विस्तारै विद्यालयमा शिक्षकको खडेरी पर्ने छ

काठमाडौँ /१० पुस – साहित्य सिर्जनामा सफल र राजनीतिको केन्द्रमा मृत्युपर्यन्त रहन सफल र सत्ता पाउँदा सत्ता सञ्चालन असफल व्यक्तिको नाम विश्वेश्वर प्रसाद कोइराला प्रजातान्त्रिक समाजवादका चिन्तक ।


त्यस्तै गरी प्रखर वक्ताको रूपमा नाम काम सफल मदन भण्डारी । समयको महत्व बुझेको र राजनीति देश र जनाताको लागि हो पदमा रहन खोज्नु मूर्खता हो भन्ने सोचका धनी गणेशमान । विचारमा अडिग र भ्रष्टाचार विहीन समाज सिर्जना गनुपर्छ भन्ने सादकी नेताको रूपमा गिताका अध्येता कृष्ण प्रसाद भट्टराई । अर्का सादकी नेता सुशील कोइराला वर्तमान संविधान नेपाली जनतालाई दिन सफल । पद भन्दा बाहिर रहन नसक्ने समयसँग आफ्नो स्वार्थ पूर्तिको लागि जे पनि गर्न तयार र वर्तमान गणतन्त्र ल्याउन सफल गिरिजा प्रसाद कोइराला ।


पुष्पलाल श्रेष्ठ , मनमोहन भट्टराई सादकी नेता धेरै पढेको आफैले बोलेको शब्दमा सुरुदेखि नै दोधारे नेताको रूपमा पहिचान बनाइ अस्थिरताको बिउ रोप्न सफल तर देशको अर्थमन्त्री र प्रधानमन्त्री समेत हुँदा अरूलाई सामन्ती देख्ने आफू सर्वहाराको नेता, विचलित, भाषा र संस्कृति माथि प्रहार गर्ने प्रत्येक सम्बोधनमा संस्कृत भाषाका श्लोकको प्रयोग गर्ने आफ्नो लागि सफल तर देश र जनताको लागि असफल नेताको रूपमा डा. बाबुराम भट्टराई । बोलिको ठेगान नभएका जनतालाई आफूप्रति केन्द्रीत गर्न सक्ने समय अनुसार सत्ता र शक्तिको लागि जे पनि गर्न तयार हुने आफू सत्तामा रहँदा पनि अरूलाई सामन्तीको बिल्ला भिराउन र देशको अर्थतन्त्र धोस्त पार्ने नायकको रूपमा वर्तमान प्रधानमन्त्री । सामन्ती को हो ? ठ्याककै बुझ्न नसकिने व्यक्तिको रूपमा रहेका वर्तमान प्रधानमन्त्री । हिजोको माओवादीको जनविद्रोह सत्ताप्राप्तिको लागि केही व्यक्तिको जीवनचर्यामा सफलता र देशका जनतालाई कङ्गाल बनाउने योजनाका सूत्रधार ।


हिजोको जन विद्रोहले सत्ता र शक्ति संविधान परिवर्तन गराउन सफल रह्यो तर प्रवृति परिवर्तन गराउन नसक्नु दुर्भाग्य नै भयो । बहुदलपछि वा गणतन्त्रपछि हिजोको दिन जे जे भनेर गाली गरेको र सम्बोधन गरेको सुनिथ्यो आज त्यही वर्तमान सत्ताशिनहरूको वारेमा सुनिन्छ भने त्यो विद्रोह कसका लागि थियो । त्यो नरसंहार जसले गरे पनि कसका लागि थियो आज पुष्टि हुनसकेको छैन ।


उनको प्रजातान्त्रिक समाजवाद असल सुन्नमा छ, ल्याउन पनि पर्छ । उनको समाजवादी चिन्तनमा भनिएको थियो । प्रत्येक नेपालीको वादको लागि सानो घर, गोठमा दुध दिने गाई, विरामी पर्दा उपचारको लागि खर्चको लागि बैँक ब्यालेन्स । कति सुन्दर पक्ष छ त । कसले विरोध गर्ने उनको सोचलाई । तर २०१५ को आम चुनावमा दुई तिहाइ बहुमत ल्याएर सरकारको नेतृत्व गरेको प्रधानमन्त्रीलाई २०१७ मा नै कु गरेर महेन्द्रले उनी र उनका मन्त्रीलाई जेलमा कोचिदिए ।


