काठमाडौँ /२० पुस – त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । विश्वविद्यालयको रिक्त रहेको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।
त्रिभुवन विश्वविद्यालयका कुलपतिबाट त्रिभुवन विश्वविद्यालयको रिक्त रहेको उपकुलपति नियुक्ति गर्ने प्रयोजनका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ को उपदफा (२) बमोजिम गठित सिफारिस समितिबाट स्वीकृत “त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०“ बमोजिम उम्मेदवार छनोटका लागि दरखास्त आह्वान गरेको छ ।
योग्यता पूरा गरेका इच्छुक नेपाली नागरिकबाट पुस २९ गते भित्रसम्ममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा कार्यालय समयभित्र उक्त कार्यविधिको अनुसूचीमा रहेको दरखास्तको ढाँचामा दरखास्त पेस गर्नुपर्ने जनाएको छ ।
उम्मेद्वारले दरखास्तसाथ देहायका कागजात प्रमाणित गरी पेस गर्नु पर्नेछ :
(क) नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
(ख) वैयक्तिक विवरण ३ प्रति,
(ग) स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि,
(घ) प्राध्यापकको सुरु नियुक्तिपत्रका प्रमाणित प्रतिलिपि,
(ङ) विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण तथा प्रमाणित प्रतिलिपि,
(च) बढीमा ३००० शब्द रहेको विश्वविद्यालयसम्बन्धी सोचपत्र तीन प्रति र बढीमा ५००० शब्द रहेको चार वर्षे व्यावसायिक कार्ययोजना तीन प्रति । सोचपत्र र व्यावसायिक कार्ययोजना पृष्ठको एकातर्फ मात्र लेखेको÷टाइप गरेको हुनुपर्ने, पहिलो पृष्ठमा मात्र आफ्नो नाम लेखेर दस्तखत गर्नुपर्ने, अन्य पृष्ठमा आफूलाई चिनाउने नाम, कुनै चिन्ह वा सङ्केत गर्न नपाइने र छुट्टाछुट्टै सिलबन्दी गरी बुझाउनु पर्नेछ ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० र दरखास्तको ढाँचा सोही कार्यविधिमा रहेको साथै उक्त कार्यविधि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट https://www.moest.gov.np/?fbclid=IwAR2suGcfjvKVoVn9hGIeHVhtjRqDa7h9oGF2gmId-lh_VCNj-T4pGhb7Gy8 बाट डाउनलोड गर्न सकिनेछ ।



