काठमाडौं/२६ पुस-काठमाडौ विश्वविद्यालयले स्कुलका प्रिन्सिपल र कोर्डिनेटरलाई लक्षित गरेर पहिलो पटक सञ्चालन गरेको ट्रेनिङ्ग बेस्ड शर्ट कोर्स सम्पन भएको छ । ४८ घण्टा क्रेडीट आवर भएको दुई महिनाका लागि डिजाइन गरिएको यो ’स्टिम बेस्ड पेडागोजी इन स्कुल’ कोर्सले शिक्षकहरुको पेशागत शिप र कौशलता सुधार गर्दै स्टीम शिक्षाको माध्यमबाट शिक्षामा परिवर्तन ल्याउने विश्वास गरिएको छ ।
३१ जना सहभागीलाई ४८ घण्टे भर्चुअल ट्रेनिङ्ग कोर्स गराईए पछि दुई दिन स्कुल अफ एजुकेसनको सेमिनार हलमा सहभागीहरुलाई भौतिक रुपमै उपस्थित गराएर यो कार्यशाला सञ्चालन गरिएको हो ।
सहभागी पुजा बस्नेतले छोटो अबधिको ट्रेनिङ्ग भनिए पनि उत्कृष्ट कोर्स डिजाइन गरिएको, आफूले सोचे भन्दा बढि सिक्ने अवसर पाएको, यो अवधिमा सिकेका सबै शिपहरु कक्षा कोठामा अभ्यास गरी विद्यार्थीको सिकाईलाई प्रभावकारी बनाउन आत्म बिश्वास बढेको बताइन ।
सीपीईसी संयोजक डा.पार्वती ढुंगाना पौडेलले कार्यशालामा सिकेका कुराहरुलाई जस्ताको तस्तै लगेर कक्षा कोठामा अभ्यास गर्नु भन्दा पनि आफ्नो पहिलेको शिक्षण विधिलाई यहाँ सिकिएका शिक्षण कौशल र विधिको माध्यमबाट परिमार्जन गरी आफ्नै परिष्कृत, नवीनतम् र सिर्जनशील विधि अपनाई शिक्षण गर्नुपर्नेमा जोड दिइन ।
स्कुल अफ एजुकेसनका डिन डा.बालचन्द्र लुईटेलले शिक्षकहरुले समय समयमा आफूलाई शर्ट कोर्षको माध्यमबाट निरन्तर अपडेट गर्न आवश्यक भएको र विदाका समयमा यस्ता छोटा अवधिका कोर्सहरु पूरा गर्न सकेमा उनीहरुको पेशागत दक्षता, कार्यकुशलता र विषयगत ज्ञान परिष्कृत हुनजाने बताए ।
विभिन्न देशहरुमा यस्ता छोटो अवधिका कोर्सहरु प्रभावकारी रुपमा संचालन भएको उदाहरण दिदै काठमाडौ विश्वविद्यालयले पनि आगामी दिनहरुमा अन्य छोटो अवधिका कोर्सहरू संचालन गर्न गईरहेको जानकारी दिए ।



