शैक्षिक सुधारमा चुकेको शिक्षा मन्त्रालय, टाउकोको दबाई नाइटोमा लगाई !!

काठमाडौं /९ माघ-एउटा नेपाली उखान छ–अर्थ न बर्थ गोबिन्द गाई; टाउकोको दबाई नाइटोमा लगाई !!
नेपालमा शिक्षा मन्त्रालयको काम त्यस्तै भएको छ । कामकुरो एकातिर; कुम्लो बोकी ठिमीतिर भनेझैं मन्त्रालयले गरेका काम झारो टार्ने भन्दा माथि उठ्न सकेका छैनन् । समस्या एकातिर छन् । त्यसको समाधानका लागि चालिएका प्रयास देखाओटी र सतही मात्र छन् ।


नेपालमा शैक्षिक प्रणाली धरासायी हुने मूल कारण :
नेपालको शैक्षिक प्रणाली खस्कँदो अवस्थामा छ । सुधारका लागि प्रयास नै नभएका होइनन् । तर, कर्मकाण्डी प्रशासन प्रणाली, कमजोर व्यवस्थापन, अदूरदर्शिता र दिशाविहीनता, अनुत्तरदायी सरकार र यसको बलियो संकल्पको अभावमा देशको शिक्षा अभिभावकविहीन अवस्थामा पुगेको छ । बाल कक्षादेखि विश्वविद्यालयसम्मका मूल समस्या के के हुन् ? यी समस्याको निकास के हो ? अबको बाटो के हो ? यस आलेखमा यिनै विषयलाई समावेश गर्ने जमर्को गरिएको छ ।


आलेखकर्ताले देशभरिका विभिन्न स्थानीय तह अन्तर्गत रहेका सामुदायिक विद्यालयको स्थलगत भ्रमण तथा अवलोकन गर्दा स्थिति भयावह देखिएको छ । झट्ट हेर्दा यी समस्या सामान्य लागे पनि कालान्तरमा यी समस्या नै सामुदायिक विद्यालयलाई असफल बनाउने कारण बनेका छन् ।


असक्षम प्रधानाध्यापक :
९० प्रतिशत भन्दा धेरै प्रधानाध्यापक एक्काइसौँ शताब्दीको विद्यालय नेतृत्व गर्न असक्षम छन् । उनीहरू दुई कारणले असक्षम देखिएका छन् । पहिलो कारण, उनीहरुमा विद्यालय कसरी संचालन गर्ने भन्ने नेतृत्व सीपको कमी देखिन्छ । सुन्दा अचम्म लाग्छ; अधिकांश प्रधानाध्यापकलाई आफूले गर्नुपर्ने काम के हो भन्ने थाहा छैन र कतिपय थाहा पाएर पनि गर्दैनन् । दोस्रो कारण; सरकार आफैंले उनीहरुलाई कमजोर बनाएको छ । प्रधानाध्यापकलाई निरीह बनाएको छ । हातखुट्टा बाँधेर कसैले पौडिन सक्दैन । विद्यालय सुधार र विकासका लागि आवश्यक स्रोत साधन सरकारले दिंदैन । अति आवश्यक स्रोत साधन पनि अभाव भएपछि चाहेर पनि केही गर्न नसक्दा उनीहरुको उर्जा निराशामा परिणत भएको छ । कर्तव्य पालना नगर्ने शिक्षकलाई प्रधानाध्यापकले कारवाही गर्ने अधिकार छैन । कतिपय प्रधानाध्यापकलाई व्यवस्थापन समितिले कुँजो बनाएर राखेका छन् । स्थानीय राजनीतिक प्रभावले प्रधानाध्यापकको प्राज्ञिक क्षमतालाई कमजोर बनाएर उनीहरुको कार्यकर्ता बन्न बाध्य बनाएको पाइन्छ ।


गैर जिम्मेवार शिक्षक/कर्मचारी :
अधिकांश शिक्षक आफ्नो कामप्रति जिम्मेवार छैनन् । कर्तव्यच्यूत शिक्षक कर्मचारी बेलगाम जस्तै देखिएका छन् । स्थायी भए पछि जे गरे पनि कसैले केही गर्न नसक्ने आत्मविश्वास बढेको देखिन्छ । ऐनले शिक्षकलाई कुनै पनि राजनीतिक दलको कार्यकारिणी सदस्यमा बस्न बर्जित गरेको छ । तर, हालै भएका विभिन्न दलका स्थानीय तथा केन्द्रीय अधिवेशनमा खुलेआम निर्वाचनमा उठेर बिजेता भएको समाचार आएका छन् । मन्त्रालयलाई यो सबै कुरा थाहा भएर पनि नदेखेझैं गरेको देखिन्छ ।

