सर्लाही/१ जेठ-सर्लाहीको बागमती नगरपालिका स्थित श्री शंकरपुर प्राथमिक विद्यालय, सन्तोषपुरले विद्यालयको क्याप्टेन छान्न निर्वाचन आयोजना गरेको छ । कक्षा २ देखि ५ सम्मका ५० विद्यार्थी मध्ये निर्वाचान मार्फत ५ जना विद्यार्थी विभिन्न नेतृत्वदायी भूमिकामा निर्वाचित भएका छन् ।
विद्यालयले बालबालिकाको नेतृत्व विकासका लागि विभिन्न विभिन्न सदन विभाजन, क्लब विभाजन तथा कक्षाकोठाभित्र विद्यार्थीले निर्वाह गर्नुपर्ने विभिन्न भूमिकाका आधारमा नेतृत्व विकास गर्ने अवसर प्रदान गर्ने लक्ष्य लिएको छ ।
विभिन्न कक्षाका क्याप्टेन पदका लागि इच्छुक विद्यार्थीमध्येबाट मतदान गरिएको विद्यालयका प्रधानाध्यापक वेदनिधि दाहालले बताए । यसो गर्दा विद्यार्थीमा आत्मविस्वास बढ्ने तथा नेतृत्व क्षमताको विकास हुने उनले बताएका छन् ।

“यति साना उमेरका विद्यार्थीले एक छिन जानकारी दिएकै भरमा चुनावमा सहभागी हुन सक्ने रहेछन भन्ने त मैले सोचेकै थिएन” विद्यार्थीको चुनाव सहजीकरण गरेका मतदान अधिकृत शिक्षक मनिष श्रेष्ठले बताए “ आफूलाई मन परेको उम्मेदवारलाई मत पेटिकामा छाप हालेर भोट दिंदै गर्दा यी विद्यार्थीले भोलि देशमा सही नेता छान्न सक्ने रहेछन भन्ने विस्वास पलाएको छ ।
“पोहोर साल आमासंग चुनावमा जाँदा आमाले भित्र छिर्न दिनुभएको थिएन, तर आज त आफैंले भोट दिएर आएँ” मतपत्र खसालेर दंग पर्दै बाहिर निस्किएका कक्षा तीनमा अध्ययनरत छात्र मोहम्मद गुल्जार शेखले बताए– “अब घर गएर मैले पनि भोट दिएको कुरा सबैभन्दा आमालाई सुनाउन मन छ ।

निर्वाचित विद्यार्थीलाई खादा र अबीर लगाएर जिम्मेवारी हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक दाहालले बताए । कक्षा तीनबाट जफ्रना खातुन ३१ मत सहित क्याप्टेनमा निर्वाचित भएकी छिन । त्यस्तै कक्षा ४ बाट स्वस्मित राय भाइस क्याप्टेनमा निर्वाचित भएकी छिन् ।
विद्यालयले यससंगै क्रियाकलापमा आधारित सिकाइ क्रियाकलाप, रुपान्तरणमुखी सिकाइ कार्यक्रम लगायत संचालन गर्दै आएको छ । शैक्षिक सुधारमा देशकै नमुना नगरपालिका बनाउने लक्ष्य लिएको बागमती नगरपालिकाले आधारभूत तहका विद्यालयमा आक्रामक सुधारको रणनीति लिएर काम गरिरहेको शिक्षा शाखामा कार्यरत ओम बहादुर कार्कीले बताए ।



