काठमाडौं/१४ बैशाख-नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी गरेको वैदेशिक अध्ययन स्विकृती सम्वन्धी निर्देशिका २०७९ तत्काल खारेज गर्न शैक्षिक परामर्श संघ संगठनहरुले माग गरेका छन् । शैक्षिक परामर्श व्यवसायीहरुलाई वेवास्ता गरि एकलौटि निरङकुश शैलिमा निर्देशिका ल्याएको भन्दै खारेज गर्न माग गरेका छन् ।
नेपाल शैक्षिक परामर्श ब्यवसायी महासंघ तदर्थ समितिले पत्रकार सम्मेलन गरेर लोकतान्त्रिक गणतन्त्रमा जनमत प्राप्त सरकारले लोकतान्त्रिक पद्धति, मुल्य र मान्यताको बर्खिलाप गरि सम्बन्धित क्षेत्रको सरोकारवालालाई वेवास्ता गरि एकलौटि निरङकुश शैलिमा निर्देशिका ल्याएको भन्दै विरोध गरेको हो ।
महासंघ तदर्थ समितिले निजि क्षेत्रलाई स्वरोजगार सिर्जना गर्न तथा ब्यवसायीहरुको क्षेत्र र दायरा फराकिलो बनाई ब्यवसाय गर्ने वातावरण राज्यले निर्माण गर्न आग्रह गरेको छ । साथै शैक्षिक परामर्श क्षेत्रलाई वेवास्ता गरे आन्दोलनका चरणहरु घोषणा गर्न बाध्य हुने चेतावनी दिएको छ ।
मन्त्रालयले निर्देशिकाको सत्य र तथ्यको विषयमा अनुसन्धान नै नगरि अनुमानको भरमा जारि गरेको आरोप छ । साथै निर्देशिकामा भएका कमी कमजोरीहरुको गम्भिर रुपमा सम्वोधन गरिंदै सम्वन्धित सबैको अर्थपुर्ण सहभागीतामा निर्देशिकालाई तत्काल खारेज गर्न शैक्षिक परामर्श क्षेत्रका ७ संस्थाहरुले माग गरेका छन् ।
अन्यथा, नेपाली विद्यार्थी तथा अभिभावकहरुका हित विपरित एवम नागरिकको शिक्षा प्राप्त गर्न पाउने संबैधानिक नैसर्गिक अधिकार समेतलाई कुण्ठित गर्ने गरि जारि गरिएको निर्देशिकाका विरुद्ध तिव्र प्रतिरोध गर्न बाध्य हुने बताएको छ ।
मन्त्रालयले वैदेशिक अध्ययन स्विकृती सम्वन्धि निर्देशिका फागुन १८ गते स्वीकृत गरी चैत १८ गते कार्यन्वयनमा आएपनि मन्त्रालयले २०८० बैशाख १३ गते मात्रै सार्वजनीक गरेको थियो ।






