काठमाडौँ /२० पुस – उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले खबर एजुकेशन मिडियाका सम्पादक लक्ष्मीप्रसाद ढकाललाई शिक्षा पत्रकारीता पुरस्कार प्रदान गरेको छ । हिसान काठमाडौँ जिल्ला कार्य समितिको छैटौँ अधिवेशनको अवसरमा आज आयोजित कार्यक्रममा पत्रकार ढकाललाई सम्मान गरिएको हो ।
विगत दुई दशकदेखि पत्रकारीता पेशामा लागेका पत्रकार ढकाललाई नेपाल सरकारका पूर्व राज्यमन्त्री तथा हिसानका पूर्व अध्यक्ष उमेश श्रेष्ठ, हिसानका अध्यक्ष रमेश कुमार सिलवाल र हिसान काठमाडौँ जिल्लाका अध्यक्ष शिव अधिकारीले सम्मान गरेका थिए । ढकाललाई सम्मान पत्र र नगद सहित सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले अब निजी शिक्षालयकै कारण शिक्षा क्षेत्रमा धेरै विकास र परिवर्तन भएको दाबी गरे । उनले संस्थालाई थप प्रोफेसनल र कर्पोरेट बनाएर लौजानुको विकल्प नभएको र भौतिक पूर्वाधारमा लगानी बढाउनुपर्ने धारणा व्यक्त गर्दै त्यसको लागि सबैको एकमत हुनुपर्ने बताए ।
कार्यक्रममा हिसानका अध्यक्ष रमेश कुमार सिलवालले निजी शैक्षिक संस्थाहरूको लगानीको संरक्षण, सम्पत्तिको सुरक्षाका सवालमा हिसान, प्यब्सन र एन प्यब्सन एक भएर अगाडी बढ्नुपर्ने बताए । उनले निजी शिक्षाका बारेमा साझा धारणा बनाएर अगाडी बढ्न सबैलाई आग्रह गरे ।
हिसान काठमाडौँ जिल्ला कार्य समितिका अध्यक्ष शिव अधिकारीले शिक्षा सम्बन्धी बन्दै गरेका विधेयक तथा ऐनमा निजी शिक्षालयहरूसँग छलफल गरेर मात्रै ल्याउनुपर्ने धारणा राखे । हिसान काठमाडौँ जिल्ला कार्य समितिले हरेक अधिवेशनमा एक जना शिक्षा पत्रकारलाई सम्मान गर्दै आएको छ ।



