काठमाडौँ /२ पुस – विद्यालय बाहिर रहेका बालबालिका विद्यालय फर्काउन र निम्न सिकाई भएका बालबालिकाको सिकाई स्तर वृद्धि गर्न प्रधानाध्यापकको प्रभावकारी भूमिका रहनुपर्ने पाइएको छ । काठमाडौँ विश्वविद्यालयको डिजिटल लर्निङ रिसर्च ल्याबले कमलामाई नगरपालिका र सिन्धुलीगढी नगरपालिकाका ३५ जना शिक्षकमा गरिएको सर्वेक्षणले विद्यार्थीको सिकाईसँगै विद्यालय छाड्ने विद्यार्थीहरूलाई विद्यालय फर्काउन प्रधानाध्यापकको प्रभावकारी भूमिका रहने पाइएको हो ।
३५ जना प्राध्यपकहरूसँग सानो सानो समूह बनाएर सर्वेक्षण गरिएको र विद्यार्थीका समस्या पत्ता लगाएर समाधान गर्नका लागि पिडिएसए (प्लान, डु, स्टडी, एक्सन) साइकलले काम गरेको जानकारी दिइएको थियो । आइतवार एक कार्यक्रमको आयोजना गर्दै विद्यार्थीले बिचमै विद्यालय किन छोड्छन ? विद्यालय निरन्तर हुन नसक्नुका कारण के के छन् ? उनिहरूलाई के समस्या छ ? लगायतका विषयमा प्रधानाध्यापकले खोजी गरी विद्यार्थीलाई विद्यालय फर्काउन सफल भएकोले यो विधि सबै स्थानीय तहले अनुसरण गरे राम्रो हुने विश्वविद्यालयले जनाएको छ ।
त्यसैगरी विद्यालयले समुदायमा बलियो सम्बन्ध स्थापित गरी विद्यालय तथा विद्यार्थीमा देखिएका समस्याको समाधान खोज्न सके सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुने सर्वेक्षणले देखाएको छ । पालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकहरूले एक आपसमा समस्या आदान प्रदान गर्दा समाधान पनि त्यहीबाट निस्किने हुँदा विद्यालयबिचको सञ्जाल स्थापित गर्नुपर्ने आवश्यक रहेको काठमाडौँ विश्वविद्यालय कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागका एसोसिएट प्रोफेसर डा. सुशील श्रेष्ठले बताए ।
उनले दुई पालिकामा गरिएको सर्वेक्षणले विद्यार्थीहरूले विभिन्न कारणले विद्यालय छोड्ने गरेको पाइएको र उनिहरूको बारेमा विद्यालयले रेकर्ड राखेर विश्लेषण गरी अभिभावकलाई भेटेर कुराकानी गर्दा पुनः विद्यालय फर्किने गरेको बताए । साथै आर्थिक अवस्थाका कारण विद्यालय छोडेका विद्यार्थीलाई सहयोग गर्न सके विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउन सकिने उनको भनाई थियो । श्रेष्ठले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूका लागि स्थानीय पालिका, वडा, विद्यालय व्यवस्थापन समिति र संस्थाहरूसँग सहकार्य गर्न आवश्यक रहेको बताए ।
कमलममाई नगरपालिकामा रहेको सहिद आधारभूत विद्यालयकी प्रधानाध्यापक मेनुका सुवेदीले पिडिएसए साइकलमा रहेर काम गर्दा विद्यार्थीको सिकाईमा वृद्धि भएको बताइन । काठमाडौँ विश्वविद्यालयले निर्माण गरेको आइटी सम्बन्धी कोर्स लिएर त्यसैका अधारमा पठनपाठन गर्दा विद्यार्थीमा परिवर्तन आएको उनको भनाई थियो । बालबालिकाले कसरी सोचेका छन्, शिक्षकले ख्याल गर्नुपर्छ, उनिहरूको मनोविज्ञान बुझेर शिक्षण सिकाई गर्दा प्रभावकारी हुने यसबाट मैले सिके उनीले भनिन् ।
सुवेदीले पिडिएसए साइकलका कारण निरन्तर विद्यालय नआउने, बिचमै विद्यालय छाड्ने, निम्न सिकाई भएका विद्यार्थी भित्र रहेर पिडिएसए साइकल बनाई सम्बन्धीत अभिभावकलाई बोलाएर सहयोग गर्न आग्रह गरेको बताइन । त्यसैगरी निम्न सिकाई भएका विद्यार्थीलाई विद्यालयको कक्षा सकिएपछि समस्या पत्ता लगाएर शिक्षण सिकाइ गरिएको जानकारी दिइन । यसरी सानो सानो समस्यालाई पत्ता लगाएर समस्या समाधान गर्न सकिने र विद्यार्थीलाई विद्यालय फर्काउन सकिएको अनुभव आफूले गरेको उनको भनाई थियो ।
बेलायतको खुला विश्वविद्यालयकी प्रोफेसर फ्रेडा वेलफेन्डेनले सामुदायिक विद्यालयका प्रधानाध्यपकहरूको नेतृत्व विकासमा, विद्यालय व्यवस्थापनमा र शिक्षण सिकाईमा ध्यान दिनुपर्ने र यसका लागि स्थानीय तहले प्रधानाध्यापकलाई सहयोग गर्न आवश्यक भएको बताइन । साथै विद्यालय बाहिर रहेका विद्यार्थीहरूलाई समावेश गर्न स्थानीय तहले प्रधानाध्यापकलाई सहयोग गर्दै अगाडि बढ्न आग्रह गरिन ।
काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्रा.डा. बालचन्द्र लुइटेलले सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री अभाव हुँदा शिक्षण सिकाई प्रभावकारी हुन नसकेको बताए । विभिन्न संघ संस्थाहरु विद्यालयलाई सहयोग गरेपनि दिगो हुन गाह्रो रहेकोले सरकारले यस सम्बन्धी योजना बनाउन आवश्यक रहेको उनको भनाई थियो ।



