कञ्चनपुर/२६ चैत-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको बनाउन आवश्यक रहेको बताएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै समाज रुपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्नेमा जोड दिँदै विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए ।
“विश्वको प्रतिस्पर्धी शैक्षिक बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न जरुरी छ ।” प्रधानमन्त्री दाहालले भने । स्थापनाको छोटो अवधिमा सुदूरपश्चिम विश्वविद्यालयले महत्वपूर्ण शैक्षिक कार्यक्रम सञ्चालन गर्न सफल भएकामा उनले खुसी व्यक्त गरे ।
“सरकारले डडेल्धुरामा आङ्गिक क्याम्पस खोल्ने र डडेल्धुरा अस्पताललाई विश्वविद्यालयको सङ्कायका रुपमा रहने गरी सरोकारवाला मन्त्रालय र विश्वविद्यालयबीच सम्झौता भएको छ”, उनले भने, “उक्त क्याम्पस सञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापनका लागि सरकारको पूर्ण सहयोग रहनेछ ।”
दीक्षित विद्यार्थीप्रति लक्षित गर्दै प्रधानमन्त्री दाहालले परिवार, समाज र देशका लागि पाइला पाइलामा परीक्षा दिनुपर्ने उल्लेख गर्दै उनले अबका परिणामले समाज र देशको भविष्य निर्धारण गर्ने बताए ।
“तपाइँहरु पनि सपना देख्नुहोस्, त्यो सपना तपाई हाम्रो सुन्दर जीवनको सपना हो, सुन्दर, सुखी नेपालको सपना हो”, उनले भने, “कुनैबेला तपाईहरु जस्तै शैक्षिक परीक्षामा सहभागी हुँदा मैले पनि सपना देख्ने गर्दर्थे ।”