बालेनको विद्यालयलाई आग्रह : स्थान तोकेर पाठ्यपुस्तक र पोशाक किन्न बाध्य नपार्नु

काठमाडौं/२६ चैत-काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न आग्रह गरेको छन् । उनले विद्यालय आफैले किताब बेचने गरेको र पोसाक समेत सम्बन्धित ठाउँबाट नै किन्न अभिभावकलाई बाध्य गराएको गुनासो पटक पटक आइरहेकोले सो कार्य नगर्न आग्रह गरेका छन् ।


चैत १७ गते काठमाडौं महानगरपालिका शिक्षा विभागले सबै संस्थागत विद्यालयलाई आफैले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री नगर्न, विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना उपलब्ध गराउन र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न बाध्य नपार्न परिपत्र जारी गरेको छ ।


पत्रमा भनिएको छ ‘संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ (संशोधनसहित)मा व्यवस्था भएअनुसार विद्यालयहरू आफैले पाठ्यपुस्टक तथा स्टेशनरी विक्री गर्न नपाउने, विद्यालयबाट निर्धारित ड्रेस कोडको नमूना विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न विद्यार्थीलाई बाध्य नगराउने भन्ने व्यवस्था रहेको सबैलाई अवगतै छ ।’


‘यति हुँदाहुँदै पनि कतिपय विद्यालयहरूले विद्यार्थी तथा अभिभावकहरूलाई विद्यालयबाट नै पाठ्यपुस्तक स्टेशनरी तथा पोशाक खरिद गर्न बाध्य पार्ने गरेको भन्ने गुनासो यस विभागमा बारम्बार आउने गरेको हुँदा सम्बन्धित सबै विद्यालयहरूले अनिर्वाय रुपमा निर्देशिका बमोजिम गर्न गराउनुपर्ने हुन अनुरोध गरिन्छ’, परिपत्रमा भनिएको छ ।


यदि नियम उल्लंघन भए गरेको पाइएमा कानून बमोजिम आवश्यक कारबाही गरिने र सोको जवाफदेही सम्बन्धित प्रिन्सिपल नै हुनुपर्ने जनाएको छ ।