काठमाडौं/२२ साउन आफ्ना माग पुरा गराउनका लागि विद्यालय कर्मचारी परिषद्का पदाधिकारीहरु आफ्ना आन्दोलनका कार्यक्रमहरु थाती राख्दै मन्त्रालय र राजनीतिक दलका नेतृत्वहरुसँगको भेटलाई तिब्र बनाएका छन् । असार २६ गते विद्यालय कर्मचारीको तलबमान कायम गर्न पहल गर्ने र सो विषयलाई सङ्घीय शिक्षा ऐनमा समावेश गर्ने सहमति पछि आन्दोलनलाई रोकेर दैनिक जसो उनीहरु मन्त्रालय र विभिन्न दलका नेताहरुलाई भेटीरहेका छन् ।
चरणबद्ध आन्दोलन र ३९ दिन लामो रिले अनसनपछि शिक्षा मन्त्रालयले उनीहरुका माग सम्बोधन गर्न सहमति जनाएको थियो । तर, सरकारले विद्यालय शिक्षासम्बन्धी विधेयक संसदमा पठाउने निर्णय गरेसँगै माग सम्बोधन हुनेमा उनीहरु ढुक्क छैनन् ।
शिक्षा मन्त्रालयसँग सहमति भैसकेको र आफ्ना मागहरु सरकारले जसरी पनि सम्बोधन गर्नुपर्ने बताउँदै सरकारले विद्यालय कर्मचारीका माग शिक्षा ऐन मार्फत सम्बोधन नगरे सम्पूर्ण विद्यालय कर्मचारीहरु परिवार सहित सिंहदरवार घेर्न आउने अध्यक्ष गंगाराम तिवारीले बताए ।
अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तीनाथ योगीसहित २५ जनाको टोलीले आज पनि संसदभवन अगाडी पुगेर सांसदहरुसँग भेटगरी आफ्ना मागका बारेमा बताएका छन् । झोलामा सहमतिपत्र र माग बोक्दै हिडेका उनीहरु कहिले मन्त्रालय, कहिले बालुवाटार, त कहिले संसदभवन पुग्ने गरेका छन् ।
न्युन तलबमा काम गर्दै आएका विद्यालय कर्मचारीहरुले तलब वृद्धि, दरबन्दीको व्यवस्था लगायत विभिन्न सेवा सुविधाका लागि माग राख्दै आएका छन् ।



