नवलपरासी/२० पुस- श्री सम्माननीय प्रधानमन्त्री ज्यू,
नमस्कार !
सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कदै गएको कुरा हजुरले पनि थाहा पाउनु भएको रहेछ । यो स्थिती आउनुको मुख्य कारण सार्वजनिक शिक्षामा सरकारको चासो र चिन्ता नहुनु नै हो । हजुरलाई थाहा छ कि छैन ? नेपालको वर्तमान शिक्षा ऐन २०२८ सालकै हो ।
तपाईं र तपाइँको दल तीन पटक सरकारको नेतृत्वमा र पटकपटक सरकारमा सहभागी हुँदै आएको छ । तपाईंकै दलका नेताहरु पटकपटक शिक्षा मन्त्री पनि भए तर शिक्षामा माखो मारेनन् । तपाईंबाट आशा त छैन, तर तपाईंमा भएको अनभिज्ञतालाई हटाउन सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कनुका कारणहरु प्रस्तुत गरेको छु ।
१) शिक्षकहरु राजनीतिक दलका सक्रिय कार्यकर्ता हुनु ।
२) अस्थायी ,राहत,करार शिक्षक नियुक्ती गर्दा दलका कार्यकर्ताहरु नियुक्त गरीनु ।
३) शिक्षकहरुको सेवा सुविधा न्यून हुनु ।
४) लामो समयसम्म शिक्षक बढुवा नहुनु ।
५) विद्यालय व्यवस्थापन समिति राजनितीक दलका दासहरुको अखडा बन्नु ।
६) दण्ड र पुरस्कारको व्यवस्था नहुनु ।
७) विद्यालय शिक्षा निःशुल्क भन्ने न निःशुल्क न सशुल्क हुनु ।
८) सरकारको प्राथमिकतामा शिक्षा कहिल्यै नपर्नु ।
९) सत्र थरी शिक्षक नियुक्त गर्नु ।
१०) पाठ्यक्रम सैद्धान्तिक ज्ञानका लागि मात्रै हुनु ।
सुधार गर्ने उपायहरु :
१) विभिन्न शिक्षकका पेशागत संघ संगठनहरु खारेज गर्नु पर्छ । स्वतन्त्र शिक्षकहरुले समेत नेतृत्व गर्न पाउने एकल युनियनको व्यवस्था गर्नु पर्छ ।
२) राजनितीक दलको कुनै तहको कार्य समितीमा रहने शिक्षकहरुलाई तुरुन्तै अवकाश दिइनु पर्छ ।
३) शिक्षकहरुको सेवा,सुविधा अन्य कर्मचारीको भन्दा उच्च हुनु पर्छ।शिक्षकहरुको आवधिक बढुवा अनिवार्य हुनु पर्छ ।
कासमुद्वारा गरीने बढुवा शत प्रतिशत आन्तरिक प्रतिस्पर्धामा आधारित हुनु पर्छ र उक्त बढुवाको संख्यामा पुनरमुल्यांकन गरीनु पर्छ । बढुवा जिल्लागत होइन, देशैभरको संख्यामा प्रतिस्पर्धा गराइनु पर्दछ ।
४) सत्र थरी शिक्षकहरु हटाएर एकै प्रकृतिको स्थायी शिक्षक मात्रै रहने व्यवस्था गर्नु पर्छ ।
५) दण्ड र पुरस्कारको व्यवस्था हुनु पर्छ । आफ्नो तहगत विषयको औसत उपलब्धि संतोषजनक नहुने शिक्षकहरुलाई ससम्मान बिदाई गर्नु पर्छ ।
६) शिक्षकहरुलाई घर पायक होइन, दुई दुई बर्षमा अनिवार्य सरुवा गर्नु पर्छ ।
७) विद्यालय व्यवस्थापन समितीमा अभिभावकहरु मात्रै रहने र सो समितिको अध्यक्ष न्युनतम योग्यता भएको र सबै सदस्यहरु राजनीतिक दलको कुनै तहको पदमा नरहेको ब्यक्ति हुनु पर्छ ।
८) पाठ्यक्रमले विद्यार्थीहरुको रुचिलाई सम्बोधन गरेको हुनु पर्छ ।
९) शिक्षा राज्य नियन्त्रीत हुनु पर्छ ।
१०) शिक्षा निजि र सार्वजनिक होइन सबै सार्वजनिक मात्रै हुनु पर्छ ।
११) तहगत स्थायी प्र.अ. नियुक्ति गरीनु पर्दछ । हाल रहेको लथालिङ्ग कनिष्ठ, अयोग्य, राहत, अस्थायी, करार प्र.अहरुलाई तुरुन्तै हटाई माथिल्लो तहको योग्य स्थायी वरिष्ठ शिक्षकलाई ५ बर्षको लागि नियुक्ति दिई कार्य सम्पादन संतोषजनक नभए स्वतः अवकाश दिइनु पर्छ ।
