फौज्दारी र देव्यानी मुद्दामा कालिका मानवज्ञान माविमा बहस

चन्द्रकान्त खनाल
रुपन्देही/९चैत-कालिका मानवज्ञान माविमा अदालतको झल्को दिनेगरी अभ्यास अदालत कार्यक्रम सम्पन्न भएको छ । कालिका मानवज्ञान माविमा कानून अध्ययनरत विद्यार्थीहरुको संस्था कानून विद्यार्थी समाजको आयोजनामा व्यवहारिक कानूनी अभ्यास अन्तर्गत २ दिने अभ्यास अदालत कार्यक्रमको दोश्रो दिनमा विद्यालयको सभाहललाई अदालतको स्वरूप दिएर विद्यार्थीहरुले देवानी र फौजदारी मुद्धामा अदालत भित्र गरिने सम्पूर्ण प्रक्रियाहरुलाई प्रस्तुत गरेका थिए ।


अदालतका कर्मचारी, न्यायधिस, कानून व्यवसायीदेखि प्रहरीसम्मको भूमिकामा विद्यार्थीहरु रहेका थिए । सुमिना सापकोटाको काल्पनिक मुद्धामा बादीको तर्फबाट प्रशंशा खनाल, कविता खनाल, अधिशचंद्र खनाल , घनश्याम बिकले र प्रतिवादीको तर्फबाट खुशी बिक, वर्षा पाण्डे, अन्जना तिवारी र पार्वती खत्रीले बहस पैरवी गरेका थिए ।

उक्त मुद्धामा न्यायधिस बनेकी आकृति श्रेष्ठले महिलाले लगाएको पोशाक र सामाजिक संजालमा बिताएको समय तथा पोष्टको आधारमा खराब आचरण भएको मान्न नहुने र यसैको आधारमा अन्याय गर्न नपाईने फैसला गरेको थिइन् ।


ज्यान सम्बन्धि उद्योगको सम्बन्धि काल्पनिक मुद्धामा आशिष पाण्डेले न्यायाधिसको भूमिका निर्वाह गरेका थिए । सन्जु अधिकारीको जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्धामा सरकारी वकिलको रुपमा अस्मिता शर्मा, बिनिता अर्याल, रोशिका आचार्य, अंशुप्रिया झा र विपना सारुले वहस गरेका थिए भने अभियुक्तको तर्फबाट यादव पन्थी, सुशिला भण्डारी, सन्ध्या न्यौपाने र सन्ध्या खनालले वहस गरेका थिए । अभ्यास अदालतमा सुष्मिता पोख्रेल र अरुणा काफ्लेले श्रेस्तेदार तथा अमृता घर्ति र चन्द्रकला थारुले इजलास अधिकृतको भूमिका खेलेका थिए । अभ्यास अदालतमा अधिवक्ता ज्ञानु केसीले विद्यार्थीहरुलाई सहजीकरण तथा प्रशिक्षण दिएकी थिईन् ।


अभ्यास अदालत कार्यक्रमको समापनमा बोल्दै प्रमुख अतिथि सर्वोच्च अदालतका पुर्व न्यायधिस तेज बहादुर केसीले कानूनका विद्यार्थीहरुलाई किताबी ज्ञानले मात्र नपुग्ने भएकोले व्यवहारिक अभ्यास जरुरि भएको र अभ्यास अदालतले अदालती प्रक्रिया बुझेको जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने भएकोले कानून पढाउने सबै स्कूल र क्याम्पसहरुले अभ्यास अदालतलाई शिक्षाको अनिवार्य उपायको रुपमा अवलम्बन गर्नुपर्ने बताए.। उनले अदालतमा अपनाउनुपर्ने कार्यविधिको बारेमा कानून व्यवसायी र अदालतका कर्मचारीले मात्र नभएर सामान्य नागरिकले पनि जानकारी लिन सकेमा न्याय सम्पादन कार्य सहज र वस्तुनिष्ट हुने कुरामा जोड दिए ।


राष्ट्रिय मानवअधिकार आयोग प्रदेश कार्यालय बुटवलका प्रमुख सोमनाथ सुवेदीले शिक्षाले अन्यायको विरुद्धमा आवाज उठाउन सक्ने बनाउनुपर्नेमा अझैपनि शिक्षित महिलाहरु नै अन्याय सहेर बसेको कुराको चर्चा गर्दै कानून विषयको अध्ययनमा महिलाहरुको रुची तथा उपस्थिति बढेकोले भविस्यमा सबै किसिममा अन्याय र विभेदका विरुद्ध सशक्त आवाज उठ्ने र मानवअधिकारमैत्री समाजको निर्माण हुने विस्वास गरे ।


विद्यालयका प्रधानाध्यापक दिनेश थापाले विद्यार्थीहरुले आफै संलग्न भएर गरेका कार्यक्रमले दिगो र व्यवहारिक सिकाई हुने भएकोले कालिकाले विद्यार्थीहरुलाई नै प्रत्यक्ष संलग्न गराएर व्यवहारिक अभ्यास गराउने गरिएको र यस्ता कार्यले नमूना विद्यालय बनाउन मुख्य भूमिका खेलेको चर्चा गरे ।


कानून विद्यार्थी समाजका अध्यक्षतामा भएको अभ्यास अदालत कार्यक्रमको सञ्चालन विनिता अर्यालले गरेकी थिईन् ।