विरगञ्ज/१० पुस – नेशनल मेडिकल कलेजमा एक १९ वर्षीय युवतीको डिम्बाशयमा पलाएको सिस्ट दूरबिन प्रविधिबाट शल्यक्रिया गरी सफलतापूर्वक निकालिएको छ । महिनावारी गडबड भएर जम्मा भएर बनेको रगत र पानी जमेको सिस्ट (इण्डोमेट्रिओमा)लाई दूरबिन प्रविधि (ल्याप्रोस्कोपी) बाट निकालिएको हो ।
गत बिहीबार कलेजका चिकित्सक डा.प्रवीण शाह, डा.रुबी श्रेष्ठ, रेजिडेन्ट डा.सरोज यादव, डा.स्नेहा श्रेष्ठको टिमले लामो समयदेखि इण्डोमेट्रिओमाबाट पीडित युवतीको उपचार गरेको हो । कलैया घर भएकी ती युवती लामो समयदेखि अनियमित महिनावारी हुने तथा महिनावारीका समयमा अत्याधिक पेट दुख्ने समस्याबाट पीडित थिइन् । उनी ५ महिना अगाडी नै नेशनल मेडिकल कलेजमा उपचारका लागि आएपनि काठमाडौँमा समेत गएर स्वास्थ्य जाँच गराउँदा अप्रेसन गर्न सल्लाह दिइएको थियो । त्यसपछि उनी नेशनल मेडिकल कलेजमै गएर सोको उपचार गरेकी हुन् ।
‘उहाँ ५ महिना अगाडी नै आउनु भएको थियो । बिचमा काठमाडौँ पनि जानुभयो । नेशनल मेडिकल कलेजमै ल्याप्रोस्कोपी विधिबाट अप्रेसन हुन्छ भनेपछि उहाँहरू यहीँ आउनु भयो, हामीले ३ वटा प्वाल पारेर ८.८ समीको सिस्ट निकाल्यौँ ।’ शल्यक्रियामा संलग्न डा.प्रवीण साहले बताए । अप्रेसनमा कलेजका एनेस्थेसियाका डा.असीम गौडेल, रेजिडेन्ट डा.मेलिना असप्रित तथा ओटी स्टाफ इब्राहिम अन्सारीले सहयोग गरेका थिए ।
कुनैपनि महिलाहरूमा अनियमित महिनावारी छ, महिनावारी हुँदा अत्यधिक पेट दुख्न भने डिम्बाशयमा इण्डोमेट्रिओमाको जोखिम हुन्छ । ‘महिनावारी हुँदा अत्यधिक पेट दुखिरहन्छ, महिनावारी गडबड छ भने दुखाई कम गर्ने औषधीमात्र खाएर बस्नु हुँदैन । विशेषज्ञ डाक्टरलाई देखाउनु पर्छ ।’ अनियमित महिनावारी हुने सय जना महिनाहरूमा १० प्रतिशतलाई इण्डोमेट्रोमाको जोखिम हुने डा. साहले बताए ।
स्त्री तथा प्रसूति सेवाका लागि अत्याधुनिक उपकरणसहित दक्ष चिकित्सकहरू रहेको नेशनल मेडिकल कलेजकी डाइरेक्टर नुसरत जहाँ अन्सारीले बताइन् । मधेस प्रदेशकै टर्सरी स्वास्थ्य संस्थाका रूपमा रहेको नेशनल मेडिकल कलेजले सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।



