विद्यालय शिक्षामा उत्कृष्ट बन्दै एपेक्स लाइफ स्कुल

काठमाडौं/१४ फागुन-चावहिलको सरस्वतीनगर स्थित एपेक्स लाइफ स्कुलले विद्यालयको २९औँ वाषिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । ‘एनुअल कल्चर एक्सप्रेसन डे २०७९’ नाम दिएको उक्त कार्यक्रममा विभिन्न कार्यक्रम आयोजना गरि सम्पन्न गरिएको हो ।


शनिवार आयोजना गरिएको कार्यक्रममा विद्यालयले २१ औँ शताब्दीको समय सापेक्ष शिक्षा नै आफ्नो लक्ष्य भएको जनाएको छ । लामो समयदेखि पूर्वीय दर्शन तथा साहित्यलाई जगेर्ना उद्देश्यले संस्कृत भाषाको पनि शिक्षण सिकाइ क्रियाकलाप सो विद्यालयले सञ्चालन गर्दै आएको जनाएको हो ।


विद्यालयको कक्षाकोठा र पाठ्यपुस्तकमा मात्र शिक्षण सिकाइ क्रियाकलापलाई सीमित नराखी स्थलगत भ्रमण, पुस्तक भन्दा बाहिरका सन्दर्भबाट व्यवहारिक कुशल सीप सिकाउने प्रयास गर्दै आएका छौं,’ विद्यालयका अध्यक्ष सुवास न्यौपानेले भने, ‘अनुभवी, दक्ष, कर्तव्यनिष्ठ शिक्षकहरूद्वारा एउटा बालकलाई पूर्ण कर्मयोगी मानव बनाउने अभियानमा दत्तचित्त भएर हामीले पठनपाठन केन्द्रित गरेका छौं ।’


विद्यालयका व्यवस्थापक विन्दु न्यौपानेले तालिमप्राप्त योग्य शिक्षकद्वारा शिक्षण, उपयुक्त भौतिक संरचना, अत्याधुनिक पुस्तकालय, सुविधायुक्त फर्निचर तथा डिजिटल (आइसिटी) कक्षाकोठाको समुचित व्यवस्थापन साथै पर्याप्त खेलमैदानको सुविधा, सिर्जनात्मक क्रियाकलाप, विभिन्न श्रव्यदृश्य सामग्री एवं परियोजनात्मक क्रियाकलापका विद्यालयमा आवश्यकता अनुसार सञ्चालन गरिएको बताइन ।


विद्यार्थी केन्द्रित शिक्षण सिकाइ क्रियाकलापबाट मात्र एउटा बालक पूर्ण शिक्षित नागरिक बन्न सक्छ भन्ने विद्यालयको मान्यता रहेको र अतिरिक्त विभिन्न जातीय, धार्मिक एवं सांस्कृतिक विविधता झल्काउने खालको क्रियाकलापमा बढीभन्दा बढी विद्यार्थीलाई सहभागी गराईएको विद्यालयले जनाएको छ ।


एपेक्स लाइफ स्कुलले गत वर्षदेखि कक्षा १ देखि ३ कक्षासम्म पाठ्यक्रमलाई आधार मानेर रचनात्मक र सिर्जनात्मक बनाउने उद्देश्यका साथ किताब रहित शिक्षण सिकाइमा जोड दिएको छ । साथै यसै वर्षदेखि शिशु कक्षा पनि सञ्चालन गर्न थालेको विद्यालयले जनाएको छ ।


बालबालिकाको सर्वाङ्गीण विकासमा विशेष ध्यान दिइरहेको विद्यालयबाट हालसम्म २९ ब्याच विद्यार्थीले एसएलसी वा एसईई दिइसकेका छन् ।