एउटा सामान्य शिक्षकले मन्त्री हटाइदिन्छु भनेर खुलेर बोल्दै हिंडेको देखिन्छ । कक्षाकोठामा भन्दा राजनीतिक दलको बैठक र कार्यक्रममा देखिने शिक्षकका कारण अन्य शिक्षकको पनि मनोबल गिरेको अवस्था छ । 


एउटा सामान्य शिक्षकले मन्त्री हटाइदिन्छु भनेर खुलेर बोल्दै हिंडेको देखिन्छ । कक्षाकोठामा भन्दा राजनीतिक दलको बैठक र कार्यक्रममा देखिने शिक्षकका कारण अन्य शिक्षकको पनि मनोबल गिरेको अवस्था छ । स्थानीय तहमा कार्यरत नेपाल सरकारका दशौँ तहका शिक्षाका पदाधिकारीसमेत त्यस्ता शिक्षकलाई स्पष्टीकरण सोध्ने बाहेक केही गर्ने अधिकार नभएको बताउने गर्दछन् । उदण्ड र अराजक शिक्षकका कारण विद्यालयको शैक्षिक÷प्रशासनिक वातावरण धुमिल बनेको छ ।

विद्यार्थीको सिकाइ उपलब्धी अत्यन्त कमजोर छ । कतिपय कक्षा ८,९ र १० का विद्यार्थीले पनि राम्रोसंग पढ्न जान्दैनन् । दश वर्षअगाडि कक्षा एकमा भर्ना भएका १४ लाख बालबालिका कक्षा १० मा पुग्दा ४ लाख हाराहारीमा मात्र बाँकी रहन्छन् । कता गए खोजी कतै हुँदैन । विद्यालय बाहिर अब बालबालिका छैनन् भनेर सरकारले घोषणा गर्दै गर्दा लाखौंको संख्यामा बालश्रमिकका रुपमा होटल, तथा कलकारखानामा काम गर्दै गरेको देखिएको छ।


अनावश्यक राजनीतिक हस्तक्षेप :
नेपालमा शिक्षा क्षेत्र निरीह हुनुको मुख्य दोषी राजनीतिक दलहरु नै हुन् । कुनै पनि राजनीतिक दलले शिक्षालाई प्राथमिकतामा राखेका छैनन् । घोषणापत्रमा चुनावी खपतका रुपमा केही लेखेता पनि व्यवहारिक रुपमा राजनीतिक दल नाङ्गिएका छन् । व्यवस्थापन समितिमा दलहरुले प्यानल बनाएर नै चुनावमा उठ्ने गरेका छन् । प्रधानाध्यापक छनौट, शिक्षक नियुक्ति, सरुवा लगायतका विषयमा खुलेरै आफ्नो दलनिकट शिक्षकलाई राख्ने गरेका छन् । त्यो पनि नसके मोटो रकम नजराना लिएर नियुक्त गर्ने गरेका छन् ।

प्रधानाध्यापक छनौट, शिक्षक नियुक्ति, सरुवा लगायतका विषयमा खुलेरै आफ्नो दलनिकट शिक्षकलाई राख्ने गरेका छन् । त्यो पनि नसके मोटो रकम नजराना लिएर नियुक्त गर्ने गरेका छन् । 


केही समय यता केही अमुक राजनीतिक दलनिकट विद्यार्थी संगठनले विद्यालय प्रवेश गरी अवोध विद्यार्थीलाई दलको झण्डा बोकाउने गरेका छन् । विद्यार्थीको हक र अधिकारको नाममा गरेको बताउने ती संगठनले अनावश्यक रुपमा विद्यार्थीलाई सदस्यता वितरण गर्ने गरेका छन् । यो विषय सबैलाई थाहा भए पनि सबै मौन छन् ।


