शिक्षक संगठनहरुको सदस्याता नवीकरण नगर्ने शिक्षकहरुको सामूहिक निर्णय

बर्दिया/२१ जेठ-पठनपाठनलाई भन्दा राजनीतिक दलको कार्यक्रम र गतिविधिलाई प्राथमिकता दिएको भन्दै कतिपय विद्यालयका शिक्षकहरु विवादित बन्दै आएका बेला बर्दियाको एक माध्यमिक विद्यालयका शिक्षकहरुले कुनै पनि राजनीतिक दल निकट संगठनको सदस्यता नविकरण नगर्ने सामुहिक निर्णय गरेका छन् ।


गुलरिया नगरपालिका ४ तुलसीपुरमा रहेको ध्रुव माध्यमिक विद्यालयका शिक्षकहरुले सामुहिक निर्णय गरेर नेपाल शिक्षक महासंघ बाहेक अन्य राजनीतिक दल निकटका शिक्षक संगठनको सदस्याता नवीकरण नगर्ने निर्णय गरेका हुन ।


विद्यालयमा अध्यापनरत ३२ जना शिक्षकको बैठक बसेर शिक्षकको पेशागत संगठन नेपाल शिक्षक महासंघ बाहेक अन्यको सदस्यता नवीकरण नगर्ने सामूहिक निर्णय गरेको शिक्षक रचना ज्ञवलिले बताउनु भयो ।


विद्यालयलाई भन्दा राजनीतिक गतिविधिलाई प्राथमिकता दिँदा विद्यालयको शैक्षिक अवस्थामा नकरात्मक प्रभाव परेका कारण दलनिकट शिक्षक संघ संगठनको सदस्यता नवीकरण नगर्ने निर्णय आफू पुगेको विद्यालयका एक शिक्षकले बताउनु भयो । दल निकट बन्दा विद्यालयको पठनपाठन नै अस्तव्यस्त बन्ने जोखिम देखेर आफूहरु पठनपाठनमा केन्द्रीत र विद्यार्थीप्रति जिम्मेवार रहन यस्तो निर्णय गरेको उहाँको भनाई छ ।


विद्यालयका प्रधानाध्यपक पिताम्बर पोखरेललेकुनै पनि दल निकट संघ संगठनको सदस्यता नलिने शिक्षकवीच सहमति भएपछि निर्णय लिइएको बताउनु भयो । उहाँले यसखाले निर्णयबाट सबै शिक्षकहरुमा एकरुपता हुने र दलीय भिन्नता नहुने हुँदा सबैमा पठनपाठनमा उत्साह जाग्ने बताउनु भयो । उहाँले भन्नु भयो यो निर्णयका लागि मात्र होइन, कार्यान्वयन पनि हुने छ । गोरखापत्रमा समाचार छ ।