काठमाडौं/२३ भदौं-आज ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ भन्ने आदर्श वाक्य तय गरेको छ ।
दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्याङ्कनको मापनसहितको प्रतिवेदन दिवसकै अवसरमा आज सार्वजनिक गर्दैछ ।
नेपालमा विभिन्न कार्यक्रम आयोजना गरी ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउँदासम्ममा अझै १६ जिल्लामा साक्षरता घोषणा गर्न सकेको छैन । सरकारले २०६५ सालमा नै दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य अगाडि सारेका अहिलेसम्म हुन सकेको छैन ।
अहिलेसम्म मधेश प्रदेशका कुनै पनि जिल्ला साक्षर घोषणा भएका छैनन् । लुम्बिनी प्रदेशको कपिलवस्तु, कर्णाली प्रदेशको मुगु, जुम्ला, हुम्ला, कालीकोट र डोल्पा तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र डोटी जिल्ला साक्षर घोषणा हुन बाँकी छन् । हालसम्म ६१ जिल्ला साक्षर घोषित भइसकेका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लामा ७५ देखि ९० प्रतिशत नागरिक साक्षर भएको दाबी गरेको । त्यसैगरी १५ देखि ६० उमेर समूहका ८५ प्रतिशत नेपालको साक्षर।ताको विद्यमान अवस्था रहेको जनाएको छ । कुल जनसङ्ख्याको न्यूनतम ९५ प्रतिशत साक्षर भएमा साक्षर जिल्ला वा पालिका वा प्रदेश घोषणा गर्न सकिने व्यवस्था छ ।
नेपालमा यही दिवसका दिन राष्ट्रिय शिक्षा दिवस मनाइएको भए पनि गत तीन वर्षअघि स्थगन भएको राष्ट्रिय शिक्षा दिवसको नयाँ मिति तर्जुमा गर्ने तयारी भइरहेको छ ।