जीर्ण र रुग्ण अवस्थाका भौतिक संरचना :
सरकारले तीन वर्षभित्र सबै सामुदायिक विद्यालयको भौतिक संरचनामा सुधार गर्ने भनेर बजेटमार्फत घोषणा गरेको दुई वर्ष बितेको छ । तर, भूकम्पमा भत्किएका र पहिल्यै निर्माण सम्पन्न भएका केही भवनबाहेक बाँकी सामुदायिक विद्यालयको भौतिक अवस्था दयनीय छ । एकीकृत र दूरगामी योजनाको अभावमा दुई कोठे र चार कोठे संरचनामा निर्माण भएका भवनका कारण विद्यालय व्यवस्थित रुपमा चल्न सकेको अवस्था छैन ।


अधिकांश विद्यालयमा विद्युत जडान, टेलिफोन, कम्प्युटर, प्रिन्टर जस्ता अति आवश्यक सामाग्री छैनन् । भएकामा शिक्षकले चलाउन जान्दैनन् । कतिपय विद्यालयमा लाखौँ रकम खर्च गरेर खरिद गरिएका अति आवश्यक यस्ता सामाग्री प्रयोगविहीन र बिग्रिएको अवस्थामा भेटिने गर्दछन् । विज्ञान प्रयोगशाला धुलाम्मे छन् । लाखौँका सामाग्रीको जतन र प्रयोग भएको छैन ।


विद्यालयका शौचालय ठीक अवस्थामा छैनन । छात्रा विद्यार्थीले यही बहानामा ठूलो कक्षामा पुगे पछि विद्यालय छोड्ने गरेका छन् । शौचालय दुर्गन्धित भएर पसिनसक्ने अवस्थामा छन् । भएका शौचालयमा पानीको अभावले सरसफाई भएको देखिन्न ।


अधिकांश सामुदायिक विद्यालय फोहोर र दुर्गन्धित छन् । विद्यार्थीहरुमा सरसफाई गर्नु पर्छ भन्ने चेतना छैन । जथाभावी फोहोर नगर्न सिकाइएको छैन । शिक्षकले चासो दिएको देखिन्न । विद्यालयमा कार्यालय सहयोगी वा सफाइकर्मीको अभाव छ । भएका कर्मचारीको तलब सुविधा अत्यन्त न्यून छ ।


अहिले पनि नेपालका धेरै विद्यालयहरुमा विद्यार्थी जुटको बोरा ओच्छ्याएर पढ्छन् । वर्षौं अगाडि हावाले उडाएको भवनको छाना टालिएको छैन । भएकामा हजारौं छिद्रा परेका छन् । वर्षातमा पानी चुहिएर बस्न मिल्दैन ।


अभिभावक सचेतना :
अभिभावक सचेतना कार्यक्रममा राज्यले ध्यान दिएको छैन । अभिभावक सचेत र जागरुक छैनन् भने विद्यालयको सुधार हुन सक्दैन । राज्यले ठुलो रकम अभिभावक शिक्षामा लगानी गर्नु पर्दछ । सरकारको तथ्याङ्क अनुसार झन्डै ७० प्रतिशत अर्थात् झन्डै ६० लाख बालबालिका अहिले सामुदायिक विद्यालयमा अध्ययनरत छन् । केही अपवादबाहेक ती बालबालिका अत्यन्त विपन्न र पिछडिएको समुदायका छन् । उनीहरुका अभिभावक अधिकांश निरक्षर छन् । चेतनाको अवस्था अत्यन्त कमजोर छ । दुई छाक खान र एक आङ्ग ढाक्ने कपडाको जोहो गर्नलाई ज्याला मजदुरी गर्नु उनीहरुको बाध्यता हो । छोराछोरीले काम सघाए केही बढी कमाइ हुन्थ्यो भन्नु उनीहरुको दृष्टिकोणबाट गलत देखिंदैन । यो अवस्थामा ती अभिभावकको आर्थिक गतिविधिमा टेवा पुग्ने सीपमुलक कार्यक्रम, अभिभावक सचेतना तालिम नियमित र निरन्तर रुपमा विद्यालयले चलाउनु पर्ने देखिन्छ । तर, एक दिन छोडेर विद्यालय आउँदा एक दिनको ज्याला गुम्ने डरले उनीहरु विद्यालय आउंदैनन् । यो समस्यालाई समाधान गर्ने चासो सरकारले राखेको देखिंदैन ।


