काठमाडौं/१९ जेठ-नेपाल शिक्षक महासंघले आर्थिक वर्षको वजेटमा बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको उचित तलब बृद्घिको प्रबन्ध गर्न तथा बजेट सम्बन्धित शिक्षक कर्मचारीका अन्य मागमुद्दा सम्बोधन गर्न माग गरेको छ ।
सरकारले वजेटमा शिक्षक र विद्यालय कर्मचारीमा कुनै उत्साह र विश्वास सिर्जना गर्न नसकेको र यसबाट शिक्षक–कर्मचारीलाई फेरि आन्दोलन तर्फ धेकेल्न चाहेको भन्दै मागमुद्दा सम्बोधन गर्न माग गरेको हो ।
महासंघले विज्ञप्ति जारी गर्दै शिक्षक कर्मचारीका अन्य मागमुद्दा सम्बोधन नभए नेपाल शिक्षक महासङ्घ आफ्ना मागहरु पूरा गराउन कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।
महासङ्घसँगको औपचारिक भेटघाटमा सरकारबाट बारम्बार प्रतिबद्घता व्यक्त भएको र भरखरै प्रस्तुत नीति तथा कार्यक्रममा समेत उल्लेख भएको विषय भए पनि न्यून वेतनमा काम गरिरहेका विद्यालय कर्मचारी र बाल कक्षाका शिक्षकको तलवमानमा जेष्ठ १५ गते आ.व.२०८०/०८१ को बजेट संसदमा प्रस्तुत गरेको बजेटमा कुनै बृद्घि गरिएन । अन्तराष्ट्रिय फोरममा राज्यबाट प्रतिबद्घता व्यक्त भए अनुसार शिक्षामा लगानी बृद्घि नहुनु तथा नेपाली शिक्षक–कर्मचारीका बजेटसँग जोडिएका मुख्य मागमुद्दामा बजेट मौन रहनुले यो बजेटले नेपाली शिक्षक तथा विद्यालय कर्मचारीमा ठूलो असन्तोष र आक्रोश बढाएको छ विज्ञप्तिमा उल्लेख छ ।
माथिल्लो शैक्षिक योग्यता रहेका आधारभूत तहका शिक्षकलाई माथिल्लो तहका दरबन्दीमा समायोजन गर्ने , सङ्घीय शिक्षा ऐन जारी गर्ने तथा पुराना कार्यक्रमहरुको निरन्तरता जस्ता केही विषयहरु सकारात्मक देखिए पनि आम रुपमा यस बजेटले स्थायी, अस्थायी÷करार, राहत, साविक उमावि, बालकक्षा, शिक्षण सिकाइ अनुदान , विशेष शिक्षा, प्राविधिक धार एवम् संस्थागत विद्यालय लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीमा कुनै उत्साह र विश्वास सिर्जना गर्न नसकेको महासंघको भनाई छ ।
महासंघले प्रस्तुत वजेटमा संशोधन गरी बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको उचित तलब बृद्घिको प्रबन्ध गर्न तथा बजेट सम्बन्धित शिक्षक कर्मचारीका अन्य मागमुद्दा सम्बोधन गर्न हामी सरकारसंग माग गरेको छ ।



