समावेशी शिक्षा विकासका लागि केयु र कोहलपुर नगरपालिकाबिच सम्झौता

कोहलपुर/२० पुस- काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन र बाँके जिल्लाको कोहलपुर नगरपालिकाबिच गुणस्तरीय तथा समावेशी शिक्षाको विकासका लागि शिक्षा तथा खेलकुद नीति तथा योजना निर्माण गर्ने सम्झौता भएको छ ।


कोहलपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद नीति र विद्यालय शिक्षा योजना निर्माणकाक्रममा स्थानीय विशिष्टता तथा आवश्यकताहरूमा आधारित रही नागरिक अधिकार तथा कर्तव्य साथै मानव संसाधन विकासका लागि स्थापित स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी प्रावधानहरूको अध्ययन गरिनेछ ।


शिक्षा, युवा तथा खेलकुद नीति र विद्यालय शिक्षा योजनाले आगामी दिनमा कोहलपुर नगरपालिकाको शिक्षामा हुने उपलब्धि तथा प्रभावहरूको प्रत्याभूति दिने कुरामा कोहलपुर नगरपालिका विश्वस्त रहेको जनाएको छ । यस शिक्षा, युवा तथा खेलकुद नीति र विद्यालय शिक्षा योजना यसै आर्थिक वर्षभित्र तयार गरी आगामी आर्थिक वर्षबाट लागु गरिने जनायो ।


सम्झौता पत्रमा कोहलपुर नगरपालिकाको तर्फबाट शिक्षा तथा खेलकुद शाखा प्रमुख रामबहादुर हमाल तथा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका तर्फबाट सह–प्राध्यापक डा। हेमराज काफ्लेले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा स्कुल अफ एजुकेशनका तर्फबाट डा। सिद्धार्थ ढुङ्गाना र डा। पार्वती ढुङ्गाना र कोहलपुर नगरपालिकाका तर्फबाट नगर कार्यपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद बिक र शिक्षा तथा खेलकुद शाखाका शाखा अधिकृत रविलाल मिजारको उपस्थिति रहेको थियो ।