काठमाडौं/७ वैशाख-जनता समाजवादी पार्टी नेपालले (जसपा)ले स्थानीय तह निर्वाचन २०७९ को घोषणापत्र जारी गरेको छ । मंगलबार जारी गरेको घोषणापत्रमा शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरी दक्ष र उद्यमशील जनशक्ति निर्माण गर्ने जनाएको छ ।
शिक्षा प्रणालीलाई जरैदेखि रुपान्तरण गरीने र त्यसका लागि श्रम, रोजगारमूलक तथा गुणस्तरीय शिक्षा प्रदान गर्न जोड गरिने घोषणापत्रमा उल्लेख छ । माध्यामिक विद्यालय तह सम्मको शिक्षालाई व्यावहारीक रुपमा नै निशुल्क र गुणस्तरिय बनाईने नीति लिएको छ ।
त्यसैगरी प्रारम्भमा “एक पालीका एक मोडेल स्कुल”को अवधारणालाई कार्यन्वयन गर्ने, सबै विद्यालयमा कम्प्युटर शिक्षा दिने,विशेष शिक्षा ( अपाङ्ग शिक्षा) लाई विस्तार गरिने, आधारभूत तहमा मातृभाषामा शिक्षा प्रदान गर्ने, आधारभूत भन्दा माथिल्लो तहमा अंग्रेजी, नेपाली र कम्तीमा एक प्रादेशिक भाषासहित बहुभाषिक नीति लागु गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।
साथै गणित, विज्ञान, स्वस्थ्य विज्ञान लगायतका आधुनिक विषयको पढाई अंग्रेजी माध्यामबाट गर्ने, विद्यालय र घरवस्तीको दुरी एक घण्टाभन्दा बढी भएका विद्यार्थीहरुका लागि विद्यालयको हाताभित्रै हौस्टल निर्माण अभियान प्रारम्भ गर्ने र स्थानीय तहहरुले शिक्षामा सुरुमा कूल बजेटको १० प्रतिशतसम्म लगानी गर्ने नीति लिएको छ ।



