नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्नेविरुद्ध मुद्दा

रुपन्देही/१९ साउन-शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेश गरी सामाजिक परिचालक पदमा कार्यरत गौंस मोहम्मद तेली माथी मुद्दा दायर गरिएको छ । अख्तियार अनुसन्धान आयोगले तेलीको सर्टिफिकेट छानविन गर्दा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र रहेको बताउँदै मुद्दा दायर गरेको हो ।


रुपन्देही जिल्लाको कोटरीमाई गाउँपालिका वडा नं. १ मा सामाजिक परिचालक पदमा कार्यरत गौंस मोहम्मद तेली उपर अनुसन्धान हुँदा न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रको रुपमा माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश, इलाहाबाद, भारतबाट हाईस्कुल उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा रहेको आयोगले जनाएको छ ।


आयोगले मोहम्मद तेलीले झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी सामाजिक परिचालक पदमा राष्ट्रसेवक कर्मचारीको रुपमा करार नियुक्ति भै सरकारी लाभ तथा सुविधा लिएको पुष्टि भएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) वमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय मागदाबी सहित विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको जनाएको छ ।