पेशागत बन्न नसकेका शिक्षकका पेशागत संघ–संगठन र महासंघ

काठमाडौं/२१ जेठ-नेपालको संविधान जारी भएको करिब ८ बर्ष भयो । संविधानमा स्पष्ट लेखिएको छ, यो संविधान जारी भएको तीन बर्ष भित्र सबै कानुनहरु बनी सक्नेछन् । तर विडम्बनाः शिक्षा ऐन २०२८ र नियमावली २०५९ नै चालू र सक्रिय रहेका छन् । यता सामुदायिक विद्यालयका शिक्षकहरुका पेशागत भनिएका संघ, संगठन र महासंघ भने बजेटलाई निहुँ बनाएर आन्दोलनको नाटक गर्दै छन् । यीनिहरुका मालिकहरु पालैपालो २०४६ साल देखि पटकपटक सत्तामा छन् । तर शिक्षा कसैको प्राथमिकतामा परेन । १७ थरी शिक्षकहरु आफ्नो जीवन शिक्षण पेशामै समर्पित गर्दै सुविधा मुक्त निबृत्त हुँदै छन् । साविक उच्च मा.वि.मा हाल सम्म एकजना पनि स्थायी शिक्षक छैनन् ।


संघ संगठनहरु आफ्नो मालिकको सत्तामा पहुँच हुँदा चुपचाप रहन्छन् र जब फरक मालिक सत्तामा आउँछन् तब आन्दोलनको नाटक गर्छन् । ३६ जना स्थायी शिक्षकहरु अस्थायी सेवा गणना नभएकै कारण रित्तो हात निबृत्त हुनु पर्यो । शिक्षकका प्रधान शत्रु नै संघ–संगठनहरु हुन् । २०७६ साल पछि नियुक्त हुने शिक्षकहरुको योगदानमा आधारित उपादन अलपत्र छ । बालविकासका सहयोगी कार्यकर्ताहरुको सेवा सुविधा अत्यन्तै न्यून छ ।


अस्थायी–करार, राहत शिक्षकहरुको व्यथा उस्तै छ । आन्तरिक स्थायी भएका शिक्षकहरूको अस्थायी सेवा गणनाको मुद्धा ज्युँका त्युँ छ । विद्यालय कर्मचारीहरुको समस्या उस्तै छ, न्यून तलबमा काम गरि रहेका छन् । पेशागत स्थायीत्वको कुनै ग्यारेन्टी छैन । प्रस्तावित शिक्षा ऐनको मस्यौदामा के के कुरा उल्लेख छन् गर्भमै छ । तर शिक्षा ऐन जारी गर्ने सवालमा संघ–संगठन– महासंघलाई कुनै प्रवाह छैन । सहानुभूति बटुल्न बजेटमा अल्झेर शिक्षकहरुलाई बेकुफ बनाउने काम गर्दैछन् । संघ,संगठन र महासंघ कहिल्यै पेशागत बन्न सकेनन् ।


२०३६ सालमा नजन्मेका सदस्यहरुले २०३६ सालको शिक्षक आन्दोलनको गफ दिएर सहानुभूति लिने मुर्ख्याइँ गर्दै हिड्छन् । शिक्षक महासंघका पदाधिकारीहरु शिक्षकहरुको लेविमा मोज गर्दै टाउको गनेर भागबण्डा र आलोपालो पदमा पुगेर कक्षा कोठामै नगई पेन्सनमा निस्कन्छन् र निबृत्त भए पछि दललाई गरेको चाकरीको आधारमा राजनीतिक नियुक्त हुन्छन् । जसको उदाहरण केशव निरौला र नमिलेको सुकुम्बासी आयोग अध्यक्ष नै काफी छ ।


शिक्षक मित्रहरु !
अझै कहिले सम्म हामी आफ्नो पेशागत सुरक्षाको लागि आत्मनिर्भर नहुने ? कहिले सम्म संघ – संगठन र महासंघको सदस्य बनेर आफै माथी घात गर्ने ? अब ढिला नगरी आ– आफ्ना दलीय संगठनका सदस्यता त्यागेको घोषणा गरेर स्वतन्त्र पेशागत साझा शिक्षक मञ्च स्थापना गरी हाम्रो पेशाको मर्यादा कायम राख्दै पेशागत बनौं । राजनीतिक आस्थालाई निर्वाचनमा गोप्य मतदानद्वारा प्रयोग गरौं ।


प्रस्तावित संघीय शिक्षा ऐनका मस्यौदालाई सार्वजनिक गर्न लगाई शिक्षा ऐन तुरुन्तै जारी गर्न दबाब दिऔं । बजेटमा होइन, ऐनमा नै सबै शिक्षक, कर्मचारीहरुका सेवा सुविधा उल्लेख गर्न दबाब दिऔं । पहिला पेशागत सुरक्षा खोजौ, अनि सुविधा कानुनले नै व्यक्त गर्दछ । हाम्रो साझा लडाइँको लागि आजै आ– आफ्ना संगठनका सदस्यता त्यागेर चाकरीबाजको अन्त्य गरौं । दुई चार थान दलीय भक्तहरुको सेवा सुविधाको लागि साक्षी नबनौं । सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीहरुको एकता, स्वतन्त्रता र दलीय चौघेराबाट अलग बनौं । जय सामुदायिक शिक्षक तथा विद्यालय कर्मचारी !


–कुसुम न्यौपाने
(प्रस्तावक)स्वतन्त्र सामुदायिक विद्यालय शिक्षक–कर्मचारी मञ्च