्ण युग रहेको हुनाले अब समृद्ध नेपाल सुखी नेपाली बनाउनु आजको आवश्यकता हो । यसका लागि समग्र शिक्षा प्रणाली मै सुधार गर्नु पर्दछ । “सामुदायिक विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा, सुखी, शान्ति र समृद्ध राष्ट्र निर्माण आजको आवश्यकता” भन्ने मूल मर्मलाई आत्मसात् गर्दै प्राविधिक तथा व्यावसायिक शिक्षालाई जोड दिनु पर्दछ । यो शिक्षा सबै स्थानीय तहमा पु¥याई सबै तह र वर्गमा सहजै पहुँच पु¥याई आफैँ स्वरोजगार सिर्जना गर्ने जनशक्ति उत्पादन गरी मुलुकको विकास गर्नु आजको मूल उद्देश्य रहेको छ ।
(लेखक खिलानाथ धमला पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरका पाठ्यक्रम अधिकृत हुन् ।)



