कर्णालीका विद्यालय र विद्यार्थीको वेथा पिडामै सिमित

जुम्ला/२६ जुम्ला-जिल्लालाई हेर्ने दृष्टिकोण अहिले पनि आम मानिसमा कुनै परिवर्तन आउन सकेको देखिदैन । अहिले पनि जुम्लालाई दुर्गम जिल्लाको आँखाबाट हेरिन्छ । भौतिक दृष्टिकोणले जुम्ला दुर्गम होला तर पछिल्लो समयमा जुम्लाले शिक्षा क्षेत्रमा फड्को मार्ने प्रयासमा छ र शिक्षाका सवालमा जुम्ला सुगम बन्दै गएको छ । आजभोलि जुम्लाका सार्वजनिक विद्यालयपनि भौतिक संरचनामा धनि बन्न थालेका छन् । विकट बस्तिहरुमा पनि आर.सि.सि. पक्कि विद्यालयहरु निर्माण हुनुले जुम्लामा शिक्षा क्षेत्रमा फड्को मार्ने प्रयासमा लागिरहेको देख्न सकिन्छ । तर, बिडम्बना शिक्षको सवालमा संघिय सरकारले अहिले पनि जुम्लालई काठमाडौंको जस्तै आँखाबाट हेर्न सकेको छैन । त्यो परीक्षाको सवालमा होस, पाठ्यपुस्तक उपलब्ध गराउने सवालमा हो वा शिक्षक व्यवस्थापनको सवालमा होस हरेका कुरामा संघिय सरकारले जुम्लालाई गर्ने व्यवहार फरक छ ।

“राजा स्वदेश पुज्यते, विद्वान सर्वत्र पुज्यते” भन्ने संस्कृतको ऐतिहासिक श्लोकले ज्ञानको विराट महत्वलाई प्रमाणित गर्दछ । विद्यालय तहको शिक्षालाई स्थानीय तहको जिम्मा लगाएपछि गुणस्तरीय शिक्षका लागि स्थानीय प्रतिनिधिहरु लागि परेको देख्न सकिन्छ । उनीहरुले विभिन्न योजना सहित शिक्षामा लगानी बढाउनु यसका उदाहरण हुन् ।


‘हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहिको प्रमुख आथित्यमा विद्यालयको भवन उद्घाटन तथा यस विद्यालयका नि–वर्तमान प्र.अ.खड्क बहादुर शाहिको विदाइ कार्यक्रममा सर्वप्रथम नेपाल सरकार राष्ट्रिय योजना आयोगका नि–वर्तमान माननीय सदस्य आदर्णिय व्यक्तित्व मिन बहादुर शाहि र विद्यालयका लेखापाल धनराज शाहि लाई यस श्री कालिका मा.वि.हिमा १ बड्कि जुम्लाको तर्फबाट स–धन्यवाद प्रकट गरिन्छ ।’ यो लेखाई भरखर्रै मात्रै शिलान्यास गरीएको हिमा गाउँपालिका स्थित कालिका माविको शिलान्यास पत्रमा लेखिएका शब्द हुन् । विकट मानिएको जुम्लामा शिक्षाका लागि पक्कि विद्यालय निर्माण हुनु खुशीको कुरा हो । किनभने विकासका लागि शिक्षा महत्वपूर्ण अंगका रुपमा रहन्छ ।

शिक्षामा राम्रो गर्न सक्ने देशहरुले नै अन्य क्षेत्रमा पनि राम्रो गर्न सफल भएकै कारण अतिविकसित देशको सुचिमा आफुलाई उभ्याउन सकेको वास्तविकता हाम्रो सामु छर्लङ्ग छ । शिक्षा राम्रो हुने व्यक्तिको स्वभावैले उसको शारीरिक, आर्थिक, सामाजिक एवम पारिवारिक स्थिति पनि सुदृढ हुने गर्छ । यसको विपरित शिक्षा राम्रो भएन भने व्यक्तिको जिवनका कतिपय पाटाहरु घाम छिर्न नसकि शित परेका अध्यारा पाखापखेरा जस्तो हुन्छ । यसको अर्थ शिक्षामा गरिने लगानि दीर्घकालीन दिगो सोचमा आधारित हुनुपर्छ ।


