शिक्षक सेवा आयोगको परिक्षामा किन धेरै फेल हुन्छन ? यस्ता छन् कारण

काठमाडौं/२७ पुस-२०७८ सालमा शिक्षक सेवा आयोगले मावि, निमावि र प्रावि तीनै तहको परीक्षाको पाठ्यक्रम परिवर्तन गरि प्राविमा करिब १३ हजार, निमाविमा करिब २ हजार ६ सय र माविमा करिब १६ सय शिक्षक पदका लागि विज्ञापन खोल्यो जसमा प्रतिस्पर्धी उम्मेदवारहरुको उल्लेख्य सहभागिता भयो । आयोगबाट प्रकाशित सूचना अनुसार माविमा माग संख्याको करिब २१ गुणा, निमाविमा २७ गुणा र प्राविमा ८ गुणा उम्मेदवारहरु प्रथम पत्रको परिक्षामा सम्मेलित भए । जसमध्ये माविमा सम्मेलित संख्याको करिब १२%, निमाविमा २७ % र प्राविमा १९% उम्मेदवारहरु आयोगले लिने सामान्य परिक्षामा उर्तीण भए ।


अर्कातिर लिखित परीक्षामा भने केहि विषयको कोटा पुरा हुनेगरी पनि विद्यार्थीहरु उर्तीण हुन सकेनन जसले गर्दा आयोगले प्रदान गरेको सिट संख्या पनि पदपूर्ति हुन सकेन । आयोगको परीक्षा सामान्य परीक्षा, लिखित परीक्षा र अन्तर्वार्ता गरि तीन चरणमा सम्पन्न भएको थियो भने सामान्य परीक्षामा उर्तीण भएका विद्यार्थीहरु मात्र लिखित परीक्षामा सम्मेलित भई परीक्षा दिएका थिए ।


यसरि आयोगको परीक्षालाई नतिजाको तथ्यांकको आधारमा हेर्ने हो भने हरेक कोण बाट योग्य व्यक्ति मात्र शिक्षक सिफारिस हुने गरेको, परीक्षा पनि धेरै जटिल र गाह्रो बन्दै गएको र शिक्षक पेशा पनि अधिकांश युवाहरुले रोजेको निजामति सेवा र बैंकिङ् सेवा जस्तै प्रतिष्ठित बन्दै गएको अनुमान गर्न सकिन्छ । आखिर कसरि बढेको छ त प्रतिस्पर्धा ? किन धेरै विद्यार्थीहरु फेल हुन्छन त ? जान्नुहोस यी १२ कारणहरु :


पाठ्यक्रम वैज्ञानिक हुनु :


आयोगले लिने सामान्य परीक्षामा प्रशिक्षार्थीको सम्झन सक्ने क्षमता, सामान्य र व्यवहारिक ज्ञान, बौद्धिक क्षमता, तार्किक क्षमता, गणितिय क्षमता, कानुनी ज्ञान, सूचना तथा प्रविधिसंग सम्बन्धित ज्ञान र शिक्षासंग सम्बन्धित ज्ञानको मापन गरिने हुँदा सामान्य परीक्षाबाटै प्रशिक्षार्थीको वैज्ञानिक ढंगले मुल्यांकन गरिने हुँदा सबै आयामबाट उत्कृष्ट व्यक्ति मात्र लिखित परीक्षाको लागि योग्य हुने गर्छ । त्यसपछि शिक्षण विधि र सम्बन्धित विषयवस्तु प्रतिको ज्ञान सम्बन्धि मापन द्वितीय परीक्षाबाट हुन्छ र अन्त्यमा व्यक्तित्व र व्यवहारिकता सम्बन्धि मापन अन्तर्वार्ताबाट सम्पूर्ण हिसाबले योग्य व्यक्ति शिक्षकको रुपमा सिफारिस हुने गर्दछन । जसले गर्दा कम मेहनती, विषयवस्तुको अल्पज्ञान, अव्यवहारिक र गलत आचरण भएका उम्मेदवारहरु प्रतिस्पर्धाबाट बाहिरिने गर्छन ।


प्रशिक्षार्थीले परीक्षा पूर्व तयारी गर्ने समयमा र परिक्षा हल भित्र समय व्यवस्थापन गर्न नसक्नु :