अव प्रश्न उठ्छ दुई तिहाइ बहुमतको प्रधानमन्त्रीलाई राजाले कु गर्दा जनता सडकमा आएर अस्तव्यस्त किन गर्न सकेनन ? राजा महेन्द्र ठिक कि बिपि सदैव अनुत्तरित प्रश्नको रूपमा खडा भैरयो । राजा महेन्द्र ठिक भन्ने हो भने सँगै विकासको गतिमा लागेका राष्ट्र विकास दुर्त गतिमा गरे नेपाल पछाडि नै पर्यो बिपीलाई कु गरेर राजाले ठिक गरे भन्ने हो भने २०४६ पछि नेपालको सरकारको बागडोर बिपिकै अनुयायीले समाल्दा राजा महेन्द्रसँग १० वर्षको समय दिएमा सबै नेपालीलाई मध्यम वर्गीय परिवार बनाउन सक्ने अठोट बोकेका अनुयायी थिए आफ्नो लागि सफल भए तर देश र जनताको लागि बन्न सकेनन । तर पनि राजालाई जहानियाँ भन्ने आज उनै परिवारभन्दा बाहिर जान सकेका छैनन र संगठनमा पनि आफ्ना विश्वास पात्र भन्दा बाहिरका मानिस भित्राउन सकेका छैनन । आपसमा लडाई लडिरहेका छन ।


उनीहरू राजा र राणालाई निरकुंशको बिल्ला लगाए तर आफू निरकुंश भएको पत्तो पाएनन । राजनीतिमा त्यागले भरिएको सोच भएको व्यक्ति, लोभबाट टाढा रहेको शान्त प्रवृतिको व्यक्ति , नेहरूको रूपमा कार्यशैली अपनाउन सक्ने व्यक्ति हुनुपर्ने हो । विपि कोइरालाले जेल जर्नलमा लेखेका थिए उनी जवरलाल नेहरूलाई भेट्न जाँदा बलिरहेको मैनबत्ती निभाएर अर्को मैनबत्ती बालेका थिए । विपिले किन यसो गर्नुभएको भन्दा अगाडि सम्म म देशको काम गर्दै थिए ।त्यसैले देशको मैनबत्ती बाले तर अहिले तपाईँ मेरो पाउनको रुपमा हुनुहुन्छ । त्यसैले मैले आफ्नो खर्चको मैनबत्ती जलाए । हो त्यो सोच कहिले आउँछ नेपालमा ।


अहिले देखिएको छ राजा र राणा निरकुंश भन्नेहरू आफ्नो कार्यकर्तालाई दुश्मनको रूपमा हेरेका छन ।स्वार्थ मिल्नेहरूसँग जे गर्न पनि तयार तर आफ्ना सङ्गठनको कार्यकर्तालाई दुस्मनको रूपमा हेर्ने प्रवृत्ति नेपालको राजनीतिमा गिरिजा प्रसाद कोइरालाको उपज हो भन्दा फरक पर्दैन । उहाँले २०५२ सालमा आफ्नो बहुमतको सरकार ढलाएर मध्यावधिमा होमिदै गर्दा राष्ट्रको नाममा गरिएको सम्बोधनमा भनिएको थियो, म झुक्नेवाला छैन । त्यतिखेर काँग्रेसका सभासद्हरू ३६ र ७४ मा विभाजन भएका थिए ।


३६ को नेतृत्व शेरबहादुर देउवाले गर्नुभयो भने ७४ को गिरिजा प्रसाद कोइराला । तर विचारा कोइराला आफ्ना कार्यकर्तालाई इज्जत गर्न नसक्ने तर पछि गएर सत्ताको लागि सम्झौता नगरेको दल भएन होला सायद । यही सोच नेपालको लागि दुर्भाग्य भयो । देउवा गिरिजा विरोधमा जे भनेर लाग्नुभयो र जसरी विरोध गर्नुभयो आज त्यही अनुकरण गरेको अवस्था छ । यी र यस्ता सोचबाट बाहिर निस्किएर जनतालाई केन्द्रबिन्दु मान्न सक्नुपर्छ भगवान कृष्णका बालसखा सुदामा र सुदामाको बुढी वसुन्धराले जसरी । जसले त्याग गर्छ उसको नाम सुनौला अक्षरले लेखिन्छ । गणेशमानले प्रधानमन्त्री खाएनन उनी महान भए । त्यागमा रहेको शक्ति पहिचान गर्न सक्नुपर्छ । कि गर्नेको नाम लेखिन्छ कि त्याग गर्नेको नाम लेखिन्छ । राजनीतिमा कमिसन संस्थागत भयो जसले देशलाई उदोगतिमा लगेको छ । यसको हेक्का नेपालका राजनैतिक कर्मीले गर्नै पर्छ ।


हिजोको दिनमा नेपाली काँग्रेसका सभापति र देशका प्रधानमन्त्री आफ्नो लागि मात्रै हो आफू भन्दा अरूलाई दिनुहुँदैन भन्दै गिरिजाप्रसाद कोइराला लागे, त्यसपछि देउवा । गलत कुराको अनुसरण । आज पनि देउवालाई प्रधानमन्त्रीको मोह छ । तर के को लागि ?


