त्रिविमा प्रयोगात्मक कक्षा भौतिक उपस्थितिमा हुने, सैद्धान्तिक कक्षा अनलाइनबाट

काठमाडौं /९ माघ -त्रिभुवन विश्वविद्यालयले माघ ११ गतेदेखि सैद्धान्तिक कक्षाहरु अनलाइन माध्यमबाट सञ्चालन गर्ने निर्णय गरेको छ । सबै क्याम्पस तथा विभागहरुलाई माघ १० गतेभित्र अनलाइन कक्षाको रुटिन बनाई सम्बन्धीत डीन कार्यलयमा पठाउन निर्देशन दिदै पठनपाठन अनलाइनबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।


त्यसैगरी अनलाइन कक्षा व्यावस्थित रुपमा सञ्चालन गर्न सबै क्याम्पसहरुले सहायक क्याम्पस प्रमुखको संयोजकत्वमा बढीमा ७ सदस्यीय अनलाइन कक्षा व्यावस्थापन समिति गठन गर्न भनिएको छ । विभागहरुले विभगीय प्रमुखको संयोजकत्वमा बढीमा ५ सदस्यीय अनलाइन कक्षा व्यावस्थापन समिति गठनका लागि भनिएको छ ।


साथै समितिले अनलाइन कक्षा सञ्चालनका लागि सबै व्यावस्था गर्ने र हरेक हप्ता अध्ययन संस्थान,संकायको डीन कार्यालयको अनलाइन कक्षा अनुगमन समितिलाई प्रगति प्रतिवेदन पेश गर्नुपर्ने छ ।


विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा हुनुपर्ने प्रयोगात्मक कक्षाहरु , अभ्यास शिक्षण, इन्टर्नसिप, आदिका सम्बन्धमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ भौतिक उपस्थितिमा नै सञ्चालन गर्ने निर्णय गरेको छ । स्थनीय निकायसँग समन्वय गरी भौतिक कक्षा सञ्चालन गर्न सकिने अवस्था भएमा भौतिक कक्षा सञ्चालन गर्न सकिने जनाएको छ ।


त्यसैगरी परीक्षाको सवालमा विद्यार्थीहरुको आन्तरिक मूल्याङ्कन अनलाइनका माध्यमबाट गर्ने गराउने र सबै अध्ययन संस्थान वा संकायले अनलाइनको माध्यमबाट परीक्षा लिने ढाँचा र कार्यविधि तयार गर्न भनिएको छ ।