काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन र युरो स्कुलबिच सहकार्यका लागि सम्झौता

काठमाडौँ /१० पुस – काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन र ललितपुर, बागडोल स्थित युरो स्कुलबिच सहकार्यका लागि सम्झौता भएको छ । विद्यालयमा स्टिम एजुकेशन विधि मार्फत पठनपाठन सञ्चालनका लागि सहमति भएको हो ।
विद्यालयका तर्फबाट सञ्चालक समितिका अध्यक्ष रमेश कुमार श्रेष्ठ र विश्वविद्यालयका तर्फबाट डिन प्रा.डा.बालचन्द्र लुइटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


पुरातन र शिक्षक केन्द्रित शैक्षिक विधिले विद्यार्थीहरूको सिकाइ उपलब्धिमा उल्लेख्य लक्ष्य हासिल गर्न तथा विद्यार्थीहरूको पढाइमा अभिरुचि बृद्धि गर्न नसकिरहेकाले यसको विकल्पमा स्टिम विधिलाई अवलम्बन गर्न लागिएको रमेश कुमार श्रेष्ठले जानकारी दिए । त्यसैगरी निजी क्षेत्रबाट पहल भएको यस्तो सकारात्मक कदम नेपालमै पहिलो भएको डिन डा. बालचन्द्र लुइटेलले बताए ।


विश्वबजारको मागलाई ध्यानमा राख्दै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ स्थापना भएको विद्यालयले सोही लक्ष्य प्राप्त गर्न आवश्यक शैक्षिक गतिविधि सहितको नयाँ शैक्षिक विधिलाई अंगिकार गर्न विश्वविद्यालयसँग सम्झौता गरिएको विद्यालयका प्राचार्य विमल कुमार कटुवालले बताए ।