काठमाडौं/५ असार-काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक बर्ष २०७९/०८०को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
उनले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सम्बद्ध विज्ञहरू रहेको समिति गठन गरी महानगर शिक्षा सुधार योजना तर्जुमा गरिने बताएका छन् ।
साथै आन्तरिक आम्दानी गर्ने सामुदायिक विद्यालयहरूको आम्दानीको निश्चित प्रतिशत महानगर शिक्षा कोषमा जम्मा हुने व्यवस्था मिलाई सो कोषबाट विपन्न, अनाथ तथा असहाय बालबालिकाको शिक्षाको प्रबन्ध गर्न आवश्यक व्यवस्था मिलाइने भनिएको छ ।
संस्थागत विद्यालयहरुको शुल्क पुनरावलोकन गरी वैज्ञानिक र मापदण्डमा आधारीत बनाइने नितीमा उल्लेख छ । त्यसैगरी सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरु बीच गुणस्तर बिकास र असल अभ्यासको आदान प्रदानका लागि साझेदारी गरिने बताइएको छ ।
यस्तै, महानगरले जीवनपयोगी शिक्षालाई जोड दिने नीति लिएको मेयर शाहले जनाए । महागरमा कक्षाा १ देखि ८ सम्म पढाइ हुँदै आएको नेपाल भाषा कक्षालाई निरन्तरता दिइने उनले बताए ।
दरबार हाइस्कुललाई देशकै नमुना विद्यालय बनाउने नीति महानगरले लिएको छ । यस्तै, सामुदायिक विद्यालयका विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने, थप २ वटा सामुदायिक विद्यालयमा प्राविधिक विषयमा अध्यायपन गराइने मेयर शाहले बताए ।
निजी स्तरमा सञ्चालित शैक्षिक परामर्श केन्द्र, कोचिङ सेन्टर, तालिम केन्द्र लगायतका संस्थाहरूको अभिलेखीकरण गरी नियमन गर्ने उल्लेख छ ।