प्रशिक्षार्थीहरुले परीक्षा पूर्व पाठ्यक्रमको पूर्ण ज्ञान नराखी आफ्नो हिसाबले अध्ययन गर्ने, अंक भार र समयको ख्याल नगरी असन्तुलित तयारी गर्ने, समय पर्याप्त हुन्जेल सम्म ढुक्क बस्ने र परीक्षा नजिकिए संगै पढाईलाई बोझको रुपमा लिँदै सतही तयारी गर्ने र परीक्षाहल भित्र गईसकेपछी पनि अंकभार र समयको बेवास्ता गरि उत्तरपुस्तिकामा लेख्ने बानीले अधिकांश उम्मेदवारहरुलाई असफल बनाएको छ ।


प्रशिक्षार्थीहरुको खोजमुलक स्व–अध्ययनमा कमि हुनु :


परीक्षामा उर्तीण हुनको लागि उम्मेदवारहरुको खोजमुलक स्व–अध्ययन अपरिहार्य रहेको छ त्यसैले कुनैपनि विषयवस्तुमा आधारित रहेर खोजमुलक अध्ययन नगर्नुले उम्मेदवारहरु पास हुन जटिल हुने गर्दछ ।


प्रशिक्षार्थीहरुमा पास हुन्छु भन्ने आत्मविश्वासको कमि :


कतिपय उम्मेदवारहरुमा म गर्न सक्छु भन्ने आफु प्रतिको बिश्वास नहुनुले परीक्षा अगावै मूल यात्रामा सामेल हुदैनन् भने अर्को तिर आफ्नो निर्णयमा अडिग हुदैनन् । म शिक्षक बन्छु भनेर तयारीमा लागिसकेपछी फेरि अरु कुनै आयोगको तयारी गर्न पर्छ कि ?, विदेश जानु पर्छ कि ? जस्ता मनोजिज्ञासा राख्दै आफ्नो तयारीमा केन्द्रित नहँुदा तयारी चुस्त हँुदैन जसले गर्दा उम्मेदवारहरु फेल हुने गर्दछन ।


पाठ्यक्रमको मूल मर्म भन्दा बाहिर गएर तयारी गर्नुले :
शिक्षण पेशा संग सम्बन्धित रहेर तयार पारेको परीक्षाको पाठ्यक्रमको गहनतालाई मध्यनजर नगरी पाठ्यक्रमको मूल मर्म भन्दा बाहिर रहेर तयारी गर्नाले पनि धेरै उम्मेदवारहरु अनुर्तीण भईरहेका छन् ।


शिक्षक सेवा आयोगको तयारी गर्दा अनुभवी सहजकर्ता भएको योग्य व्यवस्थापन सहितको संस्था रोज्न नसक्नु :


२०७८ सालको विज्ञापन पश्चात देशभर दर्ता भएका र दर्ता नभएका गरि ५ दर्जन भन्दा बढी अनलाईन संस्थाहरु शिक्षक सेवा आयोगको तयारी गराउने भनेर सो–कार्यमा सहभागी भईरहेका छन् । तिर, ति सबै संस्थाहरुमा कुशल र अनुभवी प्रशिक्षकहरुले आफ्नो समय प्रदान गर्न सकेको देखिदैन, जसले गर्दा संस्था सञ्चालनकै लागि भए पनि स्थानीय तथा देशभर बाट नयाँ प्रशिक्षकहरुको आगमन भएको देखिन्छ ।


त्यसरी आएका प्रशिक्षकहरूमा पाठ्यक्रम तथा विषयवस्तुको पूर्ण ज्ञान नहुनु, श्रोत सामग्रीको गलत प्रस्तुतिकरण गर्नु र अपर्याप्त सूचना सहितको प्रस्तुति गर्नुले उम्मेदवारहरुमा विषयवस्तु प्रति भ्रम पैदा भएको देखिन्छ । साथै कतिपय अवस्थामा गैर शैक्षिक अनुभव भएका प्रशिक्षकहरु, आफै परीक्षा दिदै गरेका प्रशिक्षकहरु र आफ्नो विधामा असफल ठहरिएका प्रशिक्षकहरुले समेत तयारी कक्षाहरुमा सहजीकरण गरिरहेका छन् ।


त्यसैले आफुलाई सहजकर्ताको खाचो महसुस भई तयारी कक्षामा जोडिने उम्मेदवारहरुले योग्य सहजकर्ता भएको र योग्य व्यवस्थापन सहितको संस्थाको पहिचान नगरी साथिभाईको लहैलहैमा अथवा सामाजिक सञ्जालको अनाधिकारिक सूचनाको आधारमा कमसल गुणस्तर भएका संस्था र सो संस्थाले प्रदान गरेका सेवा ग्रहण गर्दा आफ्नो तयारी ओझेलमा परेको जानकारी परीक्षाको अन्त्यमा मात्र थाहा पाउनाले धेरै उम्मेदवारहरु फेल भएर पछुताएको यथार्थ हामी माझ छ । तसर्थ योग्य सहजकर्ताको सहयोगमा पाठ्यक्रम अनुरुप तयारी नगरी अन्यथा गर्नाले पनि धेरै उम्मेदवारहरु फेल भएका छन् ।