१२) संघीय शिक्षा ऐन तुरुन्तै जारी गर्नु पर्छ ।
१३) स्थायी शिक्षकहरुको मर्यादाक्रम सबै भन्दा माथी हुनु पर्छ ।
१४) स्थायी शिक्षकहरु जुन सुकै सेवामा प्रवेश गर्न चाहेमा उमेरको हद नलाग्ने र स्थायी सेवा गणना गरीनु पर्दछ ।
१५) शिक्षकहरुलाई संघ अन्तर्गत राख्नु पर्दछ ।
१६) शिक्षा अधिकारी, बिनि आदि शिक्षकहरु बाट नै नियुक्त गरीनु पर्दछ ।
१७) स्थायी वा अस्थायी सेवा २० बर्ष पुगेका स्थायी शिक्षकलाई एक तह बढुवा गरि ५५ बर्षे उमेरको हद लगाई स्वेच्छिक अवकासको व्यवस्था गरि युवाहरूलाई प्रवेशको अवसर दिइनु पर्छ । शिक्षक हुन कम्तिमा जुनसुकै संकाय अध्ययन गरेकोलाई पनि अवसर दिइनु पर्दछ । उमेर हद ६० बर्ष होइन,५५ बर्ष कायम गरिनु पर्छ ।
१८) शिक्षक नियुक्तिमा आरक्षण व्यवस्था र कोटा प्रणाली खारेज गरीनु पर्दछ । ४० अङ्क प्राप्त गर्ने प्रथम र ७० अङक प्राप्त गर्ने अनुत्तीर्ण हुने हालको आरक्षण खारेज गर्नु पर्छ । ४० अङ्क ल्याउनेले दिने ज्ञान र ७० अङ्क ल्याउनेले दिने ज्ञान एउटै हुदैन ।
तर यो सबै तपाईं र तपाईंको नेतृत्वको सरकारबाट सम्भव छैन । किनभने तपाईंले सार्वजनिक रुपमै शिक्षकहरु दलको सक्रिय कार्यकर्ता हुन पाउनु पर्छ भन्दै हिड्नु भएकै हो । तपाईंको दलका महाशयहरु पटकपटक शिक्षा मन्त्री भएकै हुन् तर शिक्षामा माखो मारेनन् । बुर्जुवा शिक्षा भनेर किताब च्यात्ने, जलाउने र शिक्षकहरूलाई दुःख दिने, मार्ने काम पनि भएकै हो । त्यसैले तपाईंबाट शिक्षामा सुधार होला भन्ने आशा त मरी सक्यो । तपाईंलाई यो पनि थाहा हुनु पर्ने हो कि सबै विद्यार्थी किन डाक्टर, इन्जिनियर अथवा योग्य प्राविधिक जनशक्ति बन्दैनन् ? चितवन र रुपन्देहीका दुइटा स्कुलमा तपाईंको ध्यान गएछ । त्यहाँ अन्य स्कुलमा अब्बल भएका विद्यार्थीहरु मात्रै भर्ना गरिन्छन् । गुणस्तर केलाई मान्नु हुन्छ ? त्यहाँबाट विद्यालय शिक्षा पार गरेका विद्यार्थीहरु कहाँ छन् ? खोजी गर्नुस् त ।
सबै सामुदायिक विद्यालयहरुले प्रवेश परीक्षा लिएर अब्बल विद्यार्थीहरु मात्रै भर्ना लिने हो भने कमजोर विद्यार्थीहरुलाई कहाँ पठाउने ? तपाईंलाई यो पनि थाहा हुनु पर्ने हो कि नेपालमा काठमाडौ, चितवन र रुपन्देही मात्रै छैनन् । बिकट कर्णाली पनि छ भन्ने । मेलापात गरेर शिक्षा लिनेहरु आलिशान बंगलामा बसेर पढ्न पाउनेहरु संग तुलनीय हुदैनन् ।
प्रधानमन्त्री ज्यू, के तपाईंले नेपालमै अध्ययन हुने विषयमा लाखौं खर्च गरेर बिदेश पढ्न जाने विद्यार्थीहरुको बारेमा थाहा पाउनु भएको छ ? किन रोक्न सक्नु हुन्न ? किन नेपालको पैसा बिदेश खर्च गरेर देश टाट पल्टाएको टुलुटुलु हेर्नू हुन्छ ?? सार्वजनिक शिक्षा राज्य नियन्त्रीत गर्न सक्नुहुन्छ ? शिक्षा मन्त्री योग्य व्यक्तिलाई नियुक्त गर्नुस् । शिक्षामा सुधार गर्नुस्, अरु आफै सुध्रीन्छ ।
कुसुम न्यौपाने
शिक्षक,जनता मा वि मंगलचौर,अरुणखोला, नवलपरासी (पुर्व)
(विगत २८ बर्ष देखि एउटै विद्यालय, तह र श्रेणीमा कार्यरत ।)



