कक्षा कोठामा विषय वस्तुको फराकिलो आयाम सिर्जना गर्ने दायित्व शिक्षकको हो

काठमाडौं/२५ पुस-विद्यार्थीको शैक्षणिक उपलब्धि र सिकाइ गतिविधिलाई व्यवहारिक, सान्दर्भिक र समयसापेक्ष बनाउने उद्देश्यले शिक्षकको व्यावसायिक विकासका लागि सञ्चालन गरिएको तालिम सम्पन्न भएको छ । दि एक्सेल्सियर स्कुल र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा आइतबार पहिलो तालिम सम्पन्न भएको हो ।


ट्रान्सफरमेटिभ स्टेम एजुकेशन फर कल्चरल्लि इंगेज पेडागोजिमा आधारित रहेको कार्यक्रमको सहजिकरण काठमाडौँ विश्वविद्यालय, स्कूल अफ एजुकेशनका डिन प्रा.डा. बालचन्द्र लुईटेलले गरेका थिए ।


कुनै पनि समुदाय, समाज, सामाजिक पद्दति र प्रचलन आफैमा पूर्ण हुँदैन । क्षेत्र, भाषा, परम्परा, मूल्य र मान्यताले त्यसलाई असर गरेको हुन्छ र समाज समयानुकुल निरन्तर परिवर्तन र अद्यावधिक हुँदै जान्छ । साथसाथै शिक्षा पनि त्यही समाजको दर्पण भएकाले त्यसको क्षेत्र, विषय, सन्दर्भ र पद्दतिहरू पनि समयानुकुल हुन्छन् र हुँदै जानुपर्छ भन्ने मान्यता अनुरूप परम्परागत सूचनात्मक शिक्षण पद्दतिबाट बिस्तारै सुधारात्मक सिकाइ प्रणाली हुँदै रूपान्तरित सिकाइ गतिविधि आजको आवश्यकता रहेको कुरा र पाठ्यव्रmमको आयाम पाठ्यपुस्तक भन्दा धेरैमाथि रहने र त्यसको उद्देश्यलाई पूरा गर्न मूलतः एकीकृत सिकाइ प्रणाली ज्यादै सान्दर्भिक रहने यथार्थलाई प्रा. डा. लुईँटेलले उक्त सत्रमा जोड दिए ।


स्टेम विधिले खासगरी कुनै एक विषयवस्तुमा केन्द्रित रही विद्यार्थीको स्तरअनुसार रुचिपूर्ण ढङ्गबाट त्यसभित्र भाषा, साहित्य, कला, विज्ञान, गणित, प्रविधि लगायतका विविधि सन्दर्भ र विषय क्षेत्र मार्फत विद्यार्थीले उनीहरूको आफ्नै सोचाइ र क्षमताबाट त्यसलाई खोज्ने, छान्ने, बुझ्ने र प्रस्तुत गर्ने अवसर प्राप्त गर्दछन् । पाठ, पुस्तक र शीर्षकभन्दा धेरै माथि पुगेर आफ्नो सिर्जनात्मक, खोजमूलक, सिपमूलक र रचनात्मकता प्रस्तुत गरेर विषयबारे व्यापक ज्ञान बटुल्छन् ।


सिकाइ उपलब्धिका लागि शिक्षकले कक्षाकोठामा व्यवस्थित योजनासहित सहजीकरण गरी विद्यार्थीलाई नै अधिकार सम्पन्न पार्ने, विद्यार्थीको खोज, प्रश्न, सोधपुछ र सिर्जनालाई महत्त्व दिई विषयवस्तुको फराकिलो आयाम सिर्जना गर्ने दायित्व शिक्षकको रहेको हुन्छ भन्ने कुरा नै प्रा.डा. लुईटेलकोे निचोड रहेको थियो ।


सहभागीहरूको सव्रिmय सहभागितामा सम्पन्न उक्त कार्यक्रममा सहभागी शिक्षकहरूले स्टेम विधिको नमुनासहित समूहगत रूपमा कुनै एक विषयमा केन्द्रित रही त्यसभित्र भाषा, साहित्य, समाज, विज्ञान, गणित, कला र प्रविधि कसरी समावेश गर्न सकिन्छ भन्ने तथ्य प्रस्तुत गरेका थिए ।


शिक्षकको कक्षा व्यवस्थापन, शिक्षण विधि र सिकाइ गतिविधिको व्यवहारिकता रुचिपूर्ण, सान्दर्भिक र अनुभव केन्द्रित बनाउन कार्यक्रम शिक्षकको लागि महत्त्वपूर्ण रहेको विद्यालयका प्रधानाध्यापक प्रशान्त रजकले बताए ।


विद्यार्थीको मौलिक सिर्जनात्मक सिप, प्रश्न गर्ने बानी र सिकाइ गतिविधि विद्यालयदेखि घरपरिवार र दैनिक जीवनसम्म सम्बन्धित हुनुपर्ने र विषयलाई विद्यार्थीले आफ्नो दैनिक व्यवहारमा समेत रूपान्तरण गर्न सक्नुपर्ने अनुभवमा आधारित सिकाइ आजको आवश्यकता रहेको कुरामा केन्द्रित यो सत्रबाट उल्लिखित अवधारणा सिकाइ गतिविधिमा लागु गर्ने तालिममा सहभागी शिक्षकहरूको निष्कर्ष रहेको थियो ।