काठमाडौँ /२९ मंसिर – कानुन, न्याय मन्त्री धनराज गुरुङले राजनीतिक दलका नेताहरूलाई नैतिक शिक्षा पढाउनु पर्ने बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याबेसन)ले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको उद्घाटनमा बोल्दै आफू लगायत नेताहरूलाई नैतिक शिक्षा पढाउन आवश्यक भएको बताएका हुन् ।
उनले शैक्षिक क्षेत्रमा खराबी आए देशमै खराबी आउने र देशका नेताहरूमा नैतिक नभएको भन्दै यसका लागि आफू जस्तै सबै नेताहरूलाई नैतिक शिक्षा पढाउँदा राम्रो हुने बताए ।
त्यसैगरी मन्त्री गुरुङले पछिल्लो समयमा लाखौँ विद्यार्थीहरू विदेशीने गरेको अवस्थामा निजी विद्यालयहरूले नेपाललाई एजुकेशन हब बनाउन तर्फ लाग्नु पर्ने बताए । उनले निजी विद्यालयमा सबै धनीका छोराछोरीले मात्रै पढ्ने गरेको आरोप लाग्ने गरेको बताउँदै गिटी कुटेनेले पनि पढाउने गरेकोले निजी विद्यालयमा छात्रवृत्तिको ढोका बन्द गर्न नहुने र यसबारेमा छलफल गर्न आवश्यक रहेको बताए ।
साथै विद्यालय शिक्षा विधेयक शिक्षा समितिमा पुगेको बताउँदै ऐन आउने प्रक्रिया निकै ढिला भएको र सबै सरोकारवालाहरू मिलेर छिटो भन्दा छिटो ल्याउनु पर्नेमा जोड् दिए ।



