शिक्षण सिकाइमा एकीकृत परियोजना विकासको आवश्यकता

काठमाडौं/२५ साउन-परिवर्तशील समय र सन्दर्भसँगै शिक्षण प्रक्रिया,शिक्षकको भूमिका र सहजीकरणमा आएका व्यापक परिवर्तनलाई आत्मसात् गरी परिमार्जन गरिएको र नेपाल सरकारको नयाँ पाठ्यक्रमले समेत निर्धारण गरेको एकीकृत सिकाइ प्रणाली सम्बन्धी एकदिने छलफल कार्यक्रम सम्पन्न भएको छ । परम्परागत शिक्षक केन्द्रित अथवा प्रवचनमुखी (रेडियो शिक्षक) शिक्षणको अवस्था (सूचनात्मक) देखि शिक्षक विद्यार्थी अन्तरक्रियात्मक, संवादात्मक, छलफल र गतिविधिको सुधारात्मक (टेलिफोन शिक्षक) अवस्था हुँदै एक्काइसौँ शताब्दीको परिवर्तित समाज, समय, प्रविधिको विकास र भूमण्डलीकरणको परिप्रेक्षलाई समेत कक्षाकोठामा भित्राउनु पर्ने सन्दर्भ र कतिपय सुक्खा मानिएका विषयलाई कसरी प्रभावकारी, रोचक र विद्यार्थीको रुचिअनुरूप एकीकृत रूपमा सिकाउने भन्ने कुरो छलफलको मुख्य विषय रहेको थियो ।


कुनै खास विषय, परियोजना र शीर्षकमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला, गणित, भाषा, सङ्गीत आदि विविध पक्षहरू समावेश गरी विद्यार्थीले रुचिअनुसार कसरी एकीकृत रूपमा सिक्छन् र बुझ्न सक्छन् भन्ने विद्यामिश्रित सिकाइ नै एकीकृत सिकाइ हो । त्यसै सन्दर्भमा व्यापक र गहन छलफल, अन्तरक्रिया र एकीकृत परियोजनाका नमुना निर्माण र प्रस्तुतीकरण समेत गरिएको थियो ।


कक्षाकोठालाई विश्व परिवेश सामु जोड्नु पर्ने सिकाइको फराकिलो आयाम र वर्तमान एकिकृत सिकाइको नवीनतमा मान्यता स्टिम एजुकेसनको अवधारणामा आधारित परियोजना विकास कार्यशालमा विशेष गरी विषयगत र विधागत विभिन्नतालाई एकीकृत ढङ्गबाट कसरी फलदायी र विद्यार्थीको रुचि, खुबी र क्षमता अनुरूप प्रस्फुटन गराउने भन्ने विषयमा कार्यशाला मूलत : केन्द्रित थियो ।


कार्यशालामा अर्को महत्त्वपूर्ण विषय खोजमुलक शिक्षण कार्ययोजना र यसका मुख्य चरणहरू, जोड्नु, रोचकता थप्नु, खोजीगर्नु, निर्माणगर्नु र व्यक्तगर्नु लगायतका उपशीर्षकमा आधारित भएर पनि कार्यशालमा सहभागी शिक्षकहरूले गतिविधि, पाठयोजना निर्माण र प्रस्तुति गरेका थिए ।


ज्यादै व्यावहारिक र सान्र्दभिक उक्त कार्यशालामा व्यक्तिवादको चरण प्रभावले जड बन्दै गएका नयाँ पुस्तालाई विषयगत दक्षता र क्षमतामा मात्र नभई एकीकृत सिकाइमा मानव मूल्य, नैतिकता, जिम्मेवारी, उत्तरदायीर असल नागरिकको रुपमा विकास गराउन पाठ्यक्रमले विद्यालय स्तरका बालबालिकाबाट चाहेका अपेक्षा पूरा गर्न एकीकृत रूपमै सबै शिक्षक शिक्षिकाले समान र उत्तरदायी भूमिका निभाउनु पर्ने कुरामा समेत जोड दिइएको थियो । खास गरी सिकाइ कक्षाकोठादेखि समुदायसम्म र समुदायबाट विश्व परिवेशसम्म नै जोड्ने हुनुपर्छ भन्ने कुरामा सहभागी शिक्षकहरू समेत सहमति रहेको थियो ।


सिकाइ पूर्व अनुभव, खोजी, सन्दर्भ, स्मरण, बुझाइ, प्रयोग, विश्लेषण, निर्माण, निर्णय र प्रस्तुतिबाट सम्पन्नहुन्छ भन्ने मूलभूत मान्यतामा केन्द्रित उक्तकार्यशालालाई काठमाडौँ विश्वविद्यालय स्टिम एजुकेशन विभागका उप–प्राध्यापक विनोदप्रसाद पन्तले सहजीकरण गरेका थिए । दि एक्सेल्सियर स्कुलको प्रेक्षालयमा सम्पन्न उक्त कार्यशालामा विद्यालयका करीब ८० शिक्षकहरूको सहभागिता रहेको थियो ।