उमेर सुहाउँदो शिक्षा दिन नसक्नु इसिडी शिक्षाको चुनौती

ललितपुर/२० साउन- विगात २२ वर्षदेखि पूर्व प्राथमिक र प्राथमिक विद्यालयका शिक्षक, नेतृत्व वर्ग र अभिभावकहरुलाई विभिन्न तालिम प्रदान गर्दै आइरहेको अर्लि चाइल्डहुड एजुकेशन सेन्टरले २२ औं वार्षिक उत्सवको अवसरमा आफुलाई इसिइसि इनोभेसन इन एजुकेशनमा रुपान्तरण भएको घोषणा गरेको छ । शुक्रबार ललितपुरमा शिक्षाविद्, शिक्षाकर्मी, विद्यालयका प्रिन्सिपल लगायतको उपस्थितिमा कार्यक्रमको आयोजना गर्दै रुपान्तरणको घोषणा गरेको हो ।


२००१ मा दुई दिनको छोटो पाठ्यक्रम निर्माण गरी शिक्षक तालिमको सुरुवात गरेको उक्त संस्थाले हाल आएर राष्ट्रिय र अन्तराष्ट्रिय विश्वविद्यालयहरुसँगको समन्वय र सहकार्यमा एक वर्षे शैक्षिक कार्यक्रम निर्माण गरी शिक्षक तालिम सञ्चालन गरिरहेको छ ।


शिक्षकहरुको आवश्यकतालाई ध्यानमा राख्दै पाठ्यक्रमहरु निर्माण गरी शिक्षक तालिम सञ्चालन गर्न र शिक्षा क्षेत्रमा योगदान पुर्याउने प्रतिबद्धताका साथ बालबालिकाहरुको सिकाई र आधारभूत शिक्षामा केन्द्रीत रहेर काम गरिरहेको छ ।


कार्यक्रमकी प्रमुख अतिथि खुला विश्वविद्यालयकी उपकुलपति डा.शिलु बज्राचर्यले शिक्षा देश विकासको मेरुदण्ड रहेको बताउँदै दक्ष जनशक्ति निर्माणका लागि विद्यालय तहबाट नै उनीहरुलाई बुझउन अवश्यक रहेको बताईन । उनले देशमा गरिबीलाई न्युनिकरण गर्नका लागि राज्यले शिक्षामा लगानि बढाउनुपर्ने धाराणा राखिन ।


इसिइसि इनोभेसन इन एजुकेशनकी संस्थापक निर्देशक राइनी डि विटले विगत २२ वर्षदेखि आफुले नेपालमा बसेर अर्लि चाइल्डहुडमा काम गरिहेको बताउँदै संख्यात्मक रुपमा वृद्धि भएपनि गुणस्तरमा अझै काम गर्न आवश्यक रहेको बताइन । नेपालका इसिडी शिक्षाको चुनौती मध्ये बालबालिकाहरुलाई सर्वाङ्गिण विकास तर्फ लैजान उमेर सुहाउँदो शिक्षा प्रदान गर्न नसक्नु रहेको उनको भनाई थियो । आफु नेपालका विभिन्न ठाउँका धेरै विद्यालय पुगेको र विद्यालयको अवस्था हेरेर माय लागेर यो क्षेत्रमा काम गर्न थालेको बताइन ।


कार्यक्रममा प्रस्तुती दिँदै इसिइसि इनोभेसन इन एजुकेशनका महाप्रबन्धक पितम्बर न्यौपानेले विगत २२ वर्षदेखि नेपालका बालबालिकाहरुको शिक्षालाई उमेर र जिवन सुहाउँदो कसरी हुन्छ भनेर काम गरिरहेको बताए । इसिइसिले बालबालिको शिक्षामा प्रभाव पार्नको लागि अर्लि चाइल्डहुड मात्रै नभएर प्राइमरी एजुकेशन, पूर्व प्राथमिक तह र शिक्षक तालिममा अझै धेरै काम गर्न आवश्यक रहेको देखिएकोले यो क्षेत्रमा संस्थाले काम गरिरहेको बताए ।


उनले पछिल्लो समयमा शिक्षामा इनोभेसन गरिहेको बताउँदै नेपालका बालबालिकाहरुले जिवनोपयोगी तथा व्यवाहारिक शिक्षा पाउनु पर्नेमा जोड दिए । व्यवाहारिक शिक्षा दिनका लागि इसिइसिले विद्यालय, शिक्षक र सरकारी निकायसँग मिलेर शिक्षामा इनोभेशनका लागि विभिन्न काम गरिरहेको बताए । उक्त कामलाई निरन्तर दिनका लागि अर्लि चाइल्डहुड एजुकेशन सेन्टरबाट रुपान्तरण गरी इसिइसि इनोभेशन इन एजुकेशन बनाइएको जानकारी दिए ।


त्यसैगरी शिक्षाको कुन अर्थमा कसरी इनोभेसनको प्रयोग गरिन्छ भन्ने बारेमा शिक्षाविद् डा. रमेश वोस्ती, वृहस्पति विद्या सदनका प्रिन्सिपल कुमार थापा र डा. अजय पन्तसँग प्यनलमा छलफल गरिएको थियो । छलफलमा विज्ञहरुले विद्यालयमा अर्थपूर्ण सिकाई हुनुपर्ने, नयाँपन स्विकार्ने नेतृत्व हुनुपर्ने, समुहमा काम गर्न शिक्षक तयार हुनुपर्ने, विद्यार्थिको संख्या र शिक्षकको अनुपात मिल्नुपर्ने, शिक्षकले सिकाउँने शेलिको परिवर्तन गर्न आवश्यक रहेको बताए ।