मन्त्रालयले माग्यो विश्वविद्यालय र प्रतिष्ठानसँग शैक्षिक सेवासुविधा तथा छात्रवृत्तिको विवरण

काठमाडौं /१५ पुस-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय जनशक्ति विकास योजना तथा समन्वय शाखाले विश्वविद्यालय तथा प्रतिष्ठानहरुलाई उपलब्ध शैक्षिक सेवासुविधा, सहुलियत तथा छात्रवृत्तिसम्बन्धी विवरण पठाउन आग्रह गरेको छ ।


मुलुकको मानवपूँजी जनशक्ति विकासका प्रारम्भिक अधार के के हुन सक्छन् भन्ने उदेश्यले विश्वविद्यालय तथा प्रतिष्ठानहरुमा उपलब्ध शैक्षिक सेवासूविधा, सहुलियत तथा छात्रवृत्तिसम्बन्धी अध्ययनका लागि विवरण पठाउन आग्रह गरेको हो ।


मुलुकको मानवपूँजी तथा जनशक्ति विकास कार्य विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानहरुको हुनाले मन्त्रालयको जनशक्ति विकास योजना तथा समन्वय शाखाबाट काम थलिएको जानकारी गराउँदै प्रत्येक विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानबाट संस्थान तथा संकायका प्रत्येक आंगिक शिक्षण संस्थाबाट छात्र र छात्रा १६ जना, प्रध्यापक २ जना तथा प्राचार्य ३ जना सहित १९ जनाको फाराममा दिइएको निर्देशन अनुसार भरेर पठाउन आग्रह गरीएको छ ।


त्यस्तै सम्भव भएमा सबै निजी तथा सामुदायिक क्याम्पसका कलेजका विद्यार्थीहरुबाट कम्तिमा सबै विषय तिरबाट ५०/५० जना विद्यार्थीको धारणा सहित फाराममा लेखि पठाउन भनिएको छ ।


साथै मन्त्रालयले मुलुकको मानवपूँजी विकास नीति, योजना तथा शैक्षिक एवं पेशागत व्यावसायिक तालीम कार्यक्रम निर्धारण गर्न सहयोग पुग्ने अपेक्षाले विश्वविद्यालय तथा प्रतिष्ठानहरुमा उपलब्ध शैक्षिक सेवासूविधा, सहुलियत तथा छात्रवृत्ति,पठनपनठन, विज्ञान तथा प्रविधि र प्रविधि तथा व्यावसायिक शिक्षा लगायत शिक्षक पेसागत सहयोग र आ आफ्ना भोगाई अनुभूतिहरु खुलेर फाराममा उल्लेख गर्न भनिएको छ ।


दुइ किसिमका फाराम विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानहरुमा पठाइसकिएको र कक्षाका विद्यार्थी, शिक्षक, प्राचार्यबाट भरी भराई प्रमाणित गरी पौष मसान्तसम्म पठाउन भनिएको छ ।