विद्यालयको कार्यकक्षमा प्रवेश गरी प्रधानाध्यापक माथि हातपात

काठमाडौं २६ जेठ कागेश्वरी मनोहरा नगरपालिका वडा नं. २ आलापोट स्थित बालविकास माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि हातपात भएको छ । स्थानीय एक जना युवा विद्यालयको कार्यकक्षमा प्रवेश गरी प्रधानाध्यापक राजकुमार वाइवा माथि हातपात गरेका हुन् ।


स्थानीयबासी सुमन फुयालले जेठ २५ गते विद्यालयको कार्यकक्षमा प्रवेश गरेर प्रधानाध्यापक राजकुमार वाइवा माथि हातपात गरेको नेपाल शिक्षक संघ कागेश्वरी मनोहरा नगरको स्थानीय कार्यसमितिका अध्यक्ष रामकृष्ण लामिछानेले जानकारी दिएका छन् ।


फुयालकी आमाले विद्यालय वरीपरी विद्यार्थीलाई लक्षित गरेर ठेलामा चटपटे पसल राखेको र प्रधानाध्यापक वाइवाले नराख्न भनेपछि विद्यालयको कार्यकक्षमा प्रवेश गरेर हातपात गरेको उनको भनाई छ । गर्मीको समयमा विद्यालय वरीपरी चटपट बेच्दा विद्यार्थी विरामी हुन सक्ने भन्दै वाइवाले जेठ १२ गते फुयालकी आमालाई सम्झाएर पसल नराख्न भनेका थिए ।


शिक्षक माथी हातपात भएपछि नेपाल शिक्षक संघ कागेश्वरी मनोहरा नगरको स्थानीय कार्यसमितिले यसको विरोध गर्दै विज्ञप्ति जारी गरेको छ । विद्यालयको कार्य कक्षमा प्रवेश गरेर अराजक तत्वद्धारा भएको संघातिक हमलाप्रति घोर भत्सना गर्दछ विज्ञप्तिमा भनिएको छ । साथै सो घटनामा संलग्न अभियुक्तलाई अबिलम्ब कानूनी कारबाहीको दायरामा ल्याई कडा भन्दा कडा सजाएका लागि माग गरेको छ ।


त्यसैगरी प्रधानाध्यापक राजकुमार वाइवाले आज बौद्ध प्रहरी चौकीमा कारबाहीका लागि जाहेरी दिएपछि सुमन फुयाललाई प्रहरीले प्रक्राउ गरेको अध्यक्ष रामकृष्ण लामिछानेले जानकारी दिए ।