काठमाडौं/२७ वैशाख-त्रिभुवन विश्वविद्यालयले सम्बन्धन प्राप्त क्याम्पसहरुमा केही शैक्षिक कार्यक्रम थपका लागि खुला गरेको आवेदन हालका लागि स्थगन गरेको छ । सम्बन्धन प्राप्त क्याम्पसहरुका विभिन्न संगठनहरु र केही निजी कलेजहरुले त्रिविको मापदण्ड गलत भएको भन्दै विरोध जनाए पछि खुला गरेको आवेदन हालका लागि स्थगन गरेको हो ।
विश्वविद्यालयले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गरेका क्याम्पसलाई मात्रै कार्यक्रम थपका लागि आवेदन माग गरेकामा क्यूएए नपाएका क्याम्पसहरुले विरोध जनाएपछि कार्यक्रम थपका लागि मागिएको आवेदन हालका लागि स्थगित गरेको ।
उपकुलपति कार्यालयको योजना निर्देशनालयले गत वैशाख ६ गते गोरखापत्रमा सूचना जारी गर्दै विज्ञान संकायको बीएस्सी सीएसआईटी र बीआईटी, व्यवस्थापन संकायको बीबीए, बीबीएम, बीआईएम, बीटीटीएम र बीएचएम, मानविकी तथा सामाजिकशास्त्र संकायका लागि बीसीए र बीएसडब्लु कार्यक्रमको सम्बन्धनका लागि आवेदन माग गरेको थियो ।
सम्बन्धन प्राप्त क्याम्पसहरुका विभिन्न संगठनहरुबाट शैक्षिक कार्यक्रम थप गर्न आवेदन दिन सकिने योग्यता पूनरविचार गरी अनुरोद भई आएकोले योग्यता र मापदण्ड तोक्न समिति गठन गरिएको विश्वविद्यालयले जनाएको छ । यसबारे कस्तो योग्यता मापदण्ड तोक्न उपयुक्त हुन्छ भन्ने अध्ययन गरी राय सुझाब पेश गर्न समिति गठन गरिएको र समितिको राय सुझाब प्रप्त भएपछि मात्रै प्रक्रिया अगाडि बढाउने त्रिवि कार्यकारी परिषदले २२ वैशाखमा निर्णय गरेको जानकारी दिएको छ ।
क्यूएए प्राप्त नगरेका केही निजी कलेजहरुका सञ्चालक तथा व्यवस्थापकले रजिष्टारको कार्यकक्षमा प्रवेश गरी रजिष्टार र कर्मचारीमाथि अभद्र व्यवहार गरेको समेत त्रिविले जनाएको छ ।


