काठमाडौं /२८ मंसिर – राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय सुधारका लागि खुला प्रतिस्पर्धा मार्फत क्षमताका आधारमा उपकुलपति तथा पदाधिकारी छनोट गर्नुपर्ने बताएकी छन् । चरम राजनीतिक हस्तक्षेपका कारण विश्वविद्यालय आक्रान्त बनाइएको भन्दै खुला प्रतिस्पर्धा मार्फत क्षमताका आधारमा उपकुलपति तथा पदाधिकारी छनोट गर्नुपर्ने बताएकी हुन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै पछिल्ला नियुक्तिहरू राजनीतिक नेतृत्वले आफ्ना पेसागत भातृसङ्गठन वा दलीय निकटताका आधारमा कामकाजी छनोट समिति मार्फत गरिरहेको स्पष्ट देखिएको र विकृतिको मूल कडी त्यहीँबाट सुरु भएको बताएकी छन् । परीक्षा लिने, नतिजा प्रकाशन गर्ने जस्ता एकदमै नियमित र आधारभूत कार्य समेत समयमा नहुँदा विद्यार्थीमा चरम निराशाको अवस्थामा पुगेको समेत उल्लेख गरेकी छन् ।
श्रेष्ठले भनेकी “छन् आफ्ना निकटस्थलाई उपकुलपति नियुक्त गरि विश्वविद्यालयमा चरम बेथितिको अवस्था सिर्जना गर्ने प्रधानमन्त्री ९कुलपति० नै पूर्ण जिम्मेवार हुन् । पछिल्ला नियुक्तिहरू राजनीतिक नेतृत्वले आफ्ना पेशागत भातृसङ्गठन वा दलीय निकटताका आधारमा कामकाजी छनोट समिति मार्फत गरिरहेको स्पष्ट देखिन्छ र विकृतिको एउटा मूल कडी यहीँ बाट सुरु हुन्छ । राजनीतिकरणको बिउ रोपिन्छ । पूरै विश्वविद्यालयको संरचनामा दल निकट शिक्षक र कर्मचारी भर्ती गरिन्छ । परिणाम हामी भोगिरहेकै छौँ । आफ्ना निकटस्थलाई उपकुलपति नियुक्त गरि विश्वविद्यालयमा चरम बेथितिको अवस्था सिर्जना गर्ने प्रधानमन्त्री ९कुलपति० नै पूर्ण जिम्मेवार हुन् ।”
यस्तो छ सुमनाको भनाई :
सम्भवतः पछिल्ला केही वर्षहरूमा नेपालको उच्च शिक्षालाई लिएर गम्भीर बहस चलीरहेको छ । विशेषगरि त्रिभुवन विश्वविद्यालयको गिर्दो अवस्था र सुधारका विषयमा व्यापक छलफल भएका छन् । संसददेखि मिडियासम्म त्रिविका बारेमा लगातार प्रश्नहरू उठिरहेका छन् । सुधारका निम्ति चारैतिरबाट व्यापक दबाब छ । तर राजनीतिक दलको आडमा महिनौँसम्म तालाबन्दी, अराजकता र आपराधिक गतिविधि नै हाम्रो नियति बन्न पुगेको छ । चरम राजनीतिक हस्तक्षेपले विश्वविद्यालय आक्रान्त बनाएको छ । शैक्षिक प्रतिस्पर्धा र उन्नयनका विषय वर्षौँदेखि छायाँमा परेका छन् । परीक्षा लिने, नतिजा प्रकाशन गर्ने जस्ता एकदमै नियमित र आधारभूत कार्य समेत समयमा नहुँदा विद्यार्थीमा चरम निराशाको अवस्था छ । त्रिविबाट प्राप्त हुने शैक्षिकस्तर र भविष्यप्रति आम विद्यार्थीको भरोसा र विश्वास व्यापक रूपमा घट्नु चिन्ताजनक विषय हो । यसले सार्वजनिक शिक्षामा गरिएको खर्चमाथि प्रश्न उठाएको छ । मूल नेतृत्वको रूपमा वर्तमान र पूर्व प्रधानमन्त्रीहरू माथि सबैभन्दा ठूलो प्रश्न उठिरहेको छ ।
