विद्यार्थीको आयोजनामा वन सम्बन्धी सचेतना सम्पन्न

रविन घिमिरे
अर्घाखाँची/२ बैशाख -२७ औ राष्ट्रिय वन्यजन्तु सप्ताह २०७९ को दोस्रो दिन अर्घाखाँचीको पाणिनि बहुप्राविधिक शिक्षालयका विद्यार्थीले सचेतना कार्यक्रम सम्पन्न गरेका छन् ।


सप्ताहको अवसरमा आज शुक्रबार शिक्षालयकै हलमा वन विनाश यसको कारण र असरका विषयमा जानकारी दिन वन विज्ञान संकायका विद्यार्थीले सचेतना कार्यक्रमको आयोजना गरेका हुन् । यसै अवसरमा शिक्षालयका सहायक प्राध्यापक विष्णु खनालले वृक्षरोपण गरी कार्यक्रमको उदघाटन गर्नुभएको थियो ।


शिक्षालयकै वन विज्ञान संकायका विद्यार्थी नवराज सुवेदीको सभापतित्व र शिक्षालयका सहायक प्राध्यापक विष्णु खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थीले स्थानीय व्यक्तित्वलाई वन विनाशबाट वन्यजन्तु र जडीबुटीको विनाश हुने जसले गर्दा मानव जीवनमा समेत असर पुग्ने भएकाले वनको संरक्षण गर्नुपर्ने बताएका छन् ।


कार्यक्रममा विद्यार्थीले विभिन्न गीत, नृत्य प्रस्तुतीकरण मार्फत सचेतना गराएका थिए । एक हप्तासम्म चल्ने कार्यक्रममा भलिबल, हाजिरीजवाफ, वक्तृत्वकला जस्ता कार्यक्रम आयोजना गरिएको विद्यार्थीले बताएका छन् ।