शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश गर्ने शिक्षक विरुद्ध मुद्दा दायर

धनुषा/९ साउन-शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश गर्ने शिक्षकलाई सजायका लागि विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ । धनुषाको थुम्हौना स्थित श्री नवयुवक आधारभूत विद्यालयमा कार्यरत शिक्षक सीता कुमारी यादवले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश गरेको पाइए पछि मुद्दा दायर गरिएको हो ।


राहत शिक्षक यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश गरेको पाइएको अख्तियार अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।


यादवलाई साबिक श्री नवयुवक जनता प्राथमिक विद्यालयमा प्रा.वि. तहको अस्थायी राहत शिक्षक दरबन्दीमा नियुक्ति हुँदा बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट मध्यमा तह उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको हैसियतमा लाभ लिईएको आरोप छ ।


आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निज सीता कुमारी यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको छ ।