विपिको प्रजातान्त्रिक सोच राम्रो तर त्यो प्राप्ति कसरी हुन्छ भन्ने कुराको व्याख्या मैले पाएको छैन । दर्शन स्पष्ट हुनपर्छ त्यो देखिदैन । आज प्रचण्डको राजनीति त्यही हालतमा छ । डाक्टर बाबुरामले २८ वर्ष पछि आएर देश कङ्गाल भैसकेपछि महसुस गरे । साम्यवाद सम्भव छैन । व्यक्तिको सम्पति हुनुपर्दो रहेछ । यही कुरा हिजो बुझेको भए गोली बारुदमा देशको रकम खर्चन पर्दैनथ्यो र त्यही गोलीले नेपाली मर्नु पर्दैनथ्यो । राजनीतिमा व्यक्ति हत्या गलत हिजो पनि थियो आज पनि गलत नै हुन्छ र भोलि पनि गलत नै हुनेछ ।


डाक्टर बाबुराम भट्टराईलाई जिउन र गाह्रो छैन तर नेपाल र नेपालीको लागि भने गणतन्त्र, प्रजातन्त्र, राजतन्त्र र राणाशासनको बीचमा भेद केही छैन। बोलेर मात्र वाच्न सकिदैन । बोल्नको लागि पनि शक्ति चाहिन्छ । शक्ति भोजनबाट प्राप्ति हुन्छ । भोजन रकमबाट प्राप्ति हुन्छ । रकमको प्राप्ति पसिनाबाट हुन्छ । पसिना सबैले समानुपातिक रूपमा चुहाउने अवसर पाउनपर्छ र ज्यालामा ठूलो विभेद हुँदैन । आजको आवश्यकता यही हो । यो सबै राजनीति कर्मीले बुझेर अगाडि बढ्नुपर्छ । तर पनि त्यो पाउन सकिएको अवस्था छैन ।


हिजोका राणा, राजा र अहिलको गणतन्त्रमा भएको फरक यति मात्र हो । राजाले श्री पेच लगाए गणतन्त्रका मालिकले लगाउन सकेका छैनन । काम गर्ने शैली त्यही छ । समानताको लागि र सामन्तवादको विरुद्धमा थालिएको विद्रोहले नेपाल र नेपालीका लागि के ल्यायो त । नयाँ बोतलमा पुरानो रक्सी जस्तै ।


काठमाडौँ महानगरपालिकाको २९ औँ दिवसमा सैनिक मन्चमा वर्तमान प्रधानमन्त्री सम्बोधन सुनेपछि मलाई लाज लाग्यो । उहाँले कसरी भन्न सक्नुभयो ? यो सैनिक मञ्चमा कि राजा कि सेनाले मात्र कार्यक्रम संचालन गर्थे तर आज हामीले पाएका छौ । यो भनाइ यतिखेर मात्र सार्थक हुनेथियो जुनबेला प्रधानमन्त्री आफ्नो अगाडि पछाडि सुरक्षा फौज नबोकि गएको भए ।


नेपालीले खोजेको गणतन्त्र के त्यही होत ? समानता कहाँ छ ? के मा छ ? के २०७२ को संविधानमा उल्लेख छ त ? लेखिएको छ दोधार रूपमा । मलाई फेरी लाज लाग्यो किनकि मैले बुझेको गणतन्त्रमा त जनता जनार्दन भन्ने बुझेको थिएँ। सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला यो कथा वैकुण्ठ जाला भन्ने बेला यो मुखमा आइजाला भन्ने लोकौति पूर्ण गणतान्त्रिक छ । स्टेजमा बसेर सम्बोधन गर्ने व्यक्तिको अर्थ दर्शक भए मात्र रहन्छ । दर्शक विनाको सम्बोधन अर्थहीन हुन्छ । त्यसैले दर्शक जर्नादन हुन अर्थात् जनता मालिक हुन र शासक वर्ग सेवक । जुनदिनसम्म यो सोच राजनैतिक कर्मीमा र राष्ट्रसेवकमा आउँदैन त्यो दिनसम्म न यहाँ समानता हुनेछ , न जनता जनार्दन रहनेछन न राष्ट्रको विकास नै ।


