काठमाडौं /१ बैशाख-काठमाडौं विश्वविद्यालय स्कूल अफ आर्टस् र नेपाल समसामयिक अध्ययन केन्द्र (एनसिसिएस) वीच सहकार्यका लागि सहमति भएको छ । हात्तिवन स्थित काठमाडौं विश्वविद्यालयको प्रांगणमा डा.वि.आर.अम्बेडकरको १३१ औं जन्म जयन्तीका अवसरमा सहकार्यका लागि उद्घाटन कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन पूर्व राष्ट्रपति डा.रामवरण यादवले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति डा.रामवरण यादवले आजको बौद्धिक जमघटमा श्रोताहरुको उत्साहको प्रंशसा गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन सत्र अध्ययन केन्द्रका अग्रणी प्रा. लोकराज बरालको सभाध्यक्षतामा सम्पन्न भएको थियो । उक्त अवसरमा स्कूल अफ आर्टस्का डा. उद्धव प्याकुरेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।
स्कूल अफ एजुकेशनका डीन प्रा.डा.बालचन्द्र लुइँटेलले अतिथिको मन्तव्य राख्दै समाजशास्त्रका विविध विधाहरुमा मानिसहरुको वितृष्णा बढ्दै गइरहेको परिस्थितिमा केयु–एनसिसियस एलाइन्सले शिक्षालाई समाजसँग जोड्दै अध्ययन अनुसन्धानबाट सामाजिक समस्यालाई न्यूनिकरण गर्ने कुरामा विश्वस्त भएको जानकारी दिनुभयो ।
त्यस्तै केन्द्रका तर्फबाट गणेश दत्त भट्टले केयुसँगको सहकार्यले वैचारिक छलफल, भेला गर्ने थलोको रुपमा संस्था अगाडी बढ्ने कुरामा विश्वस्त भएको भनाइ राख्नु भयो ।
कार्यक्रममा बोल्दै दुर्गा सोवले यो सञ्जालले समाजलाई सतही र ब्ल्याङ्केट शैलीमा नहेरी अतिसिमाङ्कृत र कमजोर वर्गलाई सुक्ष्म तरीकाले अध्ययन अनुसन्धान गर्ने कुरामा आशा व्यक्त गर्नुभयो ।
पहिलो सत्र अन्तर्गत अन्तिम वक्ता प्रा. कृष्ण खनाल आफु देशको अवस्थाले निसासिएको महशुस गर्दै यो साझेदारीेले युवा वर्गलाई देशको वेथितिका विरुद्ध र नीति निर्माणका लागि तयार गर्नुपर्ने कुरामा जोड दिनुभयो । शिक्षालाई समाजसँग जोड्ने सहकार्यमा आफूले पनि प्रत्यक्ष सहयोग गर्ने प्रतिवद्धता दिनुभयो ।
उक्त सत्रलाई समापन गर्दै प्रा. लोकराज ढकालले त्रिभुवन विश्वविद्यालयका केन्द्रहरुको अवस्थाको कारण केयु वाहेक अरु विकल्प नभएको भनाई राख्नु भयो । आफूले परिकल्पना गरेको संस्थाको दिगो सञ्चालनको लागि सहकार्य गर्न साथ दिएकोमा केयु टिमलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
दोस्रो सत्रको अध्यक्षता प्रतिनिधि सभाका प्रथम सभामुख दमननाथ ढुंगानाले गर्नुभएको थियो ।
सभाध्यक्ष दमननाथ ढुंगानाले समसामयिक अध्ययन केन्द्र संचालनको सुपात्र काठमाडौं विश्वविद्यालय भन्दा अरु हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले अम्बेडकरलाई सामाजिक चिन्तन मात्र नभई लडाकु नै भएको अभिव्यक्ति दिनुभयो ।
उक्त सत्रमा “समसामयिक नेपालमा डा. अम्बेडरको सान्दर्भिकता” विषयमा डा. यामबहादुर किसान, कमला हेमचुरी र हरि शर्माले अभिव्यक्ति दिनुभएको थियो ।
किसानले अम्बेडरको योगदानलाई नेपालको आसन्न निर्वाचनसँग जोड्दै उहाँले दलित र सीमाङ्कृत वर्गको वास्तविक प्रतिनिधित्वका बारेमा ९० वर्ष अगाडी जुन परिकल्पना गर्नुभएको थियो त्यो आजको दिनमा पनि उतिकै सान्दर्भिक भएको बताउनु भयोे । सन् १९३२ मा गान्धीसँगको वार्ताबाट अम्बेडकर आरक्षण कोटामा सीमित भएको कुरा मनन् गर्दै सामुदायिक प्रतिनिधित्व मूलक निर्वाचन विना पछि परेका वर्गको सही सम्वोधन हुन नसक्ने उदाहरण पनि प्रस्तुत गर्नुभयो ।
हेमचुरीले दश वर्षे जनयुद्धको परिणामले वर्गीय मुक्ति, महिला उत्पीडित वर्गको संरचना विस्तारै भत्किंदै गएको उल्लेख गर्दै समाजको वास्तविक संरचना नबुझी मुक्ति हुन नसकिने भनाई राख्नु भयो । उहाँले हिन्दु धर्म भित्र रहेको धार्मिक, साँस्कृतिक दर्शनले जातिय भेदभावलाई बढावा दिएको टिप्पणी गर्नुभयो । उहाँले अम्बेडकरले त्यही कारण बुद्ध धर्म ग्रहण गरकोे कुुरा पनि संस्मरण गराउँदै त्यसमा नवयानको विकास गर्नुभएको र हिन्दु धर्मको तुलनामा बुद्ध धर्ममा लागेका दलितहरुको आर्थिक, शैक्षिक र सामाजिक जीवन राम्रो भएको सन्दर्भ पनि प्रस्तुत गर्नुभयो ।
उक्त सत्रका अन्तिम वक्ता शर्माले भारतका दलित वस्तीहरुमा हातमा संविधान लिएर टाईसुट लगाएका अम्बेडकरको सालिक र गान्धीको पहिरनको चर्चा गर्नुभयो । उहाँले यथार्थ र सत्यता त्यही हुन्छ मात्र हेर्नेको दृष्टिकोण फरक हुने कुरा व्यक्त गर्नुभयो । राजनीतिक क्रान्तिसँग सहकार्य गरेर मात्र समाजिक रुपान्तरण सम्भव छ भन्दै आफूलाई अम्बेडकर एक स्वतन्त्र राजैनिक संविधानविद् लागेको भनाई राख्नु भयो ।
कार्यक्रममा भारतीय राजदुतावासका प्रतिनिधि नवीनकुमारले नेपाल र भारत दुवैको सामाजिक संरचना समान रहेको कुरा उल्लेख गर्दै केयु–एनसिसिएस मार्फत् खास गरी युवाहरुलाई आकर्षित गरी सामाजिक विभेदका बारेमा अनुसन्धान गराउनु पर्ने बताउनु भयो । डा. अम्बेडकरको भारतीय इतिहासमा योगदानको चर्चा गर्दै उहाँको मार्ग निर्देशनलाई यो संस्थाले दक्षिण एशियामा फैलाउन मद्दत गर्नुपर्ने कुरा पनि व्यक्त गर्नुभयो ।
अतिथिको रुपमा सम्बोधन गर्दै काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार डा. सुवोध शर्माले शिक्षामा राजनीति होइन शिक्षाको राजनीति गरौं भन्दै केयुले एनसिसिएस जस्ता धेरै संस्थाहरुसंग सहकार्य गर्दै युवाहरुलाई वौद्धिकता तर्फ आकर्षित गर्दै जाने कुरा व्यक्त गर्नुभयो ।
केयु संस्थापक उपकुलपति प्रा.डा. सुरेश राज शर्माले आज निकै मार्मिक विषय वस्तुमा छलफल भइरहेको भन्दै विश्वविद्यालयमा समाजशास्त्रको राम्रो फोरम बनाउने चाहना एससिसियसले पूरा गरिदिएको चर्चा गर्नुभयो । विश्वविद्यालयले विश्वका समस्त पक्षलाई समेट्नु पर्ने भएकोले यो ज्ञानको भण्डारलाई दुषित नवनाई फस्टाउन दिन आग्रह गर्नुभयो ।
अर्का अतिथि डा. भद्रमान तुलाधरले आफू आनन्दकुटी विद्यापीठमा विद्यार्थी नेताभई खुल्लामञ्चमा वि.सं. २०१३ सालमा अम्बेडकर भाषण सुनेको अनुभव सुनाउनु भयो । त्यस्तै अम्बेडकर उहाँले शितल निवासमा बुद्धिजिवीको समूहमा कार्ल माक्र्सको वारेमा दिनु भएको भाषणको संस्मरण सुनाउनु भयो ।
मन्तव्य व्यक्त गर्ने क्रममा उपकुलपति प्रा.डा.भोला थापाले अग्रजहरुले थालनी गर्नुभएको यस्तो महानकार्यलाई निरन्तरता दिन पाएकोमा मन हलुका भएको कुरा राख्नु भयो । भन्नु भयो यो संस्थाले रिसर्च फेलोशिप र अक्षयकोष मार्फंत् विद्यार्थीहरुलाई अध्ययन अनुसन्धानका लागि आकर्षित गर्नुपर्छ ।
अन्तमा स्कूलअफ आर्टस्का का.मू. डिन एकुमाया पुनले सन् २०१७ देखि सञ्चालनमा आएको सर्वे अफ नेपाली पिपुल यो संस्थामा आवद्ध भएर अघि बढ्ने आशाका साथ कार्यक्रममा सहयोग गर्ने बताउनु भयो । उक्त कार्यक्रमको संचालन सह–प्राध्यापक डा. हेमराज काफ्लेले गर्नुभएको थियो ।



