काठमाडौं/१ फागुन-माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल(हिस्टुन)ले यस वर्षको कक्षा १२ को परीक्षामा असहयोग गर्ने निर्णय गरेको छ । राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालन गरिने बोर्ड परीक्षा सञ्चालनमा देशभरका साविक उच्च माध्यमिक विद्यालय तहका शिक्षकहरुबाट असहयोग गर्ने निर्णय गरेको हो ।
हिस्टुनको माघ २७ र २८ गते बसेको संगठनको तेस्रो विस्तारित बैठकले शिक्षकहरुका पेशागत समस्याहरु समाधानका लागि दबाब स्वरुप उक्त निर्णय गरिएको जनाएको छ । साथै संगठनले कक्षा १२ को परीक्षाको उत्तरपुस्तिका समेत परीक्षण नगर्ने जनाएको छ ।
नेपालमा हाल विद्यालय शिक्षाको अन्तिम खुड्किलो कक्षा १२ (आधारभूत तह कक्षा ८ सम्म रमाध्यमिक तह कक्षा १२ सम्म) भएको तर कक्षा ११ र १२ मा सामुदायिक विद्यालयमा अध्यापन गर्ने एक जना पनि स्थायी शिक्षक नभएको अवस्थामा हिस्टुन प्रदेश, जिल्ला समितिहरुको सहयोगमा शिक्षकहरुको शिक्षक सेवा आयोगको स्थायी शिक्षक विज्ञापन (प्रावि, निमावि, मावि कक्षा १०)सम्म लगाएतका मुद्धाहरुका विरुद्ध कानुनी उपचारका लागि अदालत जाने विस्तारित बैठकले निर्णय गरेको उल्लेख गरेको छ ।
साथै साविक उच्च मावि तहका शिक्षकहरुको पेशागत समस्या समाधान हुन एक ठोस कार्ययोजना, कार्यविधि निर्माण हुन ३ सदस्यीय कार्यदल निर्माण गर्ने र उक्त कार्यदलले १५ दिनभित्र प्रतिवेदन बुझाउने निर्णय गरेको छ ।