यही शहरका राजा धरहराको टुप्पोबाट काठमाडौँ नियाली सबैले खाना खाए भन्ने अनुभूति गरेपछि मात्र खाना खान्थे भन्ने कुरा नेपालको इतिहासमा पढन पाइन्छ । ती राजा महेन्द्र मल्ल थिए । उनी राजा भएर पनि गणतन्त्रवादी हुन । किनकि उनले अभिभावकत्व ग्रहण गरे।तर गणतन्त्रका नेताहरू आफूलाई मालिक ठानिरहेका छन ।


गणतन्त्रका वर्तमान प्रधानमन्त्री र राजनैतिक दलले गणतन्त्रको भाव बुझेको अवस्था छैन । समानता र संरक्षण सँग सँगै रहन सक्दैनन । समानतालाई मौलिक हक भित्र राखेको छ तर पशुपतिनाथको दर्शन गर्नको लागि त राष्ट्रपति प्रधानमन्त्री र अन्य प्रमुखहरुलार्ई मन्दिर प्रवेशको लागि स्थान खाली गराई उनीहरूलाई दर्शन गर्नको लागि सहज बनाइन्छ । मन्दिरमा रहेका भगवानको दर्शन गर्नको लागि त विभेद गरिने स्थानमा समानता छ भन्नु बेकार मात्र हो । किन गणतन्त्रका राष्ट्रपति प्रधानमन्त्री बिना सेना र प्रहरीको सुरक्षामा नलिइ जान सक्दैनन् । जनताले उनीहरूको संरक्षण गर्नुपर्ने होनि ।


हिजो राजा त्यही गतिमा जान्थे तर आज प्रधानमन्त्री र राष्ट्रपति वा अन्य मुख्य व्यक्तिहरू । प्रधानमन्त्री प्रचण्डले सेना र प्रहरी नलिकन खुलामञ्चमा बोल्दैगर्दा ल नेपाली जनता हेर्नुहोस तपाईँ र ममा केही फरक छैन तपाईँ जसरी आउनुभयो म त्यसरी नै आएको छु । राजा र सेनाले सम्बोधन गर्ने स्थानमा नेपाल सरकारको प्रधानमन्त्रीले सेना र प्रहरी बिना पुगी सम्बोधन गरेको भए त्यो भनाइमा दम हुनेथियो , त्यसको अर्थ रहने थियो तर त्यसो हुन सकेको छैन ।


गणतन्त्रमा त जनता मालिक हुनुपर्ने हो तर त्यो अनुभूति कहीँ हुन सकेको छैन । समानतालाई मौलिक हक भित्र संविधानमा रहे पनि यत्रतत्र असमानता छ । प्रधानमन्त्रीले लिने सहुलियत र एक सुरक्षामा खटिने सेना र प्रहरीको पारिश्रमिक हेरौँ त ? के समानता पाउनुहुन्छ त ? नेपालको राजनीतिमा प्रत्यक्ष प्रधानमन्त्री वा राष्ट्रपति शासन बाहेक सबैको प्रयोग भयो तर देश उदोगतिमा लागिरहेको छ ।


गरिब देशको पहिचान बनायो नागरिक बेच्ने देश बन्यो । युवा बिनाको देश बन्दैछ । नेपाली विद्यार्थी नरोक्ने हो भने नेपालका विश्वविद्यालयहरू चाँडै विद्यार्थी बिहिन बन्दैछन । अनि विस्तारै विद्यालयतहमा अध्यापन गराउने शिक्षकको खडेरी पर्ने छ । त्यसको आभास हुन थालिसकेको छ ।


त्यसैले भन्नैपर्छ नेपालीले खोजेको गणतन्त्र यस्तो होइन । वाद समस्या होइन सोच हो , प्रवृति हो । आचरण हो । दिनचर्या हो । गणतन्त्रले नेतृत्वलाई दिनानुदिन व्यङ्ग्य प्रहार गरिरहेको छ । यसको निराकरणको आवश्यकता छ । यो सम्भव छ । गौतम बुद्धले श्रीपेच त्यागे भगवान बने, राजा बलीले दानीको नाम कमाए ।


