तुलसीपुर/२० फागुन-तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले हामी सुन्छौ हामी गर्छौ अभियानको सुरुवात गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई उत्प्रेरित गर्नका लागि यस्तो अभियानको सुरुवात गरिएको कलेजले जनाएकोे छ । किताबी ज्ञानसँगै विद्यार्थीहरुलाई जीवन र जगतका बारेमा पनि जानकारी दिएर सही मार्गमा हिड्न प्रेरित गर्नका लागि अभियान सुरुवात गरेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए । कार्यक्रममा प्रसिद्ध उत्प्रेरकहरुका उत्प्रेरणाका कुरासँगै सफल व्यक्तिहरुका सफलताका कथा सुनाईने पनि कलेज प्रमुख आचार्यले जानकारी दिए ।
अभियानको सुरुवात गर्दै उत्प्रेरक वक्ता डा. चिन्तामणी योगीले युवाहरुमा प्रविधिको दुरुपयोग बढिरहेको वताए । परिवार र समाजले युवाहरुलाई उचित मार्गनिर्देश गर्नुपर्ने कुरामा जोड दिए । “जसले आफुले टेकेको भुमि र आफ्नो अभिभावक विर्सन्छ त्यो कहिल्यै पनि सफल बन्न सक्दैन” योगीले भने । हरेक मानिसमा आफैले आफैलाई प्रश्न गर्न सक्ने तागत हुनुपर्नेमा जोड दिदै भित्र ह्रदय असल नहुदासम्म बाहिर मात्रै सुन्दर भएर केही हुन नसक्ने उनको तर्क थियो । “जीवनमा सुनेर मात्रै केही हुँदैन, जब सुनेको कुरालाई व्यवहारमा लागु गर्न सकिदैन तब हामीले जस्तोसुकै ज्ञान हासिल गरेर पनि केही हुँदैन” उनले विद्यार्थीहरुलाई उत्प्रेरित हुँदै भने ।

कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले हरेक मान्छेमा उज्यालो भविष्य हुने बताउँदै त्यसलाई पहिचान गर्न ध्यान दिनुपर्ने बताए । “हिजो के थियो भन्ने कुरा भन्दा पनि आज के गर्ने भन्ने कुरा महत्वपूर्ण हो ” नगरप्रमुख पाण्डेले भने । सफलताको कडी असल व्यवहार आचरणमा लुकेको हुने बताउँदै समयको महत्वलाई सबैले बोध गर्नुपर्ने उनको भनाई थियो ।
उच्च अदालत तुलसीपुरका रजिष्ट्रार यमबहादुर बुढाले कानुन विषयको शैक्षिक महत्वका बारेमा बोलेका थिए । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव विनिल केसी र मटका चिया घरका सञ्चालक सन्दिप भुषालले सफलताको कथा सुनाएका थिए । कलेज प्रमुख वसन्त आचार्यले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारेका थिए । विद्यार्थी श्रेया गौतमको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरु देविसरा वली, किरण शाही लगायतले बोलेका थिए । तिर्सना रोकाको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन विपना गिरीले गरेकी थिइन् ।



