काठमाडौं विश्वविद्यालयको अग्रसरतामा आलुको बीउ उत्पादनबारे तालिम

काभ्रे/२५ साउन-आलुको पूर्व मुल बीउ उत्पादनमा “एरोपोनिक प्रविधि”को प्रयोगबाट रोग रहित आलुको बीउ उत्पादनबारे पनौतीका आलु उत्पादक अगुवा कृषकहरुलाई तालिम सम्पन्न भएको छ । काठमाडौं विश्वविद्यालय आई.आरडी. पिएन.टि.आईसी. र खाद्यान्न तथा बीउ आलु अलैंची तथा फलफुल नर्सरी उद्योगको साझेदारिमा “आलु उत्पादनमा रोग रहीत पूर्व मूल बीउको प्रयोगसम्बन्धी तालिम” संचालन गरिएको थियो ।

पनौती नगरपालिकाका मेयर श्रीराम शरण भण्डारीको प्रमुख आतिथि रहेको उक्त कार्यक्रम काठमाडौं विश्वविद्यालय, जैविक प्रविधिविभागका प्रमुख प्रा.डा. सुबोध कुमार उपाध्यायको अध्यक्षता सम्पन्न गरिएको थियो ।


पनौतीको वडा नं. ३ मा आलु खेतीका विज्ञहरुबाट कृषकहरुलाई साउन २१ र २२ गते पूर्व मुल वीउका विभिन्न विषयवस्तुहरुमा सैद्धान्तिक र प्रयोगात्मक विधिको माध्यमबाट २५ जना कृषक तालिम दिइएको थियो । आलुखेतीका प्रशिक्षक श्याम प्रसाद ढकालले आलुको विभिन्न जात, रोग तथा किरा सम्बन्धि कृषकहरुलाई जानकारी गराएका थिए ।


त्यसैगरी प्रशिक्षक शम्भु प्रसाद धितालले आलुलाई रोगमुक्त बनाउने वैज्ञानिक तरिकाबारे जानकारी गराए । काठमाडौं विश्वविद्यालयका प्राध्यापक र परियोजनाका प्रमुख डा. धुब्र प्रसाद गौचन तथा प्रशिक्षक डा.शम्भु प्रसाद धितालले तन्तु प्रजनन् प्रविधि सम्बन्धि कृषकहरूलाई सैद्धान्तिक जानकारी गराई त्यसको प्रयोगात्मक विधिको प्रदर्शनी गराएका थिए ।


डा. गौचनले सम्पूर्ण सहभागि कृषकहरुलाई एरोपोनिक प्रणालीको जानकारी गराएका थिए भने यस परियोजनाका अनुसन्धानकर्ता दुर्गेश काफ्लेले कृषकहरुलाई एरोपोनिक प्रणालीको भ्रमण साथै यस प्रणालीमा बीउ रोप्ने विधिको अभ्यास गराएका थिए । तालिम सम्पन्न भए पश्चात आयोजकबाट सहभागी कृषकहरुलाई तालिमको प्रमाण पत्र प्रदान गरिएको थियो ।


काठमाडौं विश्वविद्यालयको जैविक प्रविधि विभागले केयु आईआरडिपी एनटिआइसीको आर्थिक सहयोगमा रोग रहित आलुको पूर्व मूल वीउ उत्पादनका लागि नेपालमा पहिलो पटक एरोपोनिक प्रविधिको उद्घाटन तथा प्रविधि हस्तान्तरण साउन २ गते खाद्यान्न तथा बीउ आलु अलैंची तथा फलफुल नर्सरि उद्योगलाई गरेको थियो ।