काठमाडौँ महानगरपालिकामा स्वतन्त्र व्यक्ति नगर प्रमुखको रूपमा बालेन्द्र शाहलाई देख्न पाउँछौ । काम गर्ने शैली आक्रामक छ, त्यो राम्रो पक्ष हो । शिक्षा विनाको समाज राम्रो बन्दैन भन्ने सोचमा रहेर नै होला शिक्षामा महत्वकांक्षी सोचका साथ अगाडि बढ्दै गर्दा केही कानुनी अर्चन देखापरेका छन । विद्यालयमा प्रधानाध्यापक महत्वपूर्ण पक्ष हो भन वर्तमान अवस्थामा विद्यालय व्यवस्थापनि समिति त्यतिकै महत्वपूर्ण छ । वर्तमान शिक्षा ऐनमा प्रत्येक वडाको वडा अध्यक्ष पदेन सदस्य भएको स्थानमा पदेन व्यवस्थापन समितिको अध्यक्ष बनाउँदै गर्दा मुद्दा अदालत पुग्यो । यसले अन्योल सिर्जना गर्याे । यो गलत तरिकाले बुझाइयो जस्तो लाग्छ ।


काठमाडौँ लगायत देशैभरी कैयौँ विद्यालयमा माध्यमिक विद्यालय छ तर प्राइमरी वा निमावि तहको शिक्षक प्रधानाध्यापक छ । यसको निराकरणको लागि विज्ञापन गर्यो शिक्षा विभाग काठमाडौँले । केही विद्यालयका प्रधानाध्यापकलाई छोडेर अधिकांश विद्यालयमा प्रधानाध्यापक लागि विज्ञापन गरियो । यो कार्य गर्नको लागि शिक्षा विभाग काठमाडौँले प्रत्येक विद्यालयको विद्यालय व्यवस्थापन समितिलाई ४५ दिन भित्रमा प्रधानाध्यापक चयन गर्नको लागि निर्देशन गरेको भए यो काम विना विवाद टुङ्गिने थियो । सहज हुने कामलाई असहज बनाइयो । यो गलत सल्लाहको उपजमा राम्रो काम हुँदाहुँदै पनि अस्थिरता सिर्जना भयो । शिक्षा अधिकारी सहित सबैले सही तरिकाले लाग्नुपर्ने थियो । वर्तमान काठमाडौँ महानगरपालिका राम्रा कामको थालनी गर्ने खोजेता पनि गलत बाटो अँगाल्दा असहज हुन्छ । त्यस्ता कार्यमा लाग्नुभन्दा अगावै कानुनी रूपमा सल्लाह लिएर मात्र कार्य थालेमा सुन्दर हुने थियो । त्यो पाटो महानगरपालिका चुकिरहेको छ । काठमाडौँका सडकमा परिवर्तन देखिएको छ तर पनि अझै सडक नपुगेका स्थानहरू बाँकी नै छन ।


त्यसैले समग्रमा सबैले आत्मसाथ गर्नुपर्छ : मानिसले बोकेर हिडेको शरीर पनि अर्थहीन हुन्छ जुन दिन आत्माले साथ छोड्छ । गलत तरिकाबाट आर्जित सम्पत्ति अर्थहीन हुनेछ । सबै नेपाली नागरिकले आ आफ्ना स्थानबाट आफ्नो कर्तव्य पुरा गरेमा परिवार, टोल, समाज हुँदै देशको विकास दुर्त गतिमा गर्न सकिने छ । देशको समस्या राजनैतिक वाद हुँदै होइन, समस्या लोभ हो । आचरण हो । अर्थात् कवि शिरोमणि लेखनाथ पौडेलले तलका शब्दमा पस्किएको भावलाई छोडिदिने हो भने मै खाउँ मै लाँउ सुख सयल वा मोज म गरु मै बाँचु मै नाचुँ , अरु सब मरुन दुर्बलहरू ।


यति सुन्दर देश अझै सुन्दर बन्नेछ । देशको विकासको लागि सबै एक ढिक्का भएर लागेमा सम्भव छ । लोभ त्यागौ कर्तव्यको पालना गरौँ , सबै सम्भव छ । । हावा, पानी, जनशक्ति, र माटोले सिर्जिएको देशलाई यीनै स्रोतहरूको सदुपयोग गर्न सकेमा यो देश चाँडो विकासको गतिमा अगाडि बढ्नेछ । यसको कला संस्कृतिको जगेर्ना गर्दै विश्व सामुमा आफूलाई यहाँको विविधता हेर्नको लागि लोभ्याउन सक्ने बनाउनुपर्छ । यो देशमा आधुनिक विकासले फड्को मारेमा सुनमा सुगन्ध जस्तै हुनेछ ।
(लेखक चन्द्र कान्त पण्डित पशुपति मित्र माध्यमिक विद्यालय चाबहिलका शिक्षक हुन् ।)