भनिन्छ धान रोप्ने हो भने एक वर्षको योजना बनाउनुपर्छ, रुख रोप्ने हो भने दश वर्षको योजना बनाउनु पर्छ र राम्रो शिक्षा दिने हो भने सय वर्षको योजना बनाउनुपर्छ । हामी कहाँ भने आज लगानि गरेर भोलिपल्टै मुनाफा खोज्ने व्यक्तिहरुको शिक्षामा विगविगि छ । तर, पछिल्लो समय शिक्षा स्थानीय तहको जिममेवारी र दायित्वमा रहेपछि प्रमुखहरुले शिक्षामा लगानि गर्ने सवालमा दिगो हुनेगरी योजना बनाउन थालेका छन् । यसको उदाहरणको रुपमा लिन सकिन्छ जुम्ला जिल्लाको हिमा गाउँपालिकालाई । हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासङ्गका राष्ट्रिय उपाध्यक्ष लक्ष्मण शाहिले शिक्षामा आमुल परिवर्तन गर्नका लागि पूर्ण प्रतिवद्ध रहेको बताउनु भएको छ ।


भनिन्छ मेहनतको पराकाष्ठा झेल्नेहरु सहि अर्थमा सफलताका हकदार हुन्छन । तर हाम्रो समाजमा कसैले राम्रो गरेको देखेर आफुले पनि त्यसको अनुकरण गर्ने होइन कि राम्रो गरेको देखि नसहेर उसको खेदो खन्ने संस्कार बढी छ । अरुले तपाई भने पनि नभने पनि आफै मपाइ भन्ने संस्कार, जसले काम नगरेर अरुको मेहनत र पसिनाका भरमा अरुमाथि रजाइँ गरेर बस्छ, त्यसैलाई मालिक सम्झने संस्कार छ । प्रगतितर्फ उन्मुख भएकाको खुट्टा तान्ने संस्कार र गरिखानेको आरिस गर्ने संस्कार छ । यस्ता कु संस्कारका कारण शिक्षा क्षेत्र पनि अछुतो रहन भने सकेको छैन ।

लामो संघर्ष र उत्सर्गपछि गठित लोकतान्त्रिक सरकार र संघिय शिक्षा नितिको पक्षमा वर्षौ सियालिमा ओसिन बाध्य भएका कर्णालीका विद्यालय र विद्यार्थीहरुको कथा वेथा पिडामै सिमित छ । यसरी नै संविधानका पानामा समानताको अर्थ खोज्दैछन दुर्गम दुरदराजका वस्तिहरुमा अध्ययनरत कर्णालीका विद्यार्थीहरु, भोक्दैछन सिमित कितावका पानाहरुमा ।


संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा समानताका कुरा धेरै भए पनि शिक्षामा अहिले पनि समानता देखिदैन । देशमा आमुल परिवर्तनका लागि काठमाडौंमा पढ्ने विद्यार्थी र जुम्लामा पढ्ने विद्यार्थी बिच समानता हुन आवश्यक छ । यस प्रयोजनको निम्ति थुप्रै योजना बने पत्र–पत्रिकाले ओरल ओरल्ति समाचार छापे । नेताहरु ठाँउ ठाउँमा वर्वराय , महिलाहरुले समानताकै निहुमा गुन्युचोलो त्यागे , चुल्ठो काटे, परम्परा विर्से, मुख तिखारेर भाषण छाटे । कानमा मुर्द्रा उन्न र चुल्ठोमा रिवन बाध्न केटाहरुले पनि सिके । न्यायलयले थुप्रै फैसला गर्यो, आदेश दियो तर समानताको तात्विक अर्थ बुझ्ने अनि त्यस अनुसार ब्यवहार गर्ने गराउने आट र अक्कलको भने अनिकाल रहयो ।


दुर्गम कर्णालीका विद्यार्थीहरुका लागि न त समानता आयो, न समयमा पाठ्यपुस्तक पाए, न गुणस्तरीय शिक्षाका लागि राज्यले हेर्यो । सँगसँगै सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको पिडामा पनि केहि बदलाव आएन । कहिले सम्म यस्तै समानताको प्रसङ्गले समाज, शिक्षा आय आर्जन गर्ने पेसागत जिवनशैलिमा पनि सहमतिकै पद्धति अंगाल्नु पर्ने अनिवार्य हो र ?


लेखक धनराज शाहि श्री कालिका मा.बि.हिमा १ बड्कि जुम्लाका लेखापाल हुन ।