त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज हुँदै

काठमाडौँ /२ पुस – त्रिभुवन विश्वविद्यालयले आज आयोजना गरेको ४९ औँ दीक्षान्त समारोहमा आज हुँदैछ । दशरथ रङ्गशालामा आयोजना गरिएको समारोहमा १२ हजार ४ सय १५ जना विद्यार्थी दीक्षित हुँदैछन् ।


राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहेको दीक्षान्त समारोहमा बिहान १० बजेदेखि विद्यार्थीहरूका लागि प्रवेश खुला गरिनेछ भने साढे ११ बजेबाट औपचारिक कार्यक्रम सुरु गर्ने कार्यक्रम तालिका रहेको छ ।


२०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका विद्यार्थीमध्ये अनलाइन मार्फत आवेदन दिएका विद्यार्थीहरूले दीक्षित समारोहमा भाग लिनेछन् ।


त्यसैगरी एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गराइँदै छ । उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै एमफील र पीएचडी तर्फगरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने तालिका रहेको त्रिविले जनाएको छ ।