काठमाडौं/१ बैशाख-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले सार्वजनिक विद्यालयलाई सुधार गर्न जोड दिएका छन् । बुधबार काठमाडौं महानगरपालिका भित्रका विभिन्न सार्वजनिक विद्यालयहरूको अनुगमन गर्ने क्रममा बोल्दै मन्त्री पौडेलले सो कुरा बताएका हुन । उनले नेपालको सार्वजनिक शिक्षामा भौतिक पूर्वाधारको सुधार, कानूनी सुधार र शिक्षण सिकाइ प्रक्रियामा सुधार आवश्यक रहेकाले त्यसका निम्ति सरकार लागिरहेको बताए ।
मन्त्रीपौडेलले निजी क्षेत्रले पनि शिक्षालाई नाफाआर्जन गर्ने थलोको रुपमानलिइ न्युनतम शुल्कमा पढाउनु पर्नेमा जोड दिए । सरकारले निजी क्षेत्रलाई पनि ध्यान दिइरहेको उनको भनाइ छ । उनले भने – ‘नेपालमा सार्वजनिक विद्यालयहरूको स्थिति खस्केको छ, गुणस्तर छैन भन्ने जुनप्रकारको चर्चा, परिचर्चा चल्ने गरेको छ । त्यसको सुधार गरेर हामीले त्यो चर्चालाई प्रत्युत्तर दिनु छ । त्यसको निम्ति हामीले भौतिक पूर्वाधारमा सुधार, कानूनी सुधार र शिक्षण सिकाइ प्रक्रियामा सुधार । यी तीन प्रकारका सुधार गरेर सार्वजनिक विद्यालयहरुलाई सुदृढ, व्यवस्थित गर्ने अभियानमा मन्त्रालय लागेको छ ।’
उनले सार्वजनिक सुधारको अभियान काठमाडौं महानगरपालिकाबाट शुरु भएको समेत उल्लेख गरे । नीजि क्षेत्रलाई पनि राज्यले नै स्वीकृति दिएको हुनाले सँगै लिएर जानुपर्नेमा उनको जोड रहेको छ । ‘खाली उहाँहरुलाई राज्यको कानून, राज्यले तोकेका कतिपय प्रक्रिया र प्रणाली भित्र रहेर लिइएको शुल्कलाई अधिकतम नगरीकन न्यूनतम शुल्कमा पढाउने र शिक्षालाई नाफाआर्जन गर्ने थलोको रुपमा होइन कि सेवादिने संस्थाको रुपमा निजीले गर्नुस् भनेर उहाँहरुलाई हामीले भनेका छौँ । त्यसो भएर हामी नीजि र सार्वजनिकलाई जुधाउने होइन, नीजि र सार्वजनिकलाई सँगै लैजाने र नितीलाई ध्यान दिनुपर्छ’ उनले भने । उनले कम्तिमा ३ वर्ष भित्रमा सार्वजनिक शिक्षा सुधारमा देखिनेगरी सरकारले कामगर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
मन्त्रीपौडेलले सार्वजनिक सुधार मन्त्रालयको प्राथमिकतमा रहेको बताउँदै आगामी आर्थिक वर्षमा शिक्षामा बजेट वृद्धि हुनेमा विश्वास व्यक्त गरे ।






