शिक्षक कर्मचारीका मागमुद्दा बजेटमा सम्बोधन गर्न प्रधानमन्त्रीसँग माग

काठमाडौं/२६ बैशाख-नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शिक्षा क्षेत्रका लागि कुल बजेटको २० प्रतिशत रकम लगानी गर्न माग गरेको छ । वर्तमान सरकारले ल्याउने बजेट मार्फत सबै खाले शिक्षक र विद्यालय कर्मचारीहरुका समस्या अनिवार्य सम्बोधन गर्न आग्रह गर्दै कुल बजेटको २० प्रतिशत रकम शिक्षामा लगानी गर्न माग गरेको हो ।


महासंघले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी शिक्षक र विद्यालय कर्मचारीहरुका मागमुद्दा यसपटकको बजेटले सम्बोधन गर्नुपर्ने माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघले शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघ बीच भएको ५१ बुँदे सहमतीको कार्यान्वयनले सबै खाले शिक्षक र विद्यालय कर्मचारीका सबै मुख्य समस्याको सम्बोधन गर्ने जानकारी गराउँदै कार्यन्वयनका लागि जोड दिएको छ ।


साथै विद्यालयमा कर्मचारीको दरबन्दी सिर्जना गरी विद्यालय कर्मचारीलाई दरबन्दी अनुसारको तलबभत्ता उपलब्ध गराउन, प्रारम्भिक बालकक्षाका शिक्षकलाई प्राथमिक तृतीय सरह तलबभत्ता उपलब्ध गराउन, शिक्षकको तलबमान सार्वजनिक गर्दा प्राविधिक ग्रेडको महल समेत उल्लेख गरी नियम अनुसार शिक्षकलाई प्राविधिक ग्रेड उपलब्ध गराउन माग गरेको छ ।


भेटमा शिक्षक कर्मचारीको तलबभत्ता सशर्त अनुदान शिर्षकमा पठाउने प्रबन्ध यथावत कायम गर्न, तलबभत्ता विद्यालय मार्फत शिक्षकलाई उपलब्ध गराउँन पालिका परिषद्ले निर्णय गर्नु नपर्ने प्रबन्ध गर्न र शिक्षक कर्मचारीको तलबभत्ता मासिकरुपमा उपलब्ध गराउने प्रबन्ध गर्न माग गरेको छ ।