यसै सन्दर्भमा, त्रिभुवन विश्वविद्यालयमा आगामी ४ वर्षका लागि उपकुलपति सहित अन्य पदाधिकारीको चयन हुँदैछ । विशेषतः उपकुलपतिको नियुक्ति र छनोट प्रक्रियाले अन्य रेक्टर, रजिस्ट्रार, डीन लगायत पदाधिकारी र कर्मचारी छनोटमा ठूलो अर्थ राख्छ । पछिल्ला नियुक्तिहरू राजनीतिक नेतृत्वले आफ्ना पेसागत भातृसङ्गठन वा दलीय निकटताका आधारमा कामकाजी छनोट समिति मार्फत गरिरहेको स्पष्ट देखिन्छ र विकृतिको एउटा मूल कडी यहीँ बाट सुरु हुन्छ । राजनीतिकरणको बिउ रोपिन्छ । पूरै विश्वविद्यालयको संरचनामा दल निकट शिक्षक र कर्मचारी भर्ती गरिन्छ । परिणाम हामी भोगिरहेकै छौँ । आफ्ना निकटस्थलाई उपकुलपति नियुक्त गरि विश्वविद्यालयमा चरम बेथितिको अवस्था सिर्जना गर्ने प्रधानमन्त्री (कुलपति) नै पूर्ण जिम्मेवार हुन् । त्यसैले अबको उपकुलपति छनोट प्रक्रियालाई लिएर प्रधानमन्त्रीसँग हाम्रा केही प्रश्नहरू छन् ।
क. अध्यापन र अनुसन्धान भन्दा बढी राजनीतिक गतिविधिमा संलग्न रही नियुक्ति वा बढुवा लिनेलाई थप पुरस्कृत गर्ने कि जवाफदेही बनाउने नयाँ विधि स्थापित गर्ने ?
ख. त्रिवि सुधारका निम्ति खुला प्रतिस्पर्धा मार्फत क्षमताको आधारमा उपकुलपति छनोट गर्ने कि आफू अनुकूलका निकटस्थलाई जिम्मा लगाई विश्वविद्यालयमा अप्रत्यक्ष हालीमुहाली कायम राख्ने ?
ग. त्रिविमा स्पष्ट कार्य योजना, दृढ इच्छाशक्ति र विवादरहित छवि भएको नेतृत्व छान्ने कि विगतकै दूषित परम्परालाई निरन्तरता दिने ?
घ. त्रिवि सुधारको आशा जगाउने कि निर्लज्ज बेथितिलाई निरन्तरता दिइरहने ?
ङ. त्रिविमा व्याप्त रहेको प्राध्यापकमाथि आक्रमण गर्ने, कालोमोसो दल्ने लगायतका आपराधिक राजनीतिक मनोविज्ञानलाई निरुत्साहित गर्ने कि गुणस्तरहीन जमात मार्फत ती प्रवृत्तिलाई प्रश्रय दिएर राजनीतिक अखडा बनाइराख्ने ?
अन्त्यमा, सबै सरोकारवालाहरूलाई यो प्रक्रियालाई नजिकबाट हेर्न र थप दबाब सिर्जना गरि खुला प्रतिस्पर्धा मार्फत क्षमताका आधारमा उपकुलपति छनोट गर्ने कुराको सुनिश्चितता गर्न आह्वान गर्दछौँ । हामी निरन्तर लागिरहेका छौँ । हामीले हाम्रो प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य, तथा सूचना प्रविधि समितिका सभापतिलाई यस बारेमा सोधेका छौँ । औपचारिक रूपमा चिठी समेत बुझाउने तयारीमा छौँ र हामीले केही नेपाल ऐन संशोधन गर्ने विधेयकमा पेस गरेको संशोधन प्रस्ताव – विश्वविद्यालयमा राजनीतिक पृष्ठभूमिका कुलपति, सहकुलपति र उपकुलपति हुन नहुने विचारमा दृढ र अडिग छौँ ।
निरन्तर प्रश्न गरौँ, दबाब सिर्जना गरौँ । त्रिवि सुधारको प्रारम्भ आजैबाट, यहीँबाट गरौँ ।