विद्यालयमा विद्यार्थी रमाउने वातावरणको अभाव :
अधिकांश विद्यालयको अवस्था भुतबंगला जस्तो देखिन्छ । विद्यालयको सौन्दर्यकरण, सरसफाई लगायतमा ध्यान नदिंदा विद्यालयले विद्यार्थी आकर्षित गर्न सकेका छैनन् । विद्यालयमा विद्यार्थीलाई आवश्यक खेल सामाग्री छैन । खेलकुद, नृत्य, संगीत, अन्य अतिरिक्त क्रियाकलाप अति नगन्य मात्रामा मात्र हुने गरेका छन् । यही सवालमा निजी विद्यालय अगाडि छन् । विद्यार्थीलाई अतिरिक्त प्रशिक्षक उपलब्ध गराएर भए पनि उनीहरुको चौतर्फी विकासमा ध्यान पुर्याएको देखिन्छ । विद्यार्थी रमाएको देखिन्छ । तर, सामुदायिक विद्यालयमा सरकारले यसतर्फ ध्यान पुर्याएको देखिदैन ।


शिक्षक नियुक्ति तथा सरुवामा चलखेल :

प्रधानाध्यापक तथा व्यवस्थापन समिति अध्यक्ष आफैंले दशौँ लाख रुपैयाँ सम्म घुस खाने समस्या समाचारमा आउने गरेका छन् । “राम्रा भन्दा पनि हाम्रा“ मान्छेलाई विद्यालयमा प्रवेश गराउने, आवश्यकता र विषय नै नमिले पनि प्रभावका आधारमा शिक्षकको सरुवा हुने गरेको छ ।  


शिक्षक सरुवा तथा नियुक्तिमा ठूलो आर्थिक चलखेल हुने गरेको छ । प्रधानाध्यापक तथा व्यवस्थापन समिति अध्यक्ष आफैंले दशौँ लाख रुपैयाँ सम्म घुस खाने समस्या समाचारमा आउने गरेका छन् । “राम्रा भन्दा पनि हाम्रा“ मान्छेलाई विद्यालयमा प्रवेश गराउने, आवश्यकता र विषय नै नमिले पनि प्रभावका आधारमा शिक्षकको सरुवा हुने गरेको छ । तुलनात्मक रुपमा कमजोर बन्दै गएको विद्यालयमा अझ धेरै मिहिनेत गरेर विद्यालयको सुधार गर्नु पर्ने हो । तर, अधिकांश यस्ता विद्यालयमा शिक्षाका जिम्मेवार पदाधिकारी र अन्य नेताका श्रीमती र नातेदारलाई दिनभरि घाम तपाउने गरी एकै ठाउँमा सरुवा गरेर ल्याइएको उदाहरण धेरै ठाउँमा देखिन्छ ।


आवश्यक शिक्षक दरबन्दीको अभाव :
झन्डै २० वर्षसम्म शिक्षा क्षेत्र अभिभावकविहीन जस्तै बन्यो । सरकारले विद्यालय संचालन अनुमति दिए पनि तहगत रुपमा शिक्षकको दरबन्दी दिएन । फलस्वरुप, काम चलाउ शिक्षकको आन्तरिक नियुक्ति गर्ने, त्यही नियुक्तिमा पनि चलखेल गर्ने, अदक्ष शिक्षकलाई पढाउन लगाउने, विषय शिक्षकको अभावमा विद्यार्थीले सम्बन्धित विषय पढ्न नपाउने जस्ता समस्याले विद्यार्थीको सिकाइ उपलब्धी अत्यन्त कमजोर देखिन्छ । नव नियुक्त शिक्षा मन्त्रीले नयाँ शिक्षक नियुक्तिको लागि विज्ञापन खुलाए पनि व्यवहारिक रुपमा ती शिक्षक विद्यालय पुग्न अझै एक वर्ष लाग्ने देखिन्छ ।


कमजोर स्थानीय सरकार :
माध्यमिक तहसम्मको शिक्षाको पूर्ण अधिकार स्थानीय सरकारलाई दिइएको भए पनि व्यवहारमा त्यो कार्यन्वयन हुन सकेको छैन । कतिपय स्थानीय सरकारले अधिकार क्षेत्र कुल्चिएर अनावश्यक रुपमा शिक्षक कर्मचारी चलाएको, सरुवा गरेको जस्ता आरोप लागेर मुद्धा खेपिरहेको अवस्था छ भने कतिपयले गर्नुपर्ने न्यूनतम कार्य पनि गर्न सकेका छैनन् ।


स्थानीय तहले यही ढंगबाट शिक्षा सुधार गर्न सक्दैनन् । शिक्षा शाखामा पर्याप्त कर्मचारी छैन । भएको जनशक्तिले विद्यालयको निरीक्षण भ्रमण गर्न सकेको छैन । जनप्रतिनिधिले आफू अनुकुल नियम कानून कुल्चिएर शिक्षाको सरुवा तथा नियुक्ति गर्दा असक्षम व्यक्तिले पनि शिक्षकमा नियुक्ति पाएको देखिन्छ ।


आवश्यक स्रोत साधनको अभाव :
विद्यालयलाई आवश्यक अति महत्वपुर्ण स्रोत साधनको अभाव हुने गरेको छ । त्यसका लागि विद्यालयमा आवश्यक रकम जाँदैन । प्रधानाध्यापकले दशतिर हारगुहार गरेपछि बल्ल जुट्ने गरेको अवस्था छ । सबै प्रधानाध्यापकले यसरी स्रोत जुटाउन सक्दैनन् । जसले आवश्यक स्रोत जुटाउन सक्दैनन्, ती विद्यालय बिस्तारै धरासायी हुँदै गएका छन् । केही वर्ष अघि सम्म सरकारले विद्यार्थी संख्याको आधारमा अनुदान पठाउने गरेकोमा अहिले त्यो रकम बन्द भएको छ । हाल आएर राम्रो गर्दै गरेका विद्यालयमा मात्र प्राथमिकताका आधारमा केन्द्र र स्थानीय सरकारले रकम निकासा दिंदा कमजोर अवस्थाका विद्यालय करिब बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् ।


आवश्यक सीप तथा तालिमको अभाव :
पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम लागू गर्दै छ । केही कक्षामा सुरुवात भइसक्यो । केहीमा पाइलटिङ्ग चल्दैछ । विक्रम सम्बत २०८० सालसम्म सबै कक्षामा नयाँ पाठ्याक्रम गर्ने मन्त्रालयको योजना छ । तर, बिडम्बना शिक्षकलाई यो विषयमा पर्याप्त तालिम संचालन गरिएको छैन । फाट्टफुट्ट केही स्थानीय तहले तालिम संचालन गरे पनि अधिकांश शिक्षक यस विषयमा अनभिज्ञ छन् ।


कोरोना महामारीका कारण आक्रान्त बनेको शिक्षा क्षेत्रलाई कायापलट गर्ने अवसर पनि बराबर थियो । राज्यले शिक्षकलाई प्रविधिमैत्री बनाउन सकेन । त्यस सम्बन्धी पर्याप्त तालिम तथा त्यसको वातावरण निर्माण गर्न सकेन । फेरि पनि नयाँ भेरियन्टका कारण विश्वभरि लकडाउन हुँदै गरेको सन्दर्भमा हामीले त्यसको पूर्व तयारी, शिक्षकलाई आवश्यक तालिम, सतर्कता तथा क्षमता अभिवृद्धिका लागि कुनै काम भएको अवस्था छैन ।


कमजोर परीक्षा प्रणाली :
कुनै पनि कक्षामा एक वर्ष अध्ययन गरेको विद्यार्थीले केही न केही सिकेकै हुन्छ । यसर्थ विद्यार्थीलाई फेल गर्न हुँदैन भन्ने मान्यताका आधारमा उदार कक्षारोन्नतिको नीति लागू गरियो । तर, विद्यार्थीले कक्षामा उपलब्धीमूलक समय व्यतीत गरेको छ त ? भन्ने प्रश्नको उत्तर खोजिएन । शैक्षिक गुणस्तर परीक्षण केन्द्र ले २०७६ मा कुल २००० विद्यालयमा गरेको अध्ययन अनुसार ९९ प्रतिशत विद्यालय पठनपाठनका दृष्टिकोणले अनुपयुक्त भएको देखाएको छ । यसको अर्थ ती विद्यालयमा विद्यार्थी नगए पनि हुन्छ भन्ने होइन र ? घन्टौं हिंडेर विद्यालय पुगेको विद्यार्थीको कक्षामा लगभग दिनभरि उपलब्धीमुलक पढाइ हुँदैन । यो अवस्थामा कक्षा चढाउँदै लगिएको विद्यार्थीको सिकाइ उपलब्धी कुन अवस्थामा होला ?

विद्यालयमा विद्यार्थी नगए पनि हुन्छ भन्ने होइन र ? घन्टौं हिंडेर विद्यालय पुगेको विद्यार्थीको कक्षामा लगभग दिनभरि उपलब्धीमुलक पढाइ हुँदैन । यो अवस्थामा कक्षा चढाउँदै लगिएको विद्यार्थीको सिकाइ उपलब्धी कुन अवस्थामा होला ? 


परीक्षा प्रणालीलाई परिवर्तन गर्ने लक्षअनुरुप केही वर्ष यताबाट एसईई परीक्षा लगायतमा अक्षरांकन विधि अवलम्बन गरिएको छ । तीन घन्टे परीक्षा प्रणालीले विद्यार्थीको सर्वाङ्गीण सिकाइको मापन गर्न नसक्ने भन्दै लागू गरिएको अक्षरांकन पद्धति त्यही तीन घन्टे परीक्षाको जगमा उभिएको छ । अर्थात्, समस्या इन्जीन र च्यासिसमा हुँदा हुँदै त्यसलाई नै फेर्नु वा मर्मत गर्नुको सट्टा डेण्टिङ्ग पेण्टिङ्ग गरेर काम चलाइएको छ ।


सुधारका असफल कार्यक्रम तथा प्रयास :
सरकारले सुधारको प्रयास नै नगरेको हो त ? विद्यालय शिक्षाको सुधारका लागि सरकारले ल्याएका कार्यक्रम अत्यन्त खर्चिला तथा असफल देखिएका छन् । विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रम (एसएसआरपी),प्रारम्भिक कक्षा सिकाइ कार्यक्रम (ईजीआरपी), दिवा खाजा कार्यक्रम, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लगायत वार्षिक अर्बौं खर्च गरिएका कार्यक्रम कम प्रभावकारी देखिएका छन् । निःशुल्क शिक्षा भनिए पनि शुल्क लिएर पढाउने सामुदायिक विद्यालयमा विद्यार्थीको भीड बढेको देखिन्छ । पटक पटक शैक्षिक सुधार हेतु उच्च स्तरीय शिक्षा आयोग गठन भएर सुझाव प्रतिवेदन तयार गरिए पनि उचित कार्यान्वयन हुन सकेको छैन । यत्रो प्रयास गर्दा पनि सुधार किन हुन सकेन त? जवाफ एउटै छ– टाउकोको दबाई नाइटोमा लगाई ! अर्थात् समस्या एकातिर–हाम्रो प्रयास अर्को तिर !


अब के गर्ने ?
राज्यले उच्च प्राथमिकतामा राखेर सामुदायिक विद्यालयलाई सुधार नगर्ने हो भने अबको दश वर्षभित्रमा करिव ४० प्रतिशत आधारभूत विद्यालय बन्द हुने अवस्थामा पुग्न सक्छन । राज्यको प्राथमिकता सबैभन्दा बढी बालकक्षा र आधारभूत तहको सुधारमा हुनु पर्दथ्यो । तर, त्यसो नभई केही राम्रो अवस्थाका नमुना विद्यालयको नाममा मात्र पैसा छुट्टयाउने परिपाटीले आवश्यकता र महत्वको आधारमा स्रोतको न्यायोचित तथा समतामूलक वितरण नहुँदा कमजोर विद्यालय धरासायी हुन पुगेका छन् । तर, सामुदायिक विद्यालयको समस्या स्रोत साधन मात्र नभई फितलो प्रशासनिक संरचना, कमजोर व्यवस्थापन, अनुत्तरदायी सरकार तथा सरोकारवाला निकाय, स्वार्थकेन्द्रित राजनीतिक गतिविधि भएका कारण सोही अनुसार सुधारको नीति अवलम्बन गरिनु उपयुक्त हुन्छ ।


सांचिकै दत्तचित्त भएर शैक्षिक सुधारको लागि लाग्ने हो भने सबै भन्दा पहिले शिक्षा नीति २०७६ परिमार्जन र पुनर्लेखन गर्नुपर्दछ । संघीय शिक्षा नियमावली जारी गर्नुपर्दछ । अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप शिक्षामा २० प्रतिशत लगानी सुनिश्चित गर्नु पर्दछ । प्रत्येक सामुदायिक विद्यालयलाई आवश्यकता अनुसार वार्षिक कम्तीमा १५ देखि २५ लाख रुपैयाँसम्म विद्यालय विकास अनुदान दिनुपर्दछ । शिक्षकका राजनीतिक दल आवद्ध संघ/संगठन खारेज गर्नुपर्दछ । उत्तरदायी र जिम्मेवार सरकार हुने हो भने यस्ता कुनै पनि संघ संगठनको आवश्यकता नै पर्दैन ।

शिक्षकका राजनीतिक दल आवद्ध संघ/संगठन खारेज गर्नुपर्दछ । उत्तरदायी र जिम्मेवार सरकार हुने हो भने यस्ता कुनै पनि संघ संगठनको आवश्यकता नै पर्दैन । 


शक्तिशाली र अधिकारसम्पन्न सामुदायिक विद्यालय रुपान्तरण प्राधिकरण गठन गर्नुपर्दछ । उक्त प्राधिकरणअन्तर्गत सामुदायिक विद्यालयका हरेक पक्षको सुधार र विकासका योजना निर्माण गर्ने तथा कार्यान्वयन गर्ने आर्थिक निर्णयको स्वायत्त अधिकार सुनिस्चित गर्नु पर्दछ ।


विशेष सेवा सुविधा र अधिकारयुक्त ५ वर्षे करार अवधीको प्रावधानसहित प्रधानाध्यापकको छुट्टै पद सिर्जना गर्नुपर्दछ । कार्यसम्पादनका आधारमा बढुवा, पुरष्कृत वा सेवाबाट निष्कासनसहितको कारवाही हुने गरी क्षमतावान शिक्षक नियुक्त गर्नुपर्दछ । हरेक पांच वर्षमा आवधिक पुनर्ताजगी परीक्षाको व्यवस्था गरेमा शिक्षकले आफूलाई समयसापेक्ष विकास गर्दै लैजान सक्दछन् ।


शिक्षकको तलबमान सबैभन्दा उच्च कायम गर्नु पर्दछ । आधारभूत र बालकक्षाको पुनर्संरचना गरी सबैभन्दा क्षमतावान शिक्षक नियुक्त गर्नु पर्दछ । यो तहमा उत्कृष्ट सेवा सुविधा प्रदान गरेमा दक्ष जनशक्ति आकर्षित हुन सक्दछ ।

शिक्षकको तलबमान सबैभन्दा उच्च कायम गर्नु पर्दछ । आधारभूत र बालकक्षाको पुनर्संरचना गरी सबैभन्दा क्षमतावान शिक्षक नियुक्त गर्नु पर्दछ । यो तहमा उत्कृष्ट सेवा सुविधा प्रदान गरेमा दक्ष जनशक्ति आकर्षित हुन सक्दछ । 


प्रत्येक दश वर्षमा अनिवार्य रुपमा पाठ्यक्रम परिवर्तन गर्नुपर्दछ । तीन घन्टे परीक्षालाई क्रमशः हटाउँदै निर्माणात्मक तथा सुधारात्मक निरन्तर मुल्यांकन प्रणाली अवलम्बन गर्नुपर्दछ । यसका लागि शिक्षकको पेशागत तथा क्षमता विकासका लागि नियमित तालिम, कार्यशाला आवश्यक छ ।


अन्त्यमा; समस्याको राम्ररी अनुसन्धान नगरी अनुमान र लहडका आधारामा गरिने सुधारका परियोजनाले गर्दा विद्यालय सुधारमा नकारात्मक असर गरेको छ । शिक्षामन्त्रीजीले यस तर्फ ध्यान पुर्याएर सोही अनुसार काम सुरु गरे केही वर्षभित्र नै शिक्षामा क्रान्तिकारी सुधार सम्भव देखिन्छ । अभिषेक घिमिरे, वृहत राष्ट्रिय शिक्षा अभियानका संयोजक हुन् ।