बेलायत/२८ मंसिर – बेलायत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विद्यार्थीका समस्यालाई प्राथमिकता राखिने बताएका छन् । बेलायत अल्डरसटस्थित एम्पाएर हलमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थीका माग सम्बोधन गरिने बताएका हुन् ।
उनले देश विकासमा विदेश बस्ने नेपालीहरूको ठुलो भूमिका रहेको बताए । ‘एक पटकको नेपाली संधैको नेपाली’ भन्ने आफ्नो पार्टीको धारणा रहेको बताउँदै एक पटक आफ्नो पार्टीलाई देश बनाउने जिम्मा दिन समेत आग्रह गरे ।
आफू पनि विदेशमा बसेको र विदेश बस्ने नेपालीको समस्याबारे भुक्तभोगी भएकाले यस सम्बन्धमा संसद्मा बारम्बार आवाज उठाउने गरेको उनले बताए ।
बेलायतमा विद्यार्थीहरूले ठुलो समस्या भोग्नुपरेको विषयमा आफू जानकार भएको र यसका लागि आफू र आफ्नो पार्टीको तर्फबाट सक्दो पहल गर्ने र बेलायतमा एउटा ‘हेल्प डेस्क’ सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए । यहाँका नेपालीहरूले भोग्नुपरेका समस्यालाई उक्त हेल्प डेस्कमार्फत समस्या समाधान गर्न आफ्नो पार्टीले काम गर्ने भएकाले यसका लागि सहयोग गर्न उनले बेलायतवासीसँग आग्रह पनि गरेका छन् ।
रास्वपा ‘प्रवास नेपाली सम्पर्क विभाग युके’ का सभापति पवन शर्मा, प्रवास सम्पर्क विभागका महामन्त्री राजु कँडेल, प्रवक्ता विष्णु चालिसेसहित कमिटीका सदस्यहरूलगायतले विभिन्न स्थानमा आयोजना गरिएका कार्यक्रम संयोजन गरेका थिए । लामिछानेले बेलायत भ्रमणका क्रममा स्वीन्डन, बर्मिङहम, प्लमस्टिड र अल्डरसटमा सम्बोधन गरेका थिए ।



