जनकपुरधाम/४ माघ-मंगलबार प्रदेशसभामा भएको निर्वाचनमा रामचन्द्र मण्डलले ७४ मत प्राप्त गर्दै सभामुख बनेका छन् । मण्डल मधेश प्रदेश सभाको शिक्षक हुँदै सभामुख बन्न सफल भएका हुन् ।
धनुषाको मिथिला विहारी नगरपालिका–३ मिथिलेश्वर मौवाहीमा घर भएका मण्डलले अंग्रेजीमा स्नातक र मैथिलीमा स्नातकोत्तर गरेका छन् । उनी २०४७ सालमा राराब क्याम्पसमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको जिल्ला कमिटी सदस्य बनेका थिए भने ०४९ सालमा पढाइको सिलसिलामा काठमाडौं गएका थिए । २०५३ सालमा धनुषा फर्केर शिक्षण पेशामा लागे ।
उनले कुर्थास्थित मावि कुर्थामा अंग्रेजी विषयको अध्यापन सुरु गरेका थिए । त्यसको केही वर्षपछि मावि ठेरामा अध्यापन गराउन थाले । नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला कार्य समिति सदस्य बने । पछि माओवादीको शिक्षक संगठन स्थापना गरे । २०५९ सालमा शिक्षण पेशा त्यागेर माओवादी जनयुद्धमा भूमिगत नै भएर राजनीतिमा लागे ।
मावि तहको अंग्रेजी शिक्षकको प्रशिक्षक समेत भइसकेका छन् । २०७४ को निर्वाचनमा धनुषा १(२) मा नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका मण्डल पछि एमाले प्रवेश गरेका थिए ।