अनुभव नभएका र अयोग्य प्रशिक्षकहरुबाट प्रदान गरेका कक्षा र सामग्रीहरुमा निर्भर हुनु :


माथि उल्लेख गरिए जस्तै अनुभव नभएका र अयोग्य प्रशिक्षकहरुबाट प्रदान गरेका नोट, पीडीएफ र पुस्तकहरुमा आधारित रहेर मात्र आफ्नो तयारी आगाडी बढाउँदा पनि उम्मेदवारहरु प्रतिस्पर्धामा पछाडी परेका छन् ।


श्रोत नखुलेका अनलाईन सामग्रीहरुमा पूर्ण विश्वास राख्नु :


सामाजिक सञ्जालमा निशुल्क रुपमा प्राप्त हुने श्रोत नखुलेका सामग्रीहरुमा निर्भर रही तयारी गर्नुले विषयवस्तु प्रतिको गलत धारणा बन्ने, अनावश्यक कुराहरुमा ग्राह्यता बढ्ने, भ्रम बढ्ने र अन्त्यमा आत्मविश्वास घट्दै जाने हुनाले त्यस्ता सामाग्रीहरु अध्ययन गर्दा कसले बनाएको हो ?, कत्तिको पर्याप्त छ ? सहि छ वा गलत छ ? जस्ता कुराहरुको उत्तरप्रती विश्वस्त भएर मात्र अध्ययन नगर्नुले धेरै उम्मेदवारहरु फेलको सिकार भईरहेका छन् ।


उम्मेदवारहरुको स्व मुल्यांकन र सामुहिक छलफल नहुनु :


कुनैपनि विषय वस्तुको अध्ययन गरिसके पश्चात आफ्नो पढाई कस्तो रह्यो भनेर मुल्यांकन गर्ने पहिलो मुल्यांकनकर्ता उम्मेदवारहरु स्वयं हुन्, त्यसैले मोडेल प्रश्नहरुको समाधान, सामुहिक छलफल, पृष्टपोषण जस्ता कार्यले तयारीलाइ चुस्त बनाऊछ । तर अधिकांश उम्मेदवारहरुले तयारीको क्रममा यस्ता कुराहरुमा धेरै ध्यान नदिई एकोहोरो पढ्ने मात्र बानीले प्रतिस्पर्धात्मक परिक्षामा फेल हुन्छन ।


पर्याप्त रुपमा लेख्ने अभ्यास नहुनु :


सतहीरुपमा पढेर मात्र अध्ययन गर्ने र उत्तर लेख्ने अभ्यास गर्दै तयारी नगर्नुले धेरै उम्मेदवारहरुलाई परीक्षामा समय व्यवस्थापन गर्न र उत्तर प्रस्तुति गर्न असहज हुने हुनाले प्रतिस्पर्धात्मक परीक्षामा त्यसो नगरी पढ़नुले धेरै उम्मेदवारहरु फेल हुन्छन ।


विषयवस्तुलाई फरक दृष्टिकोण बाट विश्लेषण नगर्नु :


प्रतिस्पर्धामा आफु अगाडी आउनको लागि जहिले पनि फरक कोणबाट प्रस्तुति गर्ने कला हुनुपर्छ जसको लागि अध्ययनको क्रममा नै विषयवस्तु लाइ फरक धारबाट विश्लेषण गर्दै अध्ययन गर्नुपर्दछ । तसर्थ यसो नगरी तयारी गर्दा धेरै उम्मेदवारहरु पछाडी पर्ने गर्छन ।


उत्तरपुस्तिका अथवा ओएमआर सिट भर्ने बेला गल्ति गर्नु :


सुन्दा अचम्म लाग्न सक्छ तर हाम्रो सर्वेक्षणको क्रममा धेरै उम्म्ेदवारहरुबाट पाएको प्रतिक्रियालाई आधार मान्दा परीक्षामा आफ्नो नाम, रोल नम्बर र प्रश्नको कि गलत प्रविष्टि गर्नाले अथवा ओएमआर सिटमा चिन्ह लगाउँदा आयोगले उल्लेख गरे बमोजिम नगर्नाले । साथै उत्तर पुस्तिकामा केरमेट गरि सुद्धिकरण गर्ने जस्ता सामान्य गल्तीले पनि परीक्षा रद्ध भई फेल हुने गरेको पाइएको छ ।