अन्तराष्ट्रिय गणित सम्मेलन हुँदै

काठमाडौं/२६ बैशाख-गणित शिक्षा परिषद्ले गणित सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुद्धारा गणित शिक्षकहरुलाई नविनतम विधि र पद्धति प्रयोगको सिप विकास गर्ने उदेश्यले अन्तराष्ट्रिय सम्मेलन गर्न लागेको हो ।

परिषद्का उपाध्यक्ष रमेश प्रसाद अवस्थीका अनुसार गणित परिषद्, गणित विभाग, त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय र म्याथ काईण्ड युएसए सहितको संयुक्त रुपमा असार २ गते सम्मेलन गर्न लागिएको जानकारी दिएका छन् । उनले विद्यालय र विश्वविद्यालयका शिक्षक तथा विद्यार्थीहरुको गणितिय ज्ञानलाई विस्तार गर्ने उदेश्यले सम्मेलनको आयोजना गरिएको बताए ।


देशका तीन ठाउँ विराटनगर, बुटवल र काठमाडौंमा सम्मेलन गरिने छ । विराटनगरमा जेठ २६ र २७ गते, बुटवलमा जेठ ३१ र ३२ गते र काठमाडौंमा असार २ र ३ गते गणित सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुनेछ ।


गणित शिक्षाको वास्तिविक अवस्था र कक्षा कोठामा त्यसको प्रयोग बारे सम्मेलन हुनु भन्दा अघिल्लो दिन केही विद्यालय तथा उच्च शिक्षालयहरुको भ्रमण र अवलोकन गरिने र त्यसमा देखिएका समस्या र अभ्यासबारे सबै सरोकारवालाहरु सहित कार्यशाला तथा छलफल गरिने परिषद्का उपाध्यक्ष अवस्तीले जानकारी दिए ।


सम्मेलनमा विद्यार्थीलाई कक्षा कोठाभित्र गणित विषयमा व्यवहारिक तरिकाले कसरी सक्रिय बनाउने, परीक्षासँग सम्बन्धित, कक्षा कोठामा सिकाइमा देखिएका नयाँ आयामहरु, पाठ्यक्रम सम्बन्धी र गणित विषयको अनुसन्धान सम्बन्धी प्रस्तुती हुनेछन् ।


असार २ र ३ गते काठमाडौंमा हुने सम्मेलनमा प्यानल डिस्कसन हुने र ३२ देखि ४० गणित सम्बन्धी रिसर्च आर्टिकल प्रस्तुत हुनेछन् । जसमा २० वटा विदेशी गणित विज्ञहरुको रहनेछ भने बाँकी प्रस्तुती नेपालीहरुको रहने छ ।