शैक्षिक परामर्शका नाममा रोजगारीका लागि जापान जानेलाई परामर्श दिदैँ हार्डफोड एजुकेशन

काठमाडौं /२९ चैत-हार्डफोड एजुकेशनले आइतबार उच्च शिक्षाका लागि जापान जाने विद्यार्थीहरुसँगै रोजगारीका लागि जापान जान चाहनेहरुका लागि एक दिने सेमिनार आयोजना गरेको पाइएको छ । शैक्षिक परामर्श संस्थाहरुले विदेश अध्ययनमा जाने विद्यार्थीलाई मात्र परामर्श दिने भनिएपनि नियम विपरीत वर्किङ भिषामा जापान जान चाहनेहरुका लागि परामर्श तथा जापान जाने प्रक्रियाहरूका बारे जानकारी गराइएको पाईएको हो ।


नयाँ बानेश्वर स्थीत इन्दे्रणी फुडल्याण्डको हलमा आइतबार आयोजना गरिएको उक्त सेमिनारमा एनआरएनए जापानको उपाध्यक्ष संगिता अधिकारीको उपस्थितिमा वर्किङ भिषामा जापान जान चाहनेहरुका लागि परामर्श दिइएको थियो ।


नेपालबाट उच्च शिक्षासँगै रोजगारीका लागि जापान जान चाहनेहरुको संख्या बढेकाले उनीहरुलाई सही परामर्श दिने उदेश्यले सेमिनार आयोजना गरिएको हार्डफोड एजुकेशनका प्रबन्ध निर्देशक महेश श्रेष्ठले बताए । उनले आफ्नो संस्थामा जापानिज भाषा कक्षा पढेका विद्यार्थीहरु मध्ये रोजगारमा जापान जान चाहने व्याक्तिहरुलाई जापनमा रहेको सिई ह्युमन रिसोर्स कम्पनीका प्रतिनिधिसँग भेटाएको र परामर्शका लागि सेमिनार आयोजन गरिदिएको खबर एजुकेशनसँग बताए ।


सिई ह्युमन रिसोर्सले हरेक वर्ष नेपालबाट रोजगारका लागि जापान लाने गरेको र त्यसका लागि रोजगारमा जान चाहाने व्याक्तिहरुलाई भेटाइदिने काम मात्र गर्ने गरेको तर आफ्नो संस्थाले पठाउने नगरेको बताएका छन् ।


सेमिनार नै आयोजना गरेर रोजगारमा जानेलाई शैक्षिक परामर्शले त्यसरी परामर्श दिन मिल्छ भन्ने खबर एजुकेशनको प्रश्नमा उनले परामर्श र भिषा प्रक्रियाका लागि सेमिनार आयोजना गर्न कन्सल्टेन्सीले पाउने र त्यसै अनुरुप आफ्नो संस्थाले आयोजना गरेको जानकारी दिए । साथै रोजगारका लागि आफ्नो संस्थाले मात्र नभई अरु धेरै संस्थाहरुले पनि परामर्श दिने गरेको समेत उनले जानकारी दिए । उनले भने “मैले त सेमिनार मात्र गरेको हो । जान चाहाने व्याक्तिहरुलाई कम्पनिसँग भेटाउनका लागि भूमिका मात्र खेलेको हो अरुले त भिषा लागेको समेत सामाजिक सञ्जालमा राख्ने गरेका छन् ।”


उनले अन्यौलमा रहेको वर्किङ बारेमा, वर्किङ भिषाको बारेमा, वर्किङ भिषा अन्र्तगत पनि एसएसडब्लु भिषा स्पेशिफाईड स्कील वर्कर बारेमा परामर्श दिनका लागि सेमिनार गरिएको भन्दै केही अनलाईन मिडियाहरुमा समेत अन्तवार्ता दिएका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाका उपसचिव इश्वरीप्रसाद ज्ञावलीले शैक्षिक परामर्शका नाममा रोजगारमा जान चाहने व्याक्तिहरुलाई सेमिनार आयोजना गरेर परामर्श दिन नमिल्ने बताए । उनले शैक्षिक परामर्श संस्थाले रोजगारीको लोगो राख्न, विज्ञापन गर्न, चिठि पत्रमा कुनै पनि प्रयोग गर्न नपाईने बताए ।


साथै शैक्षिक परामर्श संस्थालाई अनुमती दिँदा नै रोजगारीका लागि परामर्श दिन नपाइने, भिषा प्रक्रिया गर्न नपाइने र अरु कसैको नाममा समेत सहजिकरण गर्न नपाइने भनेर अनुमति दिएका कारण रोजगारका लगि जान चाहाने व्याक्तिहरुलाई त्यसरी परामर्श दिनु गैह्र कानुनि ठहरिने समेत बताए ।

उनले शुद्ध रुपमा विश्विद्यालयका बारेमा, शैक्षिक संस्थाका बारेमा परामर्श दिन मिल्ने र सम्बन्धीत देशको नियम अनुसार विद्यार्थीले पढ्दै काम गर्न पाउने समय र प्रक्रियाका बारेमा मात्र थोरै जानकारी दिनसम्म मिल्ने बताए । तर रोजगार कै लागि भनेर परामर्श दिन, भिषा प्रक्रिया गर्न, त्यस्ता कम्पनिलाई सहजिकरण गर्न, विज्ञापन गर्न नमिल्ने बताए ।


त्यसैगरी नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)का अध्यक्ष प्रकाश पाण्डेले कुनै पनि शैक्षिक परामर्श संस्थाहरुले रोजगारका लागि विदेश जाने व्याक्तिहरुलाई परामर्श दिन नपाइने बताए । उनले भने शैक्षिक परामर्श संस्थाहरुले विद्यार्थीहरुलाई सेवा दिने हो तर, रोजगारका लागि परामर्श दिने, भिषा प्रक्रिया गर्ने काम होइन । साथै त्यसरी गलत काम गर्ने कुनै पनि ईक्यानका सदस्य शैक्षिक परामर्श संस्थारुलाई संरक्षण नगरीने समेत बताए ।


यस समाचारमा प्रयोग गरिएका तस्विर सामाजिक सञ्जालबाट लिएको हो ।