मदरल्याण्डमा अभिमुखीकरण सम्पन्न

भक्तपुर/२० चैत-सुर्यविनायक नगरपालिका वडा नं. ९ भाते ढिकुरस्थित मदरल्याण्ड स्कुलले अभिभावकलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।


सुर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा बदलिँदो परिस्थिति तथा कोभिड १९ को महामारी पश्चात् बालबालिकामा देखिएका विविध परिवर्तनका सन्दर्भ समेटेर ‘अनुकरणीय अभिभावक एवं सचेतता’ विषयक अभिमुखिकरण–२०७८ कार्यक्रम सम्पन्न गरेको हो ।


कार्यक्रमका प्रमुख अतिथि थापाले अहिले सबैलाई रिजल्ट मात्र चाहिएको बताउदै शिक्षा क्षेत्रमा सोचे जस्तो रिजल्ट निकाल्न ठूलो मेहनत गर्नुपर्ने बताए । ३ तहका सरकार र ऐन कानुन अनुसार चल्नुपर्ने र असल मान्छे बन्न शिक्षाको मुख्य भुमिका रहने बताए । उनले सामुदायिक र संस्थागत शैक्षिक संस्थामा नगर र आफुले भेदभाव नगरेको जनए ।


यस्तै सुर्यविनायक नगरपालिका वडा न. ८ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक किरण थापाले अहिले सामुदायिक, सस्थागत विद्यालयको जिम्मेवारी स्थानीय तहलाई भएकोले शैक्षिक क्षेत्रको गुणस्तर वृद्धिमा लागि रहेको बताए । शैक्षिक गुणस्तरका लागि अभिभावकको पनि उत्तिकै जिम्मेवारी रहने हुँदा अभिभावकले पनि आफ्नो जिम्मेवारी भुल्न नहुने धारणा राखे ।


कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष तथा मदरल्याण्ड स्कूलका संस्थापक प्रिन्सीपल संजय खड्काले अभिमुखिकरण कार्यक्रममा स्वस्थ र सफल जीवनका लागि सकारात्मक सोचको विकास गर्न फलदायी हुने बताउँदै अभिभावकले पढपढ मात्र भनेर दवाव दिनुभन्दा घरबाट नै असल संस्कारको विकास गराउनु पर्ने बताए ।


उनले अभिभावकले बालबालिकाहरुको हरेक कुरा सुनेर साथीको व्यवहार गरी उनीहरुको मनोभावना अनुसार बालबालिकालाई गलत बाटो लाग्नबाट जोगाउन अभिमुखिकरण कार्यक्रम आवश्यक रहेको बताए ।


खड्काले सरकारले अक्षरांक प्रणालीमा पनि ३५ प्रतिशत नकटाउने विद्यार्थीलाई फेल गराउने नियम लागु गर्न लागेकोमा विरोध जनाउँदै विद्यालय तहको मूल्याकंन विधि नै सुदृढ गर्नुपर्नेमा जोड दिए ।


कार्यक्रममा महानगरीय प्रहरी प्रभागका प्रमुख प्रहरी उपरीक्षक शिव कुमार श्रेष्ठ तथा प्रहरी निरीक्षक शशी शर्माले वर्तमान अवस्थामा लागू औषध सम्बन्धि अपराध, असर, प्रभाव, यूवाहरु लागु औषध दुव्र्यसनीमा कसरी फस्छन्, सजाय, दीर्घकालीन असर तथा न्युनिकरण एवम् साइबर क्राइम, सामाजिक संजालमा व्याप्त विकृति बारे प्रस्तुतिकरण दिएका थिए ।


साथै मोटिभेटेशन स्पिकर तथा लाइफ कोच डिआर पराजुली म्याग्नेटले बालबालिकाको अवस्था र अभिभावकको दायित्व बारे प्रस्तुति दिँदै कसरी अनुकरणीय अभिभावक बनेर कुन उमेरको बच्चासँग कसरी व्यवहार गर्ने भन्ने विषयमा प्रशिक्षण दिए ।


फिनिक्स मन्टेसरीका संचालक रिता घिमिरे तिमल्सिनाले महँगो फि हुँदैमा गुणस्तरीय शिक्षा नहुने धारणा राख्दै अभिभावकहरुले आफ्ना बालबालिकाको गुणस्तरीय शिक्षा र उज्वल भविष्यका लागि महँगो फि भएको स्कूल गुणस्तरीय हुन्छ भन्ने अवधारणा त्याग्नुपर्ने बताए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काको सभापतित्वमा समपन्न कार्यक्रममा विद्यालयकी संचालिका शर्मिला देउजा, फोनिक्स मन्टेसरीका अर्की प्रशिक्षक रिता आचार्य, विद्यालय व्यवस्थापन समितिका सदस्य भिमेश्वर थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा अतिथि, अभिभावक एवं शुभचिन्तक सहित ४ सय १४ जना सहभागी